|

बैतडी : बैतडीमा कोरोना पुष्टि भएका चार जनालाई घर पठाइएको छ। सोमबार थपिएका २१ जनामध्ये १७ संक्रमित घरमै रहेका छन्‌। चार जनालाई मात्र क्वारेन्टाइनमा राखिएको छ। 

सोमबार पुष्टि भएका सबै संक्रमित शिवनाथ गाउँपालिकाका हुन्‌। धनगढी प्रयोगशालामा गरिएको परीक्षणमा थप मानिसहरू संक्रमित देखिएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ। यीसँगै बैतडीमा कोरोना संक्रमितको स‌ंख्या २७ पुगेको छ। 

वडा नं २ मा एक महिलासहित ७ जना, वडा नं ४ का ५ जना पुरुष, र वडा नं ६ का ५ जना पुरुषलाई घर पठाइएको शिवनाथ गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र महताले जानकारी दिए। आरडिटी पोजेटिभ देखिएका उनीहरूलाई रिपोर्ट नआउँदै घर पठाइएको थियो। ‘उनीहरूको २३ गते स्वाब संकलन गरिएको र त्यसपश्चात स्वास्थ्य मन्त्रालयको निर्देशिका अनुसार उनीहरूलाई घर पठाइएको हो,’ उनले भने, ‘संक्रमितमध्ये वडा नं ३ का ४ जना पुरुष मात्रै हाल क्वारेन्टाइनमा रहेका छन्, उनीहरूलाई श्रीपुर माविको क्वारेन्टाइनमा राखेका छौं।’

संक्रमित पुष्टि भएका सबै भारतबाट फर्किएका थिए। स्वास्थ्य मन्त्रालयको नयाँ निर्देशिकाअनुसार होम आइसोलेसनमा बस्ने शर्तसहित घर पठाइएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए। संक्रमण पुष्टि भएका सबैको स्वास्थ्य अवस्था सामान्य रहेकोले होम आइसोलेसनमा पठाइएको उनको भनाई छ।

पाँचज संक्रमित डिस्चार्ज 

बैतडीका पाँच संक्रमित यसअघि नै डिस्चार्ज भइसकेका छन्। जेठ ९ गते संक्रमण पुष्टि भएका पहिलो संक्रमित शिवनाथ गाउँपालिका २ का २२ वर्षीय युवक कोरोना जितेर जेठ २१ गते जिल्ला अस्पताल बैतडीबाट डिस्चार्ज भएका हुन्।

यस्तै जेठ १० गते कोरोना पुष्टि भएका शिवनाथ गाउँपालिका वडा नम्वर १ का २० वर्षीय र २७ वर्षीय पुरुष तथा शिवनाथ गाउँपालिका वडा नम्वर २ का २० र २२ वर्षीय पुरुष, अछामको मेल्लेख गाउँपालिका ३२ वर्षीय पुरुष र ११ वर्षीया बालिका पनि यही जेठ २३ गते सेती प्रादेशिक अस्पतालबाट डिस्चार्ज भएका छन्।

उनीहरूमा कोरोना निको नभएपनि लक्षण नदेखिएको र स्वास्थ्य समस्या नभएका संक्रमितलाई १४ दिन आइसोलेसनमा राखेर डिस्चार्ज गर्न पाइने नयाँ निर्देशिका स्वास्थ्य मन्त्रालयले पारित गरेपछि डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ।

यसैबीच यही जेठ १९ गते थपिएका छैठौं संक्रमित पाटन नगरपालिका ८ का ३४ वर्षीय पुरुषको भने पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ। ती युवकको जेठ २६ गते गरिएको दोस्रो पीसीआर परिक्षणमा पनि रिपोर्ट पाजेटिभ नै आएको थियो।  

बैतडीमा हाल ३ हजार १ सय १७ जना क्वारेन्टाइनमा बसिरहेका स्वास्थ्य कार्यालय बैतडीका कोभिड १९ सम्पर्क व्यक्ति भुवन जोशीले जानकारी दिए। भारतबाट फर्किएका उनीहरू १४ दिन नकटेका तथा आरडिटी पाजेटिभ आएर पीसीआर रिपोर्ट आउँन बाँकी रहेका हुन्। जसमा जिल्लाका ६७८ जनाको आरडिटी पोजेटिभ आएकोमा ५ सय बढीको रिपोर्ट आएको छैन। 

जिल्लाका २५० स्थानमा गरी कूल ६ हजार ९ सय ८९ बेडका क्वारेन्टाइन निर्माण गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.