विदेशी नागरिक पक्राउ परेपछि अनेक आशंका

|

काठमाडौं : कोरोना संकटको यो समय नेपालको सडक भने आन्दोलनले तातेको छ। सरकारले कोरोना भाइरस नियन्त्रण प्रभावकारी बनाउन नसक्दा समस्या जटिल बन्दै गएको भन्दै प्रदर्शनमा युवा उत्रिएका हुन्।

केही दिनयता देशका विभिन्‍न शहर र जिल्ला सदरमुकाममा आन्दोलन बढेपछि प्रहरीले बल प्रयोग गर्नुपर्न अवस्था आएको छ। प्रहरीले प्रदर्शनमा उत्रिएकामाथि पानीको फोहोरा, अश्रुग्यास र लाठी हानिरहेको छ। भारतले हडपेको लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नक्सा संसदबाट पारित हुने दिन शनिबार पनि काठमाडौंमा प्रदर्शन भयो। 

एकातिर सरकारले कोरोना नियन्त्रणमा १० अर्ब भन्दा धेरै खर्च गरेको बताएको छ। अर्कातिर पिसिआर परीक्षण अभावमा सयौँ मानिस क्‍वारेन्टाइनमा महिना दिनदेखि बसेको अवस्था छ।

भारतबाट हजारौं युवा फर्किएपछि दिनप्रतिदिन संक्रमित बढ्दै जाँदा उपचार प्रभावकारी नभएको भन्दै  युवा आक्रोशित छन्। तर, शनिबार माइतिघरमा भएको शान्तिपुर्ण आन्दोलनले भने धेरै मन जितेको छ। उनीहरुले निश्चित दुरी कायम गर्दै शान्त रुपले पम्पलेट देखाएर सरकार विरुद्ध शान्तिपुर्ण आन्दोलन गरे। त्यहाँ अनेकौ दृश्य देखिए। 

विदेशी नागरिक पक्राउ

माइतीघरमण्डलामा सरकारविरुद्ध भइरहेको प्रदर्शनका क्रममा सहभागी विदेशी नागरिक पक्राउ परे। नेपालको कानुनले विदेशी नागरिकलाई कुनै पनि राजनीतिक सभा, सम्मेलन र प्रदर्शनमा भाग लिन निषेध गरेको छ।

पक्राउ पर्नेहरुमा क्यानेडियन, चिनियाँ, अस्ट्रेलियन, अमेरिकन र फ्रेन्च नागरिक रहेका छन्। प्रदर्शनमा आएकाहरुसँगै प्लेकार्ड बोकेर प्रदर्शनमा उत्रिएपछि उनीहरुलाई पक्राउ गरिएको हो।


 

प्रहरीलाई फुलको गुच्छा

यसअघिकका प्रदर्शनमा प्रहरी र प्रदर्शनकारीबीच दुश्मनी देखिन्थ्यो। प्रहरी लखेट्थ्यो, प्रदर्शनकारी भाग्थे। निश्‍चित सीमा नाघेपछि प्रदर्शनले उग्र रुप लिएर प्रहरीले बल प्रयोग गर्छ। बालुावटारतिरको तनाव आँकलन गर्दा शनिरबार पनि प्रहरीले प्रदर्शनकारीमाथि बल प्रयोग गर्ने अनुमान थियो। 

प्रहरीको संख्या पनि उल्लेख्य थियो माइतीघरमा। तर, शान्तिपूर्ण आन्दोलन भएपछि प्रहरीले बल प्रयोग गरेन। कार्यक्रमको अन्यतिर केही युवाले प्रदर्शनमा उत्रिएका केही प्रदर्शनकारीले सुरक्षामा खटिएका प्रहरीलाई फूलका गुच्छा दिए। युवाहरूले सुरक्षामा खटिएका सबै प्रहरीलाई फूलका गुच्छा दिएर बिदा भए। 

