|

बैतडी : बैतडीसहित सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमण आशंकामा संकलन गरिएका दुई हजारभन्दा बढी 'थ्रोट स्वाब' नमूना परीक्षणका लागि काठमाडौं पठाइएको छ।

प्रदेशमा नमूना परीक्षणका लागि चाप बढेपछि दुई हजार ६६ जनाको नमुना परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको हो। सुदूरपश्चिममा एउटा मात्रै प्रयोगशाला धनगढीमा रहेको र उक्त प्रयोशालामा नमूनाको चाप बढेपछि परीक्षणका लागि काठमाडौँ पठाइएको प्रदेश स्वास्थ्य निर्देशक डाक्टर गुणराज अवस्थीले जानकारी दिए।

धनगढी प्रयोगशालामा दैनिक २५० जनाको मात्रै परीक्षण गर्न सकिने, तर प्रदेशभरका शंकास्पद व्यक्तिको नमूना बढी भएकोले काठमाडौं पठाइएको हो। अवस्थीले भने, ‘हप्ता दिनभन्दा बढी भइसक्दा समेत संकलित नमूना परीक्षण गर्न नसकिने अवस्था आएपछि टेकु पठाउन बाध्य भएका हौं।’ 

पठाइएका २ हजार नमूनामा ४ सय भन्दाबढी बैतडीका रहेका स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए। उनका अनुसार लामो समयसम्म संकलित नमूना बिग्रने र रिपोर्ट सही नआउने हुनाले काठमाडौं पठाइएको हो।

दैनिक एक हजार जनाको परीक्षण गर्न सक्ने क्षमताको मेसिन खरिदका लागि पहल गर्नुका साथै प्रदेश सरकारले तीन वटा पीसीआर मेसिन समेत खरिद गरिरहेको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले बताए।

सुदूरपश्चिम प्रदेशमा हालसम्म ९ हजार ७४ जनाको कोरोना परीक्षण भएको छ। धनगढी प्रयोगशालामा ६ हजार सात सय ६ जना र काठमाडौँ प्रयोगशालामा दुई हजार तीन सय १६ जनाको परीक्षण भएको हो। 

धनगढी प्रयोगशालामा नमूनाको चाप बढेको भन्दै यसअघि ५ दिन स्वाब संकलन कार्य बन्द नै गरेको थियो। सो प्रयोगशालामा संकलित दुई हजार दुई सय १६ जनाको नमुना अझै परीक्षण बाँकी रहेको छ।

नौ वटै जिल्लामा गरि प्रदेशभरी हाल ६० हजार बढी नागरिक क्वारेन्टाइनमा बसिरहेको छन्। क्वारेन्टाइनमा बस्ने धेरैजसो भारतबाट फर्किएका रहेका छन्। सुदूरपश्चिममा प्रदेशमा पहिलोपटक चैत १४ गते कोरोना संक्रमित देखिएको हालसम्म ३ सय ३२ जनामा संक्रमण पुष्टि भएको छ।

प्रदेश सरकारले गत चैत १५ गते धनगढीसहित बैतडी र डोटीमा पिसिआर परीक्षण प्रगोगशाला स्थापना गर्ने निर्णय गरेको भएपनि हालसम्म निर्णय कार्यान्वयन हुन सकेको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.