पाल्पा : अमेरिकी फौजी किराले मकैबाली सखाप पारेपछि पाल्पाका किसान चिन्तित बनेका छन्। बगनासकाली गाउँपालिका, पूर्वखोला गाउँपालिका, तानसेन नगरपालिका, तिनाउ गाउँपालिका, रैनादेवी छहरा गाउँपालिकामा फौजी किराले आतंक नै मच्चाएको किसानको गुनासो छ।
बगनासकाली गाउँपालिका १ चिर्तुङधाराका किसान चन्द्रवीर थापाले गुनासो गरे, ‘एउटै बोटमा ४÷५ वटासम्म फैजी किरा लागेको छ, पहिले पातमा लक्षण देखिन्छ त्यसपछि गुवो खाँदै बोट नै नष्ट गरेको छ।’
मकैको धानसुत्ला फौजी किराले खाएपछि बोटनै सुक्ने गरेको पूर्वखोला गाउँपालिका ३ जल्पाका किसान डीलबहादुर सुनारले बताए। कोरोनाको महामारीले बिहान–साँझ खान समस्या परेको बेला खेतबारीमा मकैबालीसमेत किराले खाइदिएपछि थप चिन्ताले सताएको उनले बताए।
गएको एक महिनादेखि पाल्पाका किसानका मकैबालीमा अमेरिकी फौजी किराको संक्रमण बढेको छ। किरा नियन्त्रण गर्ने प्रयास भइरहेको चिर्तुङधाराकी कृषि प्राविधिक जन्जुका ज्ञवालीले बताइन्।
उनका अनुसार क्षतिको आधारमा किसानलाई फौजी किरा नष्ट गर्ने विषादी दिने गरेको उनले बताइन्। गाउँपालिकाको विभिन्न स्थानमा फौजी किरा देखिएपछि त्यसको अध्ययन गरी किसानलाई सचेत गराउने काम भइरहेको पूर्वखोला गाउँपालिका कृषि शाखा प्रमुख सन्तोष कँडेलले बताए।
फौजी किराको संक्रमणबाट जोगाउन किसानलाई आफ्नो खेतबारीमा नियमित रुपमा अवलोकन गरी शाखामा जानकारी गराउन उनले भनेका छन्। कँडेलका अनुसार क्षतिको आधारमा किसानलाई आवश्यक उपायसहित विषादी वितरण गरिएको छ।
संक्रमण देखिएका क्षेत्रका किसानलाई विषादीको नाम र यसको प्रयोग र रोकथामका उपायबारे जानकारी गराउँदै आएको कृषि ज्ञान केन्द्र पाल्पाका प्रमुख शिवप्रसाद अर्यालले बताए।
पातमा सामान्य लक्षण देखिएका फौजी किराको फुलको झुण्डलाई संकलन गरी फुल नष्ट गरिदिने, नेपियर जातको घाँसले यस किरालाई आकर्षण गर्ने हुँदा खेतबारीको छेउछाउमा यो जातको घाँस लगाई त्यहाँ आएका किरालाई मार्ने, खरानी, माटो र बालुवा एकै ठाउँमा मिसाइ प्रभावित मकैको गुवोमा राखेर जैविक विधिको प्रयोग गरी फौजी किरालाई नियन्त्रणमा ल्याउन सकिने प्रमुख अर्यालले बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।