आइसोलेसनबाट घर जानेको संख्या ३ सय ७२ पुग्यो

|

रौतहट : नेपालमै सबैभन्दा बढी कोरोना संक्रमित भेटिएका रौतहटमा केही दिनयता क्‍वारेन्टाइनमा बस्नेको संख्या ह्वात्तै घटेको छ। कुनै समय ८ हजारभन्दा बढी नागरिक क्‍वारेन्टाइनमा बस्दै आएका थिए। अहिले भने १ हजार ९ सय १६ जना मात्र रहेका जिल्ला प्रशासन कार्यालयको तथ्यांकले जनाएको छ। तथ्यांकअनुसार शनिबारसम्म क्‍वारेन्टाइनबाट ९ हजार २ सय ८६ जना घर फिर्ता गइसकेका छन्। 

एक साता अघिसम्म भारतबाट घर फर्कनेहरू सीमामा लर्को लागेका हुन्थे। तर अहिले त्यस्तो अवस्था छैन। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक रविराज खड्काका अनुसार पछिल्लो एक सातामा एक जना पनि भारतबाट आएका छैनन्। 

भारतबाट आएकालाई स्थानीय तहको समन्वयमा प्रशासनले सोझै क्‍वारेन्टाइनमा राख्ने व्यवस्था गरेको छ। संक्रमण बढ्न थालेपछि नेपाल–भारत दुवै देशले सीमा सिल गरेको थियो। भारतमा लकडाउन खुला गरिएसँगै नेपालीहरु धमाधम घर फर्केका थिए। अहिले उनीहरुमै संक्रमण बढी देखिएको छ। 

यता कोरोनो जितेर घर फर्कनको संख्या पनि रौतहटमा बढेको छ। शनिबारसम्म रौतहटका विभिन्न  आइसोलेसनबाट घर फर्कनको संख्या ३ सय ७२ पुगेको जिल्ला अस्पताल गौरका मेसु डा.कृष्ण साहले जानकारी दिएका छन्। 

शनिबार मात्रै ४० जना गौर नर्सिङ इन्स्टिच्युटकाे आइसोलेसनबाट घर फर्किएका डा. साहले जानकारी दिए। उनीहरूलाई २ हप्ता होम क्‍वारेन्टाइनमा बस्नेगरी घर पठाइएको डा. साहले बताए। रौतहटमा हालसम्म १ हजार ९४ जना कोरोना संक्रमित भेटिएका छन्। 

८ हजार २ सय ९ जनाको स्वाब परीक्षण गर्न पठाइएकोमा ५ हजार ६ सय ८१ जनाको मात्रै रिपोर्ट  आएको छ भने १ हजार ४ सय ३४ जनाको आउन बाँकी रहेको डा. साहले जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.