'हाम्रो आन्दोलनमा तपाईहरूलाई सुरक्षा दिनुभयो। हामी तपाईंलाई फूलसहित धन्यवाद दिन्छौ। के हाम्रो फूल स्वीकार गर्नुहुन्छ?' भन्दै प्रहरीलाई फूल दिँदा प्रहरीले मुस्कानसहित फूलको ग्रहण गरे।

प्रहरीको स्यालुट

माइतीघरको आन्दोलमा  प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरसहित ठूलो संख्यामा प्रहरी तैनाथ थिए। बालुवाटारको प्रदर्शनमा दमनमा उत्रिएको प्रहरी माइतीघरमा भने फरक शैलीमा देखियो। आन्दोलनकारी पनि शान्त थिए भने प्रहरी पनि सम्यम। 

माइतीघरमा तैनाथ भइरहेका बेला आन्दोलनकारीले एकाएक राष्ट्रगान गाइदिए। राष्ट्रगान गाएपछि ड्युटीमा खटिएका प्रहरी उपरीक्षक राठौरसहित सतर्क भए। अनि माइतीघरको मैदानमै स्यालुट गर्दै उनीहरु राष्ट्रगान गुनगुनाउन थाले, सयौं थुँगा फूलका हामी एउटै माला नेपाली...। यो प्रहरीको अनुशासनको एउटा झल्को मात्रै थिएन, यो त देशप्रतिको प्रेम र समर्पण पनि थियो। 

सामाजिक दुरी 

आन्दोलनमा भिड हुनु स्वभाविक हो। कोरोना संकटमा सामाजिक दुरी अपरिहार्य रहेको बेला प्रदर्शनमा आएका केही युवा भने लगातार सामाजिक दुरी कायम गरिदिनुस भन्दै माइकिङ गरिरहे। प्रदर्शनमा आएका सुरक्षाकर्मीले पनि दुरी कायम गर्न लगातार माइकिङ गरिरहे।

कोरोना संकटको बेला सडकमा उत्रनु कतिपयले सरकारको कोरोना संकट न्यूनीकरण गर्न गरेर आदेशको युवाहरूले नियम पालना नगरेको भन आरोप लागिरहँदा युवाहरू भने संयमित भएको दृश्य रोचक थियो। ती युवाहरूले पत्रकारलाई पनि सामाजिक दुरीमा बसेर अन्तर्वार्ता लिन आग्रह गरिरहेका थिए।

फोहोर उठाउने युवा

केहिदिन देखि जारी रहेको सरकारविरुद्धको आन्दोलनमा प्रदर्शनकारिहरूले पम्पलेटमा विभिन्‍न नारा लेखेका थिए। ती नाराहरू समाजले अपच गर्ने खालका रहेका प्रमाण समाजिक संजालमा देखिएका छन्।  कतिपय नारा सरकार र राष्ट्रपतिमाथि नै आक्षेप लगाउने खालका थिए। तर, आज भने माइतीघरमा त्यस्ता पम्पलेट देखिएनन्। अधिकांश पम्पलेट सीमा र स्वास्थ्यसँग सम्बन्धित रहेका थिए। 

अर्को कुरा  प्रदर्शनका क्रममा ल्याउने पम्पलेट, खानेपानीमा बोतल, तथा  सुर्तीजन्य पदार्थको डङ्गुर प्रदर्शन सकिएपछि यसअघि माइतीघर मण्डलामा  छरप्रष्ट हुन्थे। आज कतिपय युवा आन्दोलन गरिरहेका थिए भने कतियप युवाहरू भने आन्दोलनकारीहरुले प्रयोग गरेका खानेपानीको बोत्तल, कागजहरु व्यवस्थापन गरिरहेका भेटिन्थे। फोहोर व्यवस्थापन गरिरहेका एक युवाले भने, 'आन्दोलन एकातिर छदैँछ। हामीले गरेको फोहोरको  व्यवस्थापन पनि हामी आफैले गर्नुपर्‍यो नी।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.