|

गुल्मी :  यो समय सुन्तला  कागती लगायत फलफूलका विरुवाहरु रोप्ने समय हो। वर्षायाम लागेसँगै विरुवाहरु रोपणका लागि उपयुक्त मानिन्छ तर गुल्मीका विरुवा नर्सरी धनीहरुले भने जिल्लाका विरुवाहरु खरिद नगरि अन्य जिल्लाबाट विरुवा ल्याएको भन्दै गुनासो गर्न थालेका छन्।

गुल्मी जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना,परियोजना कार्यान्वयन इकाई मार्फत सुन्तला जोन कार्यक्रम जिल्लाको धुर्कोट, मदाने कालीगण्डकी चन्द्रकोट, गुल्मीदरवार, छत्रकोट  गाउँपालिका , मुसिकोट  र रेसुंगा नगरपालिकामा सुन्तला जोन कार्यक्रमको पकेट क्षेत्र घोषणा भइसकेको छ।

सदरमुकाम तम्घासमा लामो समयदेखि फलफूल लगायत विरुवा नर्सरी गर्दै आएका विरबहादुर कार्कीले जिल्लाका नर्सरीमा उत्पादित फलफूलका विरुवा कार्यालयले नलिई अन्य जिल्लाबाट ल्याएको  गुनासो गरे।

उनको नर्सरीमा अहिले  सुन्तलाका विरुवा ३० हजार , कागतीका १२ हजार ,अनारका २ हजार लगायत  मौसम, टिमुर, किबी, चियापत्ती, कफीका विरुवा रहेका छन्।

कार्कीले २०६४ सालमा घाँसका विरुवा उत्पादन गरेर कृषि पेसा अंगाले र कृषि क्षेत्रलाई व्यवसायीक रुपमै अगाडी बढाउने उदेश्यले विभिन्न जातका विरुवाहरु नर्सरीबाट उत्पादन गर्दै आएका हुन्। ५ रोपनी भन्दा बढी जग्गामा  विरुवा उत्पादन गर्दै आएका कार्कीको नर्सरीमा विक्री गर्न मिल्ने खालका करिब ५० हजार भन्दा बढी विरुवा तयार भएको र उक्त विरुवा विक्री गर्न समस्या रहेको बताए।

राजनीतिसँगै कृषि पेशालाई अगाडी बढाउन विरुवाको नर्सरी स्थापना गरेका कार्की हाल नेकपा गुल्मीका सचिब पनि हुन्। नर्सरीलाई धेरै संख्यामा उत्पादन गर्ने सोच रहेपनि बजारको समस्याका कारण अन्योलमा परेको उनले दुखेसो पोखे। यो संगै जिल्लाको कालीगण्डकी गाउँपालिका-२ अर्बेनीमा पनि सुन्तला कागतीको नर्सरी छ। अर्बेनीमा कोशप्रसाद न्यौपानेले विगतका वर्षहरुमा सुन्तला कागतीका ५ हजार भन्दा बढी विरुवा विक्री वितरण गर्दै आएका थिए। उनको नर्सरीमा पनि सबै विजु विरुवा उत्पादन हुन्छन्।

जिल्लामा १६ हजार विरुवाको माग

गुल्मी जिल्लामा  अहिले १६ हजार सुन्तला तथा कागतीका विरुवाको माग रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कार्यन्वयन इकाई गुल्मीका प्रमुख नारायण काफ्लेले जानकारी दिए। उनले जिल्लामा माग भएका सबै विरुवा विजु नभई कलमी भएको बताए। 

गुल्मी जिल्लामा रहेका सबै नर्सरीहरुमा विजु विरुवा रहेको र कृषकको मागमा कलमी विरुवा भएको काफ्लेले बताए। उनले कृषकको मागमा कलमी भएकाले माग विपरीत आफूहरु जान नसक्ने दाबी गरे।

छिटो उत्पादन दिने भएकाले कलमी विरुवाको माग

कलमी विरुवाले छिटो उत्पादन दिने भएकाले कृषकको माग कलमी विरुवामा भएको कार्यलयले जनाएको छ।

कलमी विरुवाले माटो र मल सहजै लिन सक्ने , छिटो  उत्पादन दिने  र रोग प्रतिरोधात्मक भएकाले विजु विरुवामा भन्दा कलमी विरुवामा नै कृषकको माग बढी भएको कार्यलयले जनाएको हो। अब लगाउने विरुवामा विजु भन्दा कलमीनै लगाउन उपयुक्त हुने काफ्लेले सुझाब दिए।

१४ हजार कलमी विरुवा जिल्लामा भित्रिदै

गुल्मीका कृषकहरुको कलमी विरुवामा बढी माग भएपछि १४ हजार कलमी विरुवा अन्य जिल्लाबाट गुल्मी ल्याइने भएको छ। राष्ट्रिय फलफूल विकास केन्द्रले तोकेका विभिन्न जिल्ला पाल्पा, काठमाडौं र काभ्रेबाट १४ हजार  कागती सुन्तलाका कलमी विरुवा जिल्लामा ल्याइने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वय इकाई गुल्मीका वरिष्ठ कृषि विकास अधिकृत नारायण काफ्लेले जानकारी दिए।

आगामी वर्षदेखि जिल्लामै उत्पादन गरिने

अहिले जिल्लामा कलमी विरुवा नभएकाले अन्य जिल्लाहरुबाट ल्याइएको कार्यालयले जनाएको छ। आगामी वर्षदेखि जिल्लामै  कलमी विरुवाको नर्सरी गरिने काफ्लेले जानकारी दिए। जसका लागि कृषक समूह र सहकारीहरुको माध्यमबाट नर्सरी गरि जिल्लामा आवश्यक पर्ने विरुवा उत्पादन गरिने उनले दाबी गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.