भारतीय चिया उत्पादकहरुले नेपालमा राजनीतिक दबाब दिएकाे आराेप

|

इलाम : उद्योगी र किसानलाई सरकारले प्रोत्साहन गर्ने नीति ल्याउन नसकेको चिया उद्योगीहरुले गुनासो गरेका छन्। 

स्पष्ट नीति अभावमा बर्सेनि चिया क्षेत्रले विवाद सामना गर्नुपरेको उद्योगीहरुको भनाइ छ। नेपालको चिया विश्व बजारमा चिनाउन तीनै तहका सरकारको पहल नहुनु र किसानमा अनुदानको व्यवस्था नहुँदा चिया क्षेत्र धरासायी बन्दै गएको उद्योगीहरु बताउँछन्। 

चियाको राजधानी मानिएको सूर्योदय नगर क्षेत्रका उद्योगीको साझा संस्था ‘सूर्योदय टि प्रोडयुसर्स’ एसोसिएसनले विज्ञप्ति नै जारी गर्दै चिया क्षेत्रमा विशेष अनुदान माग गरेको छ। 

राज्यले कच्चा पदार्थको समर्थन मूल्य तोकेकाले तयारी वस्तुको पनि बिक्री समर्थन मूल्य तोक्न उद्योगीले माग राखेका छन्। तयारी चियाको समर्थन मूल्यमा बिक्री नभए राज्यले खरिद गरी किसान र उद्योगीलाई न्याय दिनुपर्ने बर्दुभ्याली टि उद्योगका संचालक बुद्ध तामाङ बताउँछन्। 

कोरोनाको महामारीमा नेपाली चियाको बजार धरासायी भएकाले भारतीय चिया उत्पादकहरुले नेपालमा उत्पादित चियामा राजनीतिक दबाब दिएर रोक लगाउँदा समस्या भएको तामाङले बताए। 

२ वर्षदेखि तयारी चियाकोे बिक्री मूल्यमा गिरावट आउनुका साथै इन्धनको मूल्य वृद्धि हुँदा उत्पादन लागत बढ्दै गएको एसोसिएनसका कार्यवाहक अध्यक्ष डिल्लीराम श्रेष्ठले बताए। 

स्टक चियाको आधारमा पुनर्कर्जा उपलब्ध गराउन सहजीकरणका लागि सरकारसँग उनले अनुरोध गरेका छन्। हाल प्रशोधनमा रहेको तयारी चिया स्टक रहे पनि त्यसका आधारमा बैंकले कर्जा नदिँदा किसानलाई हरियोपत्ती भुक्तानी दिन समस्या रहेको श्रेष्ठले बताए।

८ बुँदे ध्यानार्कषण पत्र जारी गर्दै एसोसिएसनले व्यवसायीहरुले तिरेको कर रकममा नगरले आवश्यक रकम थपी कृषकलाई आवश्यक प्राविधिक तालिम तथा चियाको अर्गानिक प्रमाणीकरण प्रक्रियामा बजेट विनियोजन माग गरेको छ। 

चिया रोपण, संरक्षण, तथा व्यवस्थापनमा तत्काल सहुलियत ऋणका साथै किसानलाई अनुदानमा रासायनिक तथा जैविक मल तथा औषधि उपलब्ध गराउन पनि माग राखेका छन्। 

उद्योगले चियाको मूल्य घटाएपछि किसान आन्दोलित

कोरानाका कारण नेपाली चियाले बजार नपाएपछि उद्योगीहरुले हरियोपत्तीको मूल्य घटाएका थिए। जसका कारण किसानहरु आन्दोलित बनेका छन्। यसअघि किसानले ‘फस्ट फल्स’को चिया खेर जाने भएपछि उद्योगसँग हरियोपत्तीको मूल्य निक्र्यौल नगरी भुक्तानीपछि लिने भन्ने सहमति गरेर बिक्री गरेका थिए।

उद्योगीले समेत किसानको समस्यालाई ध्यानमा राखेर अभावबीच पनि उद्योग चलाउँदै आएका छन्। लकडाउन र अस्थिर बजारका बीच किसानहरुको हरियोपत्ती उद्योगले खरिद गरेर प्रशोधन गरिरहेको छ। यद्यपि हरियोपत्तीको मूल्य निर्धारण भएको थिएन। र भुक्तानीसमेत तयारी चिया बिक्री भए पनि दिने भनिएको थियो।

एसोसिएसनमा आबद्ध केही उद्योगले जेठ दोस्रो साता लकडाउनको अवस्थामा चियाको बजार अस्थिर भएको भन्दै ३० प्रतिशत माथि मुना भएको हरियोपत्तीलाई ३० रुपैयाँ, ५० प्रतिशतभन्दा मुनि ३० प्रतिशतसम्मलाई २० रुपैयाँ मूल्य तोकेका थिए। यसकारण किसानहरु आन्दोलित बनेका थिए। 

किसानहरुले नगरले २ वर्षअघि बनाएको गुणस्तरीय चिया उत्पादन मापदण्ड कार्यान्वयन कार्यविधि २०७५ लागु गर्न माग गरेका छन्। यसअघि उद्योगीले नगरले बनाएको मापदण्डका आधारमा भुक्तानी गर्दै आएका थिए।

तर उद्योगले विषम परिस्थितिमा तोकिएभन्दा बढी मूल्य भुक्तानी गर्न नसक्ने बताएको थियो। त्यसपछि किसानले सोमबार नगरप्रमुख रणबहादुर राईलाई ज्ञापनपत्र बुझाएका थिए। 

किसानले ज्ञापन पत्र बुझाएकै दिन चियाको मूल्य निर्धारण गर्न उद्योगी र नगरपालिकाबीच बसेको छलफल बिनानिष्र्कष टुंगिएको थियो। नगर प्रमुखले कार्यविधिअनुसार मूल्य दिनुपर्ने अडान राखेका थिए। नगरले २०७५ सालमा हरियोपत्तीको मूल्य निर्धारणको मापदण्ड बनाएको थियो। 

नगरको मापदण्डमा हरियोपत्तीको मूल्य न्युनतम ४० रुपैया तोकिएको थियो। मापदण्डमा ४० प्रतिशत मुनिको हरियोपत्ती खरिद तथा बिक्रीलाई निरुत्साहित गरिने उल्लेख छ। 

वैशाख÷जेठमा हुने बाँझी समयमा र दसैं तिहारको समयमा ४० प्रतिशतभन्दा कम गुणस्तरको पत्तीको खरिद बिक्रीमा नगरपालिकाको विषयगत शाखाबाट स्विकृति लिएर गर्न सकिने उल्लेख छ। तर सो पत्तीको मूल्य निर्धारण विषयगत शाखा तथा सरोकारवालाहरुको एक संयन्त्र बनाएर निर्धारण गर्न सकिने जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.