सम्पूर्ण कागजात जफत, चिनीको नमुनासमेत लिइयो

|

सिमरा : म्याद गुज्रिएको ७२ हजार केजी चिनी नेपाल भित्रिएको ३ महिनापछि कागजी रुपमा सेवन गर्न योग्य भएको विषयमा अनुसन्धान गर्न राजस्व अनुसन्धान कार्यालय पथलैयामा अख्तियारले छापा मारेको छ। साथै सम्पूर्ण कागजपत्र जफत गरेको छ।

आयोगको हेटौंडा कार्यालयले आज (मंगलबार) छापा मारेर चिनीको नमुनासमेत लिएको हो। 

आयोगको हेटौडा कार्यालयका सूचना अधिकारी शिवराज रेग्मीले म्याद गुज्रिएको चिनी ३ महिनापछि पुनं के आधारमा सेवन गर्न योग्य भनी प्रमाणित भएको हो सो सम्बन्धमा अनुसन्धानका लागि सम्पूर्ण कागजपत्र  लिइएको बताए। 

फागुन २५ गते जलेश्वर भन्सार कार्यालयवाट नेपाल भित्रिएको १४सय ४० बोरा चिनी जलेश्वर खाद्य क्वारेन्टाइनले नै  म्याद गुज्रिएको प्रमाणित गरेको ३ महिनापछि उसैको तालुक कार्यालय खाद्य तथा गुण नियन्त्रण विभागले पुनं गोप्य रुपमा परीक्षण गरेर सेवन गर्न योग्य भनी प्रमाणित गरेको थियो। 

राजस्व अनुसन्धान कार्यालय पथलैयाको सहकार्यमा खाद्य तथा गुण नियन्त्रण विभाग बवरमहलले आयातकर्तासँगको मिलेमतोमा चिनी पुनः परीक्षण गरी ‘खानयोग्य’ बनाएको थियो। 

‘चिनी विषयमा आयोगको बर्दिबास कार्यालयले पनि अनुसन्धान गरिरहेको छ, हामीले पनि यहाँबाट स्थलगत अध्ययन गरेर थप प्रमाण बुझ्ने र तलको निकायले गरेको  परीक्षणविपरीत माथिल्लो निकायबाट चिनी कसरी सेवन गर्न योग्य भनियो भन्ने विषयमा अनुसन्धान गर्छौं’, रेग्मीले भने। 

अनुष्का मल्टिपर्पज कम्पनी प्रालि बागेश्वरी मनहराले भारतको उत्तरप्रदेशबाट उक्त चिनी आयात गरेको हो। छोटो दूरीका भन्सार कार्यालय छोडेर आयातकर्ताले जलेश्वरवाट काठमाडौको लागि आयात गरेको हो।

तत्कालीन जलेश्वर भन्सार प्रमुख तथा कमाचारीको मिलेमतोमा नेपाल भित्रिएको चिनी ३ महिनापछि के कसरी सेवन गर्न योग्य बनाइयो भन्ने विषयमा भने हालसम्म कुनै निकायबाट अनुसन्धान भएको छैन। 

राजस्व चुहावट भएको नदेखिएपछि राजस्व अनुसन्धान कार्यालय पथलैयाको नियन्त्रणमा  रहेको चिनीको विषयमा सम्पूर्ण कागजपत्र यसअघि नै जिल्ला प्रशासन कार्यालय बाराले माग गर्दा राजस्वले आलटाल गरेर उल्टै आयातकर्तासँगको मिलेमतोमा आफ्नो कार्यक्षेत्र मिचेर २ पटक विभागमा चिनी परीक्षणका लागि पठाएको थियो। 

‘मैले चिनीको सम्वन्धमा सम्पूर्ण कागजपत्र पठाइदिनुस् भन्दा उहाँहरुले आलटाल गरेर फोटोकपी मात्रै पठाउनु भो’, बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले भने। 

राजस्व अनुसन्धानको नियन्त्रणमा रहेको १४ सय ४० बोरामा उत्पादन मिति उल्लेख छैन। केही बोरामा पटक पटक केरमेट समेत गरिएको छ। उक्त चिनीलाई खाद्य गुण नियन्त्रण विभागले जेठ १४ मा खानयोग्य प्रमाणित गरेर २५८० र २५८१ कार्यालयमा दर्ता समेत गरेको छ। 

अनुष्का मल्टिपर्पजले फागुन २५ गते भारतबाट काठमाडौं लैजाँदै गरेको चिनी छोटो दूरीमा रहेका वीरगञ्ज र भैरहवा भन्सार छोडेर महँगो भाडा तिरेर महोत्तरीको जलेश्वर भन्सार प्रयोग गर्नुले पनि आशंका निम्त्याएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.