|

पर्वत : पर्वत अस्पतालमा कार्यरत ५ जना स्वास्थ्यकर्मीहरूमा कोरोना सङ्क्रमण भएको पुष्टि भएपछि सदरमुकाम समेत रहेको कुश्मा बजारलाई सिल गरिएको छ।

पर्वत अस्पताल रहेको वडा नं. ५ बडागाउँ क्षेत्रसहित अस्पताल, माथिल्लो बजार जाने मुख्य सडकको  मेलमिलाप चोकसम्मको क्षेत्र र तल्लो क्षेत्रमा बडा गाउँ चौर क्षेत्र नजिकै रहेको चण्डीका सशस्त्र प्रहरी बलको गण रहेको क्षेत्र सिल गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक मनिष श्रेष्ठले थाहा खबरलाई बताए।

उनका अनुसार सिल गरिएको क्षेत्रमा प्रहरी तैनाथ गरेर सुरक्षा निकायका सवारी र एम्बुलेन्सलाई मात्र छिर्न दिइएको छ भने अन्य सबै प्रकारका सवारीसाधनहरू र पैदल यात्रीलाई पनि त्यस क्षेत्रमा जान निषेध गरिएको छ। 

बजारको तल्लो क्षेत्रमा कडाइका साथ निषेध गरिनुको साथै मेडिकल पसल बाहेक खाद्यान्नका पसलहरू समेत प्रहरीले बन्द गराउँदै हिँडिरहेको प्रहरी निरीक्षक श्रेष्ठको भनाई छ।

निषेध गरिएको क्षेत्रलाई कहिलेसम्म कायम राख्ने निधो नभएको भए पनि पर्वत अस्पताल र स्वास्थ्य कार्यालयमा कार्यरत कर्मचारीहरूको पिसिआर परीक्षणको नतिजा नआएसम्म अर्को निर्णय नहुने देखिएको छ। 

सङ्क्रमण पुष्टि भएका चिकित्सक तथा स्वास्थ्यकर्मीहरू अस्पताल र स्वास्थ्य कार्यालयमा कार्यरत अन्य कर्मचारीहरूसँगको सम्पर्कमा आएका कारण अन्य कर्मचारीहरूमा पनि सङ्क्रमण पुष्टि हुन सक्ने र कोरोना समुदाय स्तरमा फैलन सक्ने जोखिमका कारण सिल गर्नुपरेको हो। पठाइएका स्वाबहरूमा सङ्क्रमणको पुष्टि नभएमा भने बजार केही सहज हुन सक्नेछ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौँमा ७ जना स्वास्थ्यकर्मीहरूको स्वाब परीक्षणका लागि पठाइएकोमा तीमध्येका ५ जना २ चिकित्सक, १ नर्स, १ ल्याब असिस्टेन्ट र १ कार्यालय सहयोगीमा सङ्क्रमणको पुष्टि भएको थियो। सङ्क्रमणको पुष्टि भएका सबै जना पर्वत सदरमुकाम कुश्मा स्थित गुप्तेश्वर बहुमुखी क्याम्पसमा स्थापना गरिएको पर्वत कोरोना अस्पताल (अस्थायी) मा रहेका सङ्क्रमितहरुको उपचारमा संलग्न भएकाहरू हुन्।

गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता एवं स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डाक्टर बिनोदबिन्दु शर्माको निर्देशनमा सङ्क्रमित स्वास्थ्यकर्मीको सम्पर्कमा सम्पर्कमा आएका सबै स्वास्थ्यकर्मी र कर्मचारीहरूको स्वाब सङ्कलन गरी स्वास्थ्य निर्देशनालय पोखरामा पठाइएको छ। 

सँगसँगै उनीहरू सङ्क्रमितको उपचारपछि फर्किएर बसेको क्वारेनटाइन र पुगेका ठाउँ तथा उनीहरुको सम्पर्कमा आएका व्यक्तिहरूको खोजी गर्दै ट्राभल र कन्टयाक्ट हिस्ट्री पनि खोज्न थालिसकिएको छ।

कोरोना नियन्त्रण तथा रोकथाम गर्नका लागि जिल्लामा बनको कोरोना क्राइसिस म्यानेजमेन्ट कमिटी (सिसिएमसी) ले सङ्क्रमण पुष्टि भएका स्वास्थ्यकर्मीलाई आइसोलेसनमा कसरी राख्‍ने बारे पनि छलफल गरिरहेको छ। 

समितिका संयोजक प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले क्षेत्रीय स्वास्थ्य निर्देशनालयको टोली सहितको सल्लाहमा आवश्यक रणनीति तयार पारेर जोखिम नियन्त्रणमा लाग्ने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.