न्यून वर्गका करिब २ हजार परिवार लाभान्वित हुने

|

पाल्पा : जिल्लाको तानसेन नगरपालिका–५ माथिल्लो धरमपानीका ३४ वर्षीय निरञ्जन गुइँदेलले तानसेन बजारमा सामान्य सिलाई व्यावसाय गर्दै आएका थिए। त्यही व्यवसाय पनि लकडाउनले अहिले बन्द छ। व्यावसाय बन्द भएपछि उनलाई बिहान साँझ के खाने हो? भन्ने पिरलो छ।

७७ वर्षीय दम र प्रेसरका बिरामी बुवा, श्रीमती र एक छोराको लालनपालन गर्ने जिम्मेवारी उनको काँधमा छ। तर कुनै काम गर्न नपाएपछि उनलाई परिवार पाल्न निकै समस्या छ।

अहिले भने तानसेन नगरपालिकाले केही दिनका लागि काम दिएपछि उनलाई अलिकति राहतको महसुस भएको छ। कच्ची सडकमा नाली खन्ने काम उनले पाएका छन्।

सो ठाउँकी ५८ वर्षीया विष्णु विकको कथा पनि उस्तै छ। आफूसहित ६ जनाको परिवार अहिले उनले नै पाल्नु परेको छ।

‘६० वर्षीय श्रीमान् बिरामी छन, एउटा छोरा, त्यही पनि खुट्टा भाँचिएर विस्तारामा छ, बुहारीले २ वटा साना छोराछोरी हेर्नुपर्छ’ उनले भनिन् ‘लकडाउनले बिहान साँझ खान समस्या परिरहेको छ। यसरी काम गरेको पैसाले साहु तिरेर फेरि उधारो माग्न पाइएला नि भन्ने आशा छ।’

गुजारा चलाउनै कठिन 

सँगै मजदुरी गरिरहेका डिलबहादुर विश्वकर्माको व्यथा पनि फरक छैन। पैसा कमाउन गएको छोरा कतारमा अलपत्र परेका छन्। घरमा ४ जनाको परिवार छ। ‘सामान्य ज्याला मजदुरीले पाल्दै आएको थिएँ’ उनले भने ‘अहिले परेको विपद्ले गुजारा चलाउन कठिन भएको छ।’ यसरी बाटो खन्ने काम निरन्तर पाएमा राहत मिल्ने उनी बताउँछन्।

वडा भित्रका सबै विकास निर्माणका काम आफूहरूलाई गर्न दिन दिन डिलबहादुरले आग्रह गरे। ‘डोजर लगाउनुभन्दा हामीलाई काम दिए हुन्थ्यो’ उनले थपे ‘विकास पनि हुन्थ्यो, हामी र हाम्रो परिवार भोकले मर्नुपर्ने अवस्था पनि आउने थिएन।’ आफूहरूले गर्न नसकेका काममात्र डोजरलाई दिन उनले आग्रह गरे।

लकडाउन भएको सुरूवाती चरणमा राहत वितरण गरेको तानसेन नगरपालिकाले सहुलियत दरमा खाद्यान्न वितरण पनि गरेको थियो। पछिल्लो समयमा भने श्रममा आधारित राहत वितरण कार्यक्रम अगाडि बढाएको छ। श्रम गरेबापत उनीहरूलाई सरकारी दररेटअनुसार ज्याला दिइने तानसेन नगरपालिका कार्यपालिका सदस्य दीपक विश्वकर्माले बताए।

दैनिक ६५० ज्याला

यसरी काम गरेबापत उनीहरूले कम्तीमा ६५० रुपैयाँ ज्याला पाउँछन्। यसरी दिइने राहतले विकास निर्माणको काम पनि हुने र भोकमरीको समस्या पनि टर्ने विश्वकर्माले बताए।

श्रममा आधारित राहत वितरण कार्यक्रमअन्तर्गत नगरभित्रका प्रत्येक वडालाई २ लाखका दरले बजेट विनियोजन गरिएको छ। सोही बजेटमा रहेर न्यून वर्गका परिवारलाई काममा लगाइ ज्याला दिन भनिएको तानसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराज बेलवासेले बताए। यो कार्यक्रमबाट नगरभरीका न्यून वर्गका करिब २ हजार परिवार लाभान्वित हुने उनले दाबी गरे।

उनका अनुसार अहिले वडा नम्बर १, ५ र ११ मा यो काम चलिरहेको छ। बाँकी वडामा छिट्टै यो कार्यक्रम संचालन हुने उनले बताए।

तर ज्येष्ठ नागरिक, सुत्केरी महिला, बालबालिका, फरक क्षमता भएका व्यक्तिलाई भने नि:शुल्क राहतको व्यावस्था गरिने प्रमुख प्रशासकीय अधिकृत बेलवासेले स्पष्ट पारे।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.