|

सल्यान : बनगाड कुपिण्डे नगरपालिका ४ का ३३ वर्षका महेन्द्र बुढा अहिले स्वस्थ छन्। जेठ ८ गते भारतको नासिकबाट नेपाल आएका उनलाई १७ गते कोरोना पोजेटिभ भएको रिपोर्ट आएको थियो। 

कोरोना भाइरस पुष्टि भएपछि प्रदेश अस्पताल सुर्खेतमा १४ दिन उपचारपछि बुधबार उनीसँगै बनगाडकै एक जना घर फकिएका छन्। उनीहरु अहिले स्वास्थ्यकर्मीको सल्लाहबमोजिम होम क्वारेनटाइनमा छन्। 

कोरोना भाइरस लागेको कुनै महसुस नै नभएको उनीहरुको प्रतिक्रिया छ। कोरोना पोजेटिभ रिपोर्ट आउँदा मन आत्तिएको भए पनि यही भाइरसका कारण मर्छुजस्तो नलागेको बुढाले बताए। उनले भने, ‘जति मानिस आत्तिए पनि यससँग भाग्न सक्ने अवस्था पनि छैन। त्यसकारण मानिसका सामु भाइरसको मुकाबिला गर्नुबाहेक उपाय नै छैन।’  

भारतमा हुँदा टाउको र घाँटी दुख्ने भए पनि नेपालमा प्रवेश गरेसँगै सबै समस्या समाधान भएको उनी बताउँछन्। क्वारेनटाइनमा बसेको केही दिनपछि स्वाब संकलन गर्दा पोजेटिभ आएको र पोजेटिभ आउँदा पनि पहिले र कोरोना लागेपछिको अवस्थामा आफूले कुनै फरक नपाएको अनुभव सुनाए। 

'कोरोना लाग्दैमा मरिँदैन'

कोरोना भाइरसको संक्रमण हुने चिन्तामा मानिसमा त्रास छाएको छ। तर कोरोना हुँदैमा मानिसको मुत्य भइहाल्ने भन्ने नहुने उनको बुझाइ छ। भाइरससँग लड्ने मुख्य अस्त्र भनेको आत्मबल र शारीरिक व्यायाम नै रहेको उनी बताउँछन्। भाइरस लाग्दैमा आत्तिने भन्दा उनले मनोबल बढाउन आग्रह गरे। 

उनले भने, ‘भारतबाट गाउँ फर्किएपछि स्थानीय पालिकाले स्थापना गरेको क्वारेन्टाइनमा राखियो, क्वारेन्टाइनमा पिसिआर जाँचका लागि स्वाब संकलन गरियो।’ रिपोर्टमा मसँगै २५ जनाको पोजेटिभ आयो। उपचारका लागि मसहित १२ जना सुर्खेतस्थित प्रदेश अस्पताल गयौं, अहिले जितेर पनि दुई जना आएका छौं,’ उनले भने। उच्च मनोबल र आत्मविश्वास भएका कोरोनालाई जितिन्छ उनले भने। 

‘आफैंमाथि विश्वास गरें’ 

सल्यानमा पहिलो पटक कोरोना संक्रमित भएकामध्ये एक उनी पनि थिए। कोरोना लागेको कुनै अनुभव नै भएको छैन भने कसरी पो मरिएला भनेर मनोबल उच्च बनाएको उनी बताउँछन्। उनले भने ‘म डराइनँ, म ठिक भएँ।’ 

आफू बिरामी हुनुभन्दा नै अरु धेरै बिरामी भएका र ठिक भएर घर पनि फर्किसकेका मानिसहरु भएकाले सकारात्मक सोच राखेकाले ठीक भएको उनको बुझाइ छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.