|

पर्वत : पर्वतको कुस्मा नगरपालिका ३ दुर्लुङमा शनिबार राति पहिरोले घर बगाउँदा २ जनाको मृत्यु भएको छ। घटनामा अरू ७ जना बेपत्ता भएका छन्। शनिबार साँझदेखि भएको भीषण वर्षाका कारण दुर्लुङको काफलचौर स्थित सरुनचौर भन्ने ठाउँमा पहिरोले ३ घर पुरेको हो। 

स्थानीय प्रभु गुरुङले थाहाखबरसँग बताएअनुसार पहिरोमा परी स्थानीय तुलबहादुर थापाकी श्रीमती नीलकुमारी र नातिनी (छोरा तर्फ)अन्दाजी १० बर्सिया विविशा थापाको मृत्यु भएको छ। 

पहिरोमा परी तुलबहादुर र उनका नाति (छोरा तर्फका), छोरी र नाति (छोरीतर्फ) बेपत्ता छन्। ‘सर हामीहरू घटनास्थलमा नै रहेका छौँ। कुस्माबाट सुरक्षा निकायका मान्छेहरू पनि आएर उद्धारको काम थाल्नुभएको छ। रातिको समय भएकोले कठिन भएको छ,’ गुरुङले भने, ‘३ घर पुरिएका हुन्। हामीले २ ओटा लास भेट्टाएका छौँ। घरको नामो निसान नरहने गरी बगाएको छ। बेपत्ताहरूलाई खोजी रहेका छौँ।’ प्रत्यक्षदर्शी गुरुङका अनुसार तुलबहादुरको घरको भैंसीसमेत पहिरोले पुरेको छ।

यस्तै सोही ठाउँमा पसल गर्दै आएका भुवन गिरीको परिवारलाई भने स्थानीयले उद्धार गर्न सफल भएका छन्। रुखले अठ्याउँदा गुहार मागिरहेको अवस्थामा थाहा भएकोले ३ जना सदस्य रहेको उक्त परिवारमा मानवीय क्षति नभएको पनि प्रभु गुरुङको भनाइ छ। 

पहिरोमा परी अर्को एक घर पूर्ण रूपमा क्षति हुनुका साथै उक्त घरका ३ जना बेपत्ता भएका छन्। विकास विकको घरलाई पहिरोले बगाउँदा घर रहेको ठाउँसमेत नदेखिएको तथा उनका श्रीमती, छोरी र छोरी बेपत्ता रहेको पनि गुरुङको भनाइ छ।

उनका अनुसार पहिरो गएको स्थानमा सयौँको संख्यामा स्थानीय नागरिक जम्मा भएर उद्धारको प्रयास गरिरहेको भए पनि बेपत्ता भएकाहरूलाई फेला पार्न सकेका छैनन्। 

पहिरो गएको स्थानभन्दा केहीमाथि एउटा जंगली जन्तु पनि घाइते भएको हुन सक्ने स्थानीयले बताएका छन्। ‘पहिरो गएको केहीमाथि र पारी बाघको जस्ता आँखा टल्किएका छन्। हामी त्यहाँ जान सकेका छैनौँ। कुहिरोले पूरै ढाकेको छ। गाउँमा गुहार गुहार छ।’ प्रभुकै छेउमा रहेका एक व्यक्तिले थाहाखबरसँगको फोन सम्पर्कमा भने, ‘आर्मी पुलिसहरू आएका छन्, सबैलाई उद्धार गरेर बचाउन पाए त हुने नि।, हे भगवान्! कस्तो दसा हो यो।’

दुर्लुङका वडाध्यक्ष तेजप्रसाद पाध्याले आफू घट्नास्थलतर्फ जाँदै गरेको बताउँदै केही मान्छे पुरिएको र ३ घरहरू पुरिएको खबर आफूलाई आएको जानकारी दिएका छन्। 

उद्धारका लागि घटनास्थलमा पुगेका जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी तथा प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदीले पनि पहिरोमा परी २ जनाको मृत्यु भएको पुष्टि गरेका छन्। नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले उद्धार कार्य जारी राखेको बताउँदै उनले बेपत्ताहरूको अवस्था सकेसम्म छिटो पत्ता लगाउन खटिरहेको बताए।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.