चिसो भुइँमा संक्रमित : न स्वास्थ्यकर्मी, न औषधी

|

दैलेख : २२ दिन अगाडि भारतबाट स्वदेश आइपुग्दा कोरोना पुष्टि भएपछि आइसोलेसनमा बस्दै आएका जिल्लाको डुंगेश्वर गाउँपालिका ४ एक यूवालाई लागेको थियो :आइसोलेसन महामारीबाट नागरिक बचाउन निर्माण गरिएका व्यवस्थित संरचना हुन्‌। 

तर बाँच्ने आशामा भारतबाट भोक-भोकै आफ्नो गाउँ आइपुगेका उनलाई अहिले कोरोना भन्दा पनि अव्यवस्थित क्वारेन्टाइनमा बसिरहनुपर्दा डर लागेको छ। उनी भन्छन, 'एउटै कोठामा १५ देखि २० जना हुलेर राखिन्छ, न दिनमा राम्रोसँग पानी नै पाइन्छ, न खाना। चिसो भुइँमा बस्नुपर्ने बाध्यता छ। बाँच्ने आशमा आएको त आइसोलेसनमा मरिन्छ कि भन्ने लाग्न थालेको छ।'  

उनीसँगै आइसोलेसनमा बस्दै आएका उमेरले ६० नागेका डुंगेश्वर गाउँपालिका ३ का एक वृद्ध दमको औषधी चलाइरहेका व्यक्ति हुन्‌। उपचार गरेपछि भारतको सुरतबाट आएर क्वारेन्टाइन बस्दा पानी समेत पर्याप्त नपाएका उनलाई औषधी व्यवस्थापन त परको कुरा भएको छ। 

उनी भन्छन्‌, 'उताबाट ल्याएको औषधी सकिइसक्यो, घरबाट कसैसँग औषधी मगाउँ भने पनि यहाँ आउन दिँदैनन्, आफैँ जाउँ भने पनि सम्भावना छैन, पानी पाउन मुस्किल परेको बेला कहाँबाट औषधी पाउनु? स्वास्थ्यकर्मी पनि आउँदैनन्।' ट्वाइलेटको अवस्था देख्दा कोरोना भन्दापनि क्वारेन्टाइनमा हैजाले मरिने डर लागेको उनले बताए। 

यता डुंगेश्वर गाउँपालिकाका अध्यक्ष नगेन्द्र बहादुर मल्लले व्यवस्थापनमा कमजोरी भएको स्वीकार गरेका छन्‌। उनले भारतबाट आएकालाई क्वारेन्टाइनमा राख्नुपर्ने र संक्रमण पुष्टि भएकालाई आइसोलेसनमा राखिनुपर्ने भ पनि केहि कमजोरी भएको बताए।

कोरोना पुष्टि भएर भैँसीगोठ जस्तै आइसोलेसनमा बसेका डुंगेश्वरका वृद्ध र युवाकोे पीडा मात्र हैन, जिल्लाका ११ वटै स्थानीयतहमा भारतबाट आएर क्वारेन्टाइन  र आइसोलेसनमा बसेकाहरू औषधी, राम्रो खाना र पानीको व्यवस्थापन नभएपछि आन्दोलन गर्न बाध्य छन्। 

केहि दिनअगाडि नारायण नगरपालिकास्थित दैलेख बजारमा रहेका त्रिभुवन उच्च माविको क्वारेन्टाइनमा बसेकाहरू पानी नै नपाएपछि आन्दोलनमा उत्रिएका थिए। उनीहरूलाई नियन्त्रणमा लिन सुरक्षाकर्मीलाई नै हम्मेहम्मे परेको थियो।

स्थानीय सरकारका प्रमुखहरूले भने भारतबाट आएका नागरिकलाई बस्नखानको व्यवस्थापन राम्रो गरेको दावी गर्दै हिँडेका छन्‌। तर क्वारेन्टाइनमा बसेकाहरूले पानी नपाएको भन्दै आन्दोलनमा उत्रनुपर्ने अवस्था निम्तिएको छ।

गाउँमा कोरोना,महामारीमा मजाक 

यो समाचार तयार पार्दासम्म दैलेखमा ४७२ जनामा कोरोना संक्रमीतको पुष्टि भएको छ। कर्णालीका १० जिल्लामध्ये धेरै कोरोना संक्रमीत रहेको जिल्ला दैलेख हो। दैलेखकै क्वारेन्टाइनमा रहेका एकजनाको उपचार नै नपाई मृत्यु भइसकेको छ।  

महामारी फैलँदै गर्दा पनि सरोकारवाला निकायले पर्याप्त सतर्कता र व्यवस्थापन गर्न सकेका छैनन्‌। केही दिन अघि मात्र नारायण नगरपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा बसेकालाई पिसीआर रिर्पोट नआउँदै घर पठाइएको थियो, तर उनीहरू गाउँघरमा सबैसँग हेलमेल भएपछि मात्रै कोरोना पुष्टि भएको थियो। 

यता दैलेखको डुंगेश्वर गाउँपालिकामा समुदायस्तरमै कोरोना संक्रमण पुष्टि भएको छ। यसअघि भारतबाट आउनेहरूमा कोरोना पुष्टि हुने गरेपनि अहिले गाउँमै रहेका मानिसमा नै संक्रमण देखिएको हो। समुदायस्तरमै कोरोना फैलिएपछि स्थानीयवासी त्रासमा छन्‌। दैलेख जिल्लामा कोरोना महामारी प्रशासन र सरकारका लागि मजाक जस्तो मात्रै भइरहेको स्थानीयले अनुभव गरेका छन्‌। 

त्रिपालका क्वारेन्टाइन 

भारतबाट जिल्ला भित्रने नागरिकको संख्या धेरै भएकाले स्थानीय सरकारहरूले जनतालाई क्वारेन्टाइनका नाममा त्रिपालमुनि राखेका छन्। ठाँटीकाधमा भारतबाट आएकालाई राख्न क्वारेन्टाइन नहुँदा तरकारी ढाक्न प्रयोग गरिने 'पोलिहाउस'मा राखिएको छ।

गाउँपालिकाका अध्यक्ष धीरबहादु शाही भारतबाट आएकाको संख्या बढेपछि राख्ने स्थान अभावका कारण जनतालाई रोगबाट जोगाउन पालमुनि राख्नुपर्ने अवस्था आएको बताउँछन्‌। उनी भन्छन्‌, 'न प्रदेश सरकारले राम्रो सहयोग गरेको छ, न केन्द्र सरकारले सहयोग गरेको छ। आफ्नो क्षमताले सकेसम्म जनता बचाउने अभियानमा लागेका छौँ।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.