|

सल्यान : कालीमाटी गाउँपालिका-१, लक्ष्मीपुरका बाल कंवर द‌ृढ इच्छाशक्ति, लगनशीलता र निरन्तरता भए न्यून लगानी र कम परिश्रमबाट गाउँमै मनग्य आम्दानी गर्न सकिने उदाहरण बनेका छन्‌।

कंवरले मौरीघार बिक्री गरेर वार्षिक २० लाख रुपैयाँभन्दा बढी आम्दानी गरिरहेका छन्‌। गत वर्ष ४९० घार मौरी बिक्री गरेका कंवरले यो वर्ष ६०० घारको माग आएको बताए। एउटा घार तीन हजार पाँच सयका दरले बिक्री हुने गरेको उनको भनाई छ। उनले भने, ‘मौरीको घारबाट मनग्य आम्दानी हुँदै आइरहेको छऽ गत वर्ष ४९० घार बिक्रीबाट १७ लाख १५ हजार रुपैयाँ आम्दानी भएको थियो।’ 

यो वर्ष माहुरी ब्लक कार्यक्रमले ४०० घारको माग गरेको र २०० बढी स्थानीय मौरीपालक किसानहरूले पनि माग गरेको उनले बताए। जसबाट २१ लाख रुपैयाँभन्दा बढीको कारोबार हुने उनले बताए। गत वर्षभन्दा यो वर्ष मौरीघारको माग बढी रहेको उनले जानकारी दिए।

कोरोना भाइरसका कारण बन्दाबन्दी भएपनि खासै प्रभाव नपरेको उनको भनाई छ। मजदुरहरूलाई आफ्नै घरमा राखेकाले संक्रमणको जोखिम नभएको उनले बताए। उनका अनुसार सुरूमा जिल्ला बाहिरबाट सामान ल्याउन केही समस्या भएपनि अहिले खासै समस्या छैन।

६ जनालाई रोजगारी 

मौरी घार बनाउन उनले ६ जनालाई रोजगारीसमेत दिएका छन्। ६ जना मजदुरको पारिश्रमिक, घर खर्च, काठ किन्दाको खर्च गरी सबै कटाउँदा वार्षिक ५ देखि ६ लाख रुपैयाँसम्म बचत हुने गरेको उनले जानकारी दिए।

जिल्लाभित्र र बाहिरबाट घारको माग भइरहेकाले बजारको कुनै समस्या नरहेको उनले बताए। जाजरकोट, सुर्खेत र रुकुमसम्म आफूले तयार पारेको मौरीको घार जाने गरेको उनको भनाई छ।

उनले भने, ‘घार बनाउने व्यवसाय संञ्चालन गरेदेखि हालसम्मको अवधिमा १५ देखि २० लाख रुपैयाँ चोखो आम्दानी भयो होला।’ घरपरिवारको पुरानो ऋण तिर्नुका साथै छोराछोरीको शिक्षादिक्षामा निकै सहयोग पुगेको उनी बताउँछन्‌।

मौरी पालनमा कृषकको आकर्षण 

सल्यानका किसानहरू पछिल्लो समय मौरीपालन व्यवसायमा आकर्षित हुन थालेका छन्‌। थोरै लगानीमा मनग्य आम्दानी गर्न सकिने भएपछि किसानहरूको आकर्षण बढेको कृषि विकास कार्यालय सल्यानले जनाएको छ। सल्यानमा झन्डै ३०० किसानहरूले व्यवसायिक मौरीपालन गर्दै आइरहेको कार्यलयले जनाएको छ।

कार्यालयका चना अधिकारी रेशम कुमार बस्नेतका अनुसार जिल्लाका कालिमाटी गाउँपालिकाको वडा न १, २, ३ र ४ वडालाई समेटेर माहुरी ब्लक र कुमाख गाउँपालिकामा मौरी पकेट कार्यक्रम सञ्चालन भइरहेको छ। सल्यानमा वार्षिक १८ देखि १९ मेट्रिक्टन मह उत्पादन हुने गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.