गाउँपालिकामा त्रास कम हुन थाल्यो, १ सय १३ मध्ये ६६ जना डिस्चार्ज

|

भद्रपुर : कचनकवल गाउँपालिका ३ स्थित ठूलो केचना बस्ने कोरोना सङ्क्रमित २६ वर्षीय हसिम मिया अहिले स्वास्थ्य छन्। होम क्वारेन्टाइनमा बसेका हसिमसँगै उनका दाजु ३० वर्षीय तसलिम मियालाई पनि कोरोना भाइरस पोजेटिभ देखिएको थियो। 

दाजुभाइमै कोरोना भाइरस पुष्टि भएपछि १२ दिन बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारपछि उनीहरू कोरोना जितेर घर फर्किएका छन्। उनीहरू अहिले स्वास्थ्यकर्मीको सल्लाहबमोजिम घरमै सुरक्षित बसिरहेका छन्। दाजुभाइलाई कोरोना रोग लागेको कुनै महसुस नै नभएको उनीहरूले प्रतिक्रिया दिए। 

हसिमले थाहाकर्मीसँग कुराकानी गर्दै भने, ‘हामी गाउँ फर्किएपछि क्वारेन्टाइनमा लगेर राखियो, क्वारेन्टाइनमा पिसिआर जाँचका लागि स्वाब सङ्कलन गर्यो, रिपोर्टमा कोरोना पोजेटिभ आयो, त्यसपछि उपचारका लागि धरान लगियो, तर कोरोना लागेका हामी कोही पनि डराएनौं, हामी हासीखुशी उपचारका लागि गर्यौ, र जितेर आयौँ।’

‘उच्च मनोबल र आत्मविश्वास भएमा कोरोनालाई जितिन्छ, उनका दाजु तसलिम मियाले भने, ‘क्वारेन्टाइनमा बसेदेखि धरान उपचार गराउँदासम्म हामीलाई खानपिन, बस्न केही समस्या भएन, हामी गाउँघरमै आफन्त र साथीभाइसँग बसिरहेको अनुभव भयो।’ 

कचनकवल ४ स्थित केचना बस्ने १९ वर्षीय रोशन मियाँ पनि कोरोना जितेर घरमै बसिरहेका छन्। उनले भने, ‘कोरोना सोरोना केही पनि होइन, कोरोना लागेर मान्छे मरिहाल्छ भनी डराउनु पर्दैन, मलाई पनि कोरोना लागेको भन्छन्, केही भएको छ र ? जस्तो थियौं, त्यस्तै छु।’ 

‘कोरोना जितेर गाउँ फर्किएपछि आफन्तजन र छरछिमेक पनि खुसी छन्, कसैले नराम्रो व्यवहार गरेको छैन, उल्टै आत्मबल बढाउने सल्लाह सुझाव दिइरहेका छन्, उनले भने।’ उनीहरू दाजुभाइसहित त्यही गाउँका ९ जना समूह बनाएर जेठ ३ गते भारतको मुम्बईबाट फर्किएका थिए। 

उनीहरूलाई घर फर्किंदा पनि समस्या भएन। भारतमा सरकारी बस चढेर हामीहरू मुम्बईबाट एमपी, युपी र विहार हुँदै घर गाउँ फर्किएको हसिमले बताए। 

हामी ९ जनाको टोली भारतबाट फर्किंदा एक जनाको कम्तीमा भारतीय चार हजारसम्म खर्च भयो, बाटोमा खानाको पसल खुल्ला नहुँदा भोकभौक कचनकवलको गिलाबारीसम्म आइपुगेको घटना सुनाए, ‘स्वदेश फर्किएपछि प्रहरी र जनप्रतिनिधिले बोर्डरबाटै उद्धार गरी हामीलाई पथरिया माविको क्वारेन्टाइनमा लगेर राख्नुभयो।’

कोरोना जितेर धमाधम घर फर्किँदै  

जेठ २ गतेअघिसम्म कचनकवल गाउँपालिका शान्त थियो। त्यहाँका गाउँवासी, जनप्रतिनिधि र सुरक्षाकर्मी लकडाउन पालना र कार्यान्वयनमै थिए। भारतमा यातायातका सवारीसाधन सुचारु भएपछि जेठ ३ गतेदेखि गाउँपालिकामा धमाधम गाउँवासी भारतबाट फर्किन थाले। 

गाउँवासी फर्किन थालेपछि गाउँपालिकामा कोरोना भित्रिने त्रास छायो। उनीहरूलाई गाउँघर प्रवेश गर्न नदिएर सोजै क्वारेन्टाइनमा लगेर राख्न थाल्यो। क्वारेन्टाइन बसेका सबैको स्वाब सङ्कलन गाउँपालिकाले ग¥यो। रिपोर्ट आएपछि जेठ ५ गते गाउँपालिकामा पहिलो संक्रमण पुष्टि भयो।

त्यसपछि संक्रमणको सङ्ख्या बढ्न थाल्यो। अहिलेसम्म गाउँपालिकामा १ सय १३ जना कोरोना सङ्क्रमित भेटिएको छ। जिल्ला नभएर प्रदेश १ कै स्थानीय तहमा सबैभन्दा बढी सङ्क्रमित भेटिएपछि सबैको ध्यान कचनकवलमा केन्द्रित हुन थाल्यो। 

तर, अहिले आएर कचनकवलमा देखिएको कोरोना भाइरसको त्रास जनमासमा कम हुन थालेको छ। गाउँपालिकामा कोरोना जितेर हालसम्म ६६ जना घर फर्किसकेका छन्। कोरोना जितेर आएका सबैलाई होम क्वारेन्टाइनमा बस्न आग्रह गर्दै गाउँपालिकाले घर पठाइएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.