|

रुकुम : रुकुम पश्चिममा हालसम्मका सबै स्वाब परीक्षणहरूको पिसिआर रिपोर्ट नेगेटिभ आएको हो। स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिमका अनुसार हालसम्म पिसिआर जाँच भएको ५ सय ७० जनाकै रिपोर्ट नेगेटिभ आएको छ। कार्यालयका कोरोना फोकलपर्सन ईश्वर रावलका अनुसार हालसम्म १३ सय २२ जनाको स्वाव संकलन गरेर परीक्षणका लागि पठाईएकोमा हालसम्म परीक्षण भएको सबैमा कोरोना नभएको पुष्टि भएको छ।

‘अझै साढे सात सय बढी स्वाब संकलन गरेर पठाएकाको रिपोर्ट आउन बाँकी छ’ रावलले भने, ‘राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहि र प्रदेश जनस्वास्थ्य प्रयोगशाला सुर्खेतमा ती स्वाबहरु पठाईएको छ।’ पछिल्लो पटक स्वाब संकलन गरेर पठाएको ५ दिनसम्म पनि रिपोर्ट नआएको बताईएको छ।

कुन स्थानीय तहमा कति स्वाब संकलन?

हालसम्म रुकुम पश्चिमका ६ स्थानीय तहमा गरी १३ सय २२ जनाको स्वाब संकलन गरेर पिसिआर परीक्षणका लागि प्रयोगशालामा पठाईएको छ। जसमा त्रिबेणी गाउँपालिकाबाट ३ सय ३०, सानीभेरी गाउँपालिकाबाट ५९ र बाँफिकोट गाउँपालिकाबाट १ सय ६१ जनाको स्वाव संकलन गरेर पठाइएको छ।

त्यस्तै मुसिकोट नगरपालिकाबाट ३ सय ७, चौरजहारी नगरपालिकाबाट २ सय ४० र आठबिसकोट नगरपालिकाबाट २ सय २० जनाको स्वाव संकलन गरिएको छ। अझै पनि सबै स्थानीय तहमा गरि भारत लगायतका बिभिन्न ठाउँबाट आएर करिब ४ सय ब्यक्तिहरु क्वारेन्टाइनमा बसेका र उनीहरुको पनि क्रमस पिसिआर परीक्षणका लागि स्वाब संकलन हुने बताईएको छ।

१३ सय ३१ जनाको आरडिटी परीक्षण

पिसिआर साथसाथै क्वारेन्टाइनमा बसेका १३ सय ३१ जनाको आरडिटी पनि परीक्षण गरिएको बताईएको छ। रुकुमको बाँफिकोट गाउँपालिकाका करिब ४ सयको संख्यामा आरडिटि चेक गरिएको छ भने त्यसको करिब आधा संख्यामा अन्य स्थानीय तहहरुमा पनि परिक्षण भएको छ। परीक्षणमा सबैको रिपोट नेगेटिभ आएका छ। जिल्लामा आरडिटि र पिसिआर जाँच गरिएका अधिकांस ब्यक्तिहरु संक्रमित देश भारतबाट आएकाहरु छन्।

कर्णालीमा कोरोना पुष्टि नहुने दुई जिल्लामा रुकुम पनि

कर्णाली प्रदेशमा यो समाचार तयार पार्दासम्म ६ सय ७१ जना ब्यक्ति कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ। कर्णालीका दश जिल्ला मध्य ८ जिल्लाका ब्यक्तिहरुमा कोरोना संक्रमण पुष्टि भएको भएपनि दुई जिल्लामा भने हालसम्मका परिक्षणमा पुष्टि भएको छैन।

हुम्ला र रुकुम पश्चिमका हालसम्म कुनै पनि ब्यक्तिमा कोरोना पुष्टि भएको छैन। तर रुकुम पश्चिममा भारत लगायतका अन्य ठाउँबाट आएका अझै ७ सय बढी स्वाबको रिपोर्ट भने आएको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.