|

काठमाडौं : छिमेक लघुवित्त वित्तीय संस्थाका सदस्यले अबदेखि आफ्नो किस्ता तथा बचत ई–सेवाबाट भुक्तानी गर्न सक्ने भएका छन्। विभिन्न क्षेत्रलाई डिजिटल भुक्तानीमा आबद्ध गर्दै लगेको ई–सेवाले ग्रामीण भेगमा रहेका लघुउद्यमीहरूलाई पनि डिजिटल भुक्तानी गर्न सकिने गरी सेवा सुरु गरेको हो।

अनलाइन भुक्तानीसम्बन्धी सम्झौतापत्रमा ई–सेवाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटा र छिमेक लघुवित्तका तर्फबाट चोलराज शर्मा जोशीले हस्ताक्षर गरे ।

ई–सेवा एकाउन्ट भएका सदस्यहरूले आफ्नो मोबाइलबाटै नियमित किस्ता तथा बचतको रकम भुक्तानी गर्न सक्नेछन् भने ई–सेवा एकाउन्ट नभएका सदस्यले नजिकको ई–सेवा जोन, पोइन्ट तथा ई–सेवा अंकित एजेन्टबाट भुक्तानी गर्न सक्नेछन्।

इसेवा नेपालको पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो। इसेवा मार्फत मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका दुई हजारभन्दा बढी सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ। इसेवामा हाल ४९ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन्।

योसँगै लघुवित्तका सदस्यहरूले ऋणको किस्ता तिर्न नगद बोकेर लघुवित्तको कार्यालय पुग्नुपर्ने समयको बचत हुनुको साथै अन्य खर्चमा समेत कटौती हुनेछ।

छिमेक लघुवित्त वित्तीय संस्था नेपालको अग्रणी लघुवित्त संस्था हो। यस लघुवित्तले १ सय ३७ वटा शाखा तथा डीजिटल कार्यालयमार्फत ३ लाख ७३ हजार भन्दा धेरै सदस्यलाई सेवा प्रदान गर्दै आएको छ। हाल संस्थाले करिब २० अर्ब १२ करोड रूपैयाँ कर्जा लगानी गरेको छ भने बचत १८ अर्ब भन्दा धेरै रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.