|

पाल्पा : जिल्लाको रिब्दीकोट गाउँपालिका-८ ज्यामिरेका ८२ वर्षीय प्रेमबहादुर खड्का प्रायः मास्क प्रयोग गर्दैनन्। कहिलेकाँही मुख सुक्खा भने मात्र लगाउँछन्।

घरभन्दा केही पर फेकमा आयोजित एक कार्यक्रममा पुगेका उनले पुरानो कपडाको मास्क लगाएका थिए। तर कोरोना भाइरस (कोभिड-१९) बाट सुरक्षित हुनका लागि उनले लागि मास्क लगाएका होइनन्। ‘मलाई कोरोनाको बारेमा केही थाहा छैन्,’ उनी भन्छन्‌, ‘जतिबेला पनि लगाउँदिन, मुख सुक्दा मात्र लगाउने गर्छु।’ कोराना भाइरसबाट बच्न मास्क लगाउनुपर्छ भन्नेबारे आफूलाई कसैले नभनेको खड्काले सुनाए।

रिब्दीकोटकै धरादीका ७० वर्षीय जंगबहादुर कँवरले अहिलेसम्म मास्क लगाएका छैनन्। मास्क लगाउँदा कोरोना लाग्नबाट बाँचिन्छ भन्नेमा उनी विश्वास नै गर्दैनन्। ‘मास्कले धुलो छेक्छ, तर रोग छेक्दैन।’ उनी भन्छन्, 'मास्क लगाएर कोरोना नसर्ने भए अमेरिका र भारतजस्ता देशमा किन मान्छे मरे त? हामी भन्दा धनी मानिस छन् त्यहाँ, कति मास्क लगाए होलान्?'

तर सामाजिक तथा भौतिक दुरी कायम राख्नुपर्ने उनी बताउँछन्। मान्छे एकआपसमा टाढा भएर बस्ने हो भने कुनै पनि रोग नसर्ने कँवरको बुझाई छ। मास्क नै प्रयोग गर्ने हो भने निश्चित अवधिमा फेरिरहनु पर्ने, तर गाउँमा त्यो सम्भव नभएको उनी बताउँछन्‌।

फेकका ६० वर्षीय रेवन्त बगालेले पनि महामारीबारे सुनेका छन्‌, तर मास्क लगाएका छैनन्‌। कोरोनाबारे केही सुनेका उनले भने, 'व्यक्ति चनाखो भए रोग लाग्नबाट बाँच्न सकिन्छ, पहिले-पहिले पनि हैजाजस्ता महामारीले मान्छेको मृत्यु हुन्थ्यो, सचेत भएकै कारण व्यक्ति र परिवारहरू जोगिएका हुन्‌।’ 

अहिले विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरस संक्रमण हुन नदिन व्यक्ति नै सचेत हुनुपर्नेमा उनी जोड दिन्छन्। खानेकुरामा ख्याल गर्ने, सरसफाईमा ध्यान दिने र सबै एकै ठाउँ भेला हुन छाडे बच्न सकिने उनले बताए।

प्रायः ग्रामिण भेगमा बस्ने अधिकांश वृद्धवृद्धाले मास्क लगाउँदैनन्। सरकारले भने वृद्धवृद्धा र बालबालिकालाई कोरोना संक्रमण जोखिम बढी भएकोले ख्याल गर्न अनुरोध गरेको छ। घरबाट बाहिर ननिस्कन भनेको छ। निस्कनै परे मास्क र सेनिटाइजरको प्रयोग गर्न उर्दी जारी गरेको छ। 

तर ग्रामिण क्षेत्रका नागरिकलाई सचेत बनाउनेगरी अहिलेसम्म प्रभावकारी अभियान चलाइएको छैन। गाउँघरमा नपाइने भएकाले युवाले समेत मास्क प्रयोग गरेको भेटिँदैन। एउटै मास्क धेरै दिन लगाउनुपर्ने बाध्यता रहेको स्थानीय युवा मोहन कँवरले बताए।

‘एउटै मास्क कति दिन लगाउने हो? समय-समयमा फेर्नुपर्ने पनि भन्छन्‌, तर नयाँ मास्क कहाँ गएर किन्ने?' उनले भने, 'मास्कको महत्वबारे जानकारी गराउने तथा सहज र सुपथ मूल्यमा खरिद गर्न सक्ने वातावरण निर्माण गर्नतर्फ  सरोकारवाला निकायको ध्यान जानुपर्छ र संकमण फैलन नदिन सामाजिक र भौतिक दुरी कायम राख्न थप कडाई गर्नुपर्छ।'

कोरोना भाइरस, यसले पार्ने असर र यसबाट बाँच्ने उपायबारेमा प्रभावकारी कार्यक्रम संचालन नहुँदा वृद्धवृद्धाले मास्क नलगाएको जनप्रिय माध्यमिक विद्यालय ,तानसेनका सहायक प्रधानाध्यापक तीर्थप्रसाद गौतमले बताए।

'व्यक्ति सचेत र सुरक्षित भएमा कोरोना लाग्नबाट बच्न सकिन्छ, तर बजार या ग्रामिण भेगका अधिकांश वृद्धवृद्धाले मास्क लगाउँदैनन्,’ उनले भने, ‘बालबालिका, उनीहरूका अभिभावक र वृद्धवृद्धालाई घरघरमा पुगेर सचेत गराउन आवश्यक छ।’ प्रवास र अन्य जिल्लाबाट आएका युवालाई घरमा बसेका वृद्धवृद्धाको नजिक नजान उनले आग्रह गरे। वृद्धवृद्धाको लागि समय बिताउने छुट्टै विश्रामस्थल बनाउन सके अझै राम्रो हुने गौतम सुझाउँछन्‌।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.