|

जाजरकोट : जाजरकोटको पूर्वी क्षेत्र र पश्चिम रुकुम आठबीसकोट नगरपालिकामा आयोडिनयुक्त नुन प्रतिकिलो २० देखि २५ रुपैयाँमा बिक्री भएको पाइएको छ। नलगाड नगरपालिकाको प्रशासकीय केन्द्र दल्लीमा उक्त नुन नौ रुपैयाँमा पाइन्छ। 

पूर्वको दल्लीमा मात्र आयोडिनयुक्त नुन बिक्री गर्ने डिपो रहेको छ। दल्लीमा नुन लिन आउन टाढाको वडाहरुबाट झण्डै दिन लाग्ने गर्दछ। त्यसैले दोब्बर मूल्य तिरेर भए भए पनि त्यस क्षेत्रका नागरिकले नुन खरिद गर्न बाध्य भएको नलगाड नगरपालिका–१० का प्रेम मल्लले बताउँछन्। जाजरकोटमा आयोडिनयुक्त नुन सहुलियत दरमा वितरण गर्न सरकारले ढुवानी अनुदान दिँदै आएको छ।
 
ढुवानी अनुदान दिएको नुन सदरमुकाम र डिपोमा प्रतिकेजी नौ रुपैयाँमा पाइन्छ। व्यापारीले अनुदानकै नुन मिलेमतोमा खरीद गरेर दुर्गममा चर्को मूल्यमा बिक्री गर्ने गरेका छन्।  लकडाउनका कारण गाडी चल्दैनन्। प्रहरीका आँखा छल्दै आधा बाटोसम्म ट्रयाक्टर र त्यसपछि घोडा खच्चडमा लगेको नुन व्यापारीले मनोमानी रुपमा बिक्री गर्दा स्थानीयवासीहरु समस्यामा परेका छन्। दुर्गममा प्रशासनले कहिल्यै अनुगमन नगर्दा व्यापारीले मनोमानी गर्ने गरेको स्थानीयवासीको गुनासो छ।

बारेकोट गाउँपालिकामा व्यापारीले निजी लगानीमा खरिद गरेर लगेको ढुवानी अनुदानको नुन बारेकोटको तल्लो भेगमा प्रतिकिलो ५० रुपैयाँ र माथिल्लो भेगतिर ६० रुपैयाँमा बिक्री गर्ने गरिएको स्थानीयवासीको भनाइ छ। सदरमुकामभन्दा ६/७ गुणा बढी मूल्यमा किन्नुपर्ने बाध्यता रहेको बारेकोट गाउँपालिका–४ का रतीमान बस्नेनको गुनासो छ। ६० रुपैयाँ हाल्दा पनि नुन पाउन मुस्किल हुने गरेको बस्नेतले बताए। 

बारेकोट गाउँपालिकाले आफंैले आयोडिनयुक्त नुन खरिद गरेर लिएको भए पनि प्रत्येक घरमा एक किलो नुन लकडाउन अवधिभर नपुग्ने भएकाले आफंैले खरिद गरेको सर्वसाधारणाहरु बताउँछन्।

नुनको समस्या बर्सेनि हुने बारेकोटमा गत वर्ष डिपो स्थापनाका लागि सरकारसँग माग गर्दा पनि सुनुवाइ नभएको गाउँपालिकाका अध्यक्ष महेन्द्र शाहले बताए। डिपो भएको ठाउँमा व्यापारीहरुले भारी मात्रामा नुन लिएर पसलबाट ठाउँअनुसारको दोब्बरदेखि तेब्बरसम्माको मूल्यमा नुन बिक्री गरिरहेको स्थानीयवासीहरुको गुनासो छ।

पश्चिम जाजरकोटमा ढिके नुन प्रयोग

पश्चिम जाजरकोटको जुनीचाँदे गाउँपालिका, छेडागाड नगरपालिका र शिवालय गाउँपालिकाका माथिल्लो भागका अधिकांश नागरिकले ढिके नुन प्रयोग गर्दै आएका छन्। छेडागाड नगरपालिकाको थलहमा आयोडिनयुक्त नुनको बिक्री केन्द्र भए पनि लकडाउनका कारण बन्द भएपछि सर्वसाधारणहरु बजारको ढिके नुन प्रयोग गर्न बाध्य भएका हुन्। 

स्थानीय व्यापारीले बिक्रीका लागि राखेको आयोडिनयुक्त नुन सकिएपछि सर्वसाधारणहरु बजारमा पाईने ढिके नुन प्रयोग गर्न बाध्य भएको जुनिचाँदे गाउँपालिका–४ लुहादहकी पवित्रका खड्काले बताइन्। ‘यातायात चल्दैन, हिँडेर दुई दिन लगाएर ल्याउन पनि समस्या नै छ,’ खड्काले भनिन्, ‘एक केजी ढिके नुनको समेत ४० रुपैयाँ पर्छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.