गाउँकालाई पनि अन्यत्र जान निषेध

|

पाल्पा : स्याङ्जाको कालिगण्डकी गाउँपालिका –४ विर्घाको स्वामीबोट र गौतम टोलमा लकडाउनलाई थप कडाइ गरिने भएको छ। तीन टोलका युवा भेला भई लकडाउनलाई प्रभावकारी बनाउन समिति नै गठन गरेका छन्। 

स्वामीबोटमा बुद्धिराम विश्वकर्माको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको छ। जसको सदस्यमा गोविन्द विश्वकर्मा र कृष्णबहादुर विश्वकर्मा रहेका छन्। यस्तै गौतमटोलमा तुल्सीराम परियारको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरिएको छ। सदस्यहरूमा पदम परियार, कमल परियार, विष्णुमाया परियार, मनिश्वर परियार, तारा परियार र डोलराज परियार छन्। 

समितिले टोलमा कोही नयाँ मानिस प्रवेश गरे वा नगरेबारे दैनीक निगरानी गर्ने छ। कोही नयाँ मानिस टोलमा आइपुगे अनिवार्य क्‍वारेण्टाइनमा बस्नुपर्ने छ। यहाँ कसैको घरमा पाहुना आएपनि पनि अब सीधै क्‍वारेन्टाइन बस्नुपर्ने संयोजक विश्वकर्माले बताए। 

उनका अनुसार यहाँका स्थानीयसमेत अन्य कुनै पनि पालिका वा जिल्लामा पाहुना हुन जान पाउने छैनन्। लकडाउनभर यो मापदण्ड कडाइसाथ पालना गर्नुपर्ने छ।
यस्तै भारतबाट आई स्थानीय सरकारले निर्माण गरेको क्‍वारेन्टाइनमा बसेकाहरू पनि टोलमा आइसकेपछि थप १५ दिन सुरक्षित होम क्‍वारेन्टाइनमा बस्नुपर्ने छ।

टोलका कुनै पनि पसलमा सामाजिक दूरी कायम गरेर सामग्री बेचबिखन गर्नुपर्ने अर्का संयोजक तुल्सीराम परियारले बताए। उनका अनुसार टोलमा मादक पदार्थ बिक्री विरतणमा रोक लगाइएको छ। कसैले अटेर गरेको पाइए कानुनअनुसार कारबाहीको लागि नजिकको प्रहरी कार्यालयमा सिफारिस गरिने उनले बताए। टोलमा कुनै पनि भेला तथा खेलहरू खेल्नसमेत पाइने छैन। 

पछिल्लो समयमा भारतबाट टोलमा आउनेहरूको संख्या बढेपछि कोरोना भाइरस (कोभिड १९) रोकथामको लागि लकडाउनलाई कडाइ गर्नुपरेको समाजसेवी विष्णुप्रसाद पाण्डेले बताए। 

टोलका युवाले बनाएको मापदण्डलाई पालना गरी लकडाउनलाई प्रभावकारी बनाउन र कोरोना भाइरसबाट आफू बच्न अनि अरूलाई बचाउन दुर्गा प्राथमिक विद्यालयकी प्रधानाध्यापक हुमकला विश्वकर्माले सबैलाई अनुरोध गरिन्।  

कालीगण्डकी गाउँपालिकाले बाहिरी जिल्लाबाट आउनेलाई अनिवार्य क्‍वारेन्टाइन बस्नुपर्ने निर्णय गरिसकेको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.