|

पर्वत : सोमबार सबेरैदेखि झमझम वर्षा, मानिसहरू घरबाहिर निस्कन सकेका थिएनन्। अत्यावश्यक काम भएकाहरू छाता र प्लास्टिक ओढेर घरबाहिर निस्के पनि वर्षाकै कारण सडकमा न त सवारीसाधन गुडेका थिए न त पैदल यात्री नै। 

यही वर्षालाई छिचोल्दै सदरमुकाम कुस्मा बजारमा डोकोभरि तरकारी बोकेर घरघरमा पुग्दै थिइन् कुस्मा नगरपालिका ९ कटुवाचौपारीकी दुर्गा अधिकारी। चिप्लो बाटोमा जसोतसो खुट्टा अड्याउँदै घरबाट आधा घण्टाको दूरी पारेर अधिकारी तरकारी बेच्न बजार आइपुगेकी हुन्। घरमा फलाएको तरकारी बेचेर घर खर्च चलाउन सिकेकी दुर्गालाई न त हुरी बतासले रोक्छ न त वर्षाले नै। पानीमा भिज्दै भए पनि तरकारी बेचेर आएको केही पैसाले दैनिक घर व्यवहार चलाउँछिन् उनी।

‘पानी परेको छ भनेर घरमा बस्ने हो भने त यो तरकारी कसरी बिक्री हुन्छ र? तरकारी नै बिक्री नभए घर खर्ची चलाउने कसरी हो?’ दुर्गा भन्छिन्, ‘बिहान बेच्न ल्याउन बेलुका नै तरकारी टिपेर डोकोमा ठिक्क पारेर राख्छु। बिहान सबेरै उठेर गोठधन्दा सकेर तरकारी बेच्न आउँछु। यही दुःख गरे २÷४ पैसो कमाइ हुन्छ।’

दुर्गा त कटुवाचौपारीकी प्रतिनिधि कृषक मात्र हुन्। कटुवाचौपारीका धेरै कृषक पानीमा भिज्दै भए पनि तरकारी बेच्न हरेक बिहान सदरमुकाम पुगेका हुन्छन्।काँक्रा, बोडी, सिमी, फर्सीको मुन्टा, घिरौँला, चिचिन्डालगायत तरकारी उनीहरूका डोकाभरि हुन्छन्। कटुवाचौपारीका धेरै तरकारी फलाउने कतिपय कृषकले सवारीमार्पmत सदरमुकाम कुस्मा र अन्य ठाउँमा पठाउने गरेको भए पनि थोरै थोरै तरकारी फलाएर डोकोमा बोकेर बजार लैजानेहरू धेरै छन्। 

कटुवाचौपारीकै अर्की कृषक सीता पराजुलीले हरेक दिन डोकोमा तरकारी बोकेर बजार लैजाने गरेको बताइन्। वर्षौँदेखि यही काम गर्दै जीविका धानिरहेकी उनलाई गरिखाने मान्छेलाई पानीले रोक्दैन भन्ने लाग्छ। 

वर्षा भएको छ भनेर पेटमा भोक नलाग्ने भए त आराम गर्न सुहाउने उनी बताउँछिन्। ‘बाहिर पानी प¥यो भनेर पेटमा भोक नलाग्ने भए त ठिकै हो। असिना परे पनि भोक त लाग्छ, अनि तरकारी नबेचेर घरमा आराम गरेर बस्ने कुरा त भएन नि,’ भनिन्, ‘वषौंदेखि यसरी नै तरकारी बेच्दै आएकी छु, हिँड्दा हिँड्दा पैताला चर्किन्छन्, नाम्लोले थाप्लो खियाएर कपाल झारेको छ। यसरी नै घर व्यवहार चलाइएको छु।’

कटुवाचौपारी र आसपासका ठाउँबाट एक बिहानमा कम्तीमा पनि ५० जना भन्दा बढी महिला कृषक डोकोमा तरकारी बोकेर सदरमुकाम छिर्ने गरेको सदरमुकाम छिर्ने पुलछेउमा व्यापार गर्दै आएका विष्णु अधिकारीले बताए। उनी आफैंले पनि तरकारी र दूध सदरमुकाम पठाउने गरेका छन्। 

तरकारी मात्रै होइन बजारमा आवश्यक पर्ने दूधको धेरै माग कटुवाचौपारीले नै धानेको छ। प्रायः महिला तरकारी बिक्रीमा व्यस्त भइरहँदा पुरुषहरू पनि दूध बोकेर बजारमा हिँडिरहेका भेटिन्छन्। गाउँबाट आएको दूधमा मिसावट नहुने भएकोले कृषकबाट सीधै दूध किन्ने गरेका बजारवासी बताउँछन्। 

सदरमुकाम कुस्मा बजारमा जिल्ला बाहिरबाट पनि तरकारी आयात हुन्छ। यो बेलामा त झन् कोरोना भाइरस जोखिमका कारण आयातित तरकारीभन्दा स्थानीय उत्पादन सुरक्षित हुने भएका कारण पनि डोकोमा बोकेर लगिएको तरकारीले राम्रै बजार पाएको छ।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.