स्थानीय प्रशासनले निकाल्यो सूचना

|

संखुवासभा : सङ्खुवासभाको मकालु गाउँपालिका २ र ५ नम्बर वडा जोड्ने अरुण नदीमा पहिरो खस्दा आंशिक रुपमा थुनिएको छ । आइतबार विहान साढे ९ बजे गएको पहिरोले एक परिवारलाई सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालयका सङ्खुवासभाका प्रमुख डिएसपी नवराज मल्लले बताए। 

पहिरोबाट प्रकाश राईको परिवारका ७ जना विस्थापित भएको डिएसपी मल्लले बताए। लगातारको बर्षाले ५ सय मिटरमाथि बाट पहिरो खसेको  छ। माथिबाट झरेको पहिरोले अरुण नदी थुनिँदा करिब ३ सय मिटर पानी जमेर ड्याम बनेको छ।

पहिरोले जोखिम परेका  हिरा लाल राईको घर र बिर्खबहादुर राईको गोठ प्रहरीले खाली गरेको डिएसपी मल्लले बताउनु भयो । घटना स्थलमा अहिले अरुण तेस्रोको ड्याम साइड बाट नेपाली र नुन प्रहरी चौकी बाट टाली घटना  स्थल पुगिसकेको उनले बताए। घटनाको थप विवरण आइनसकेको उनले बताए। 

तटीय क्षेत्रमा नजान आग्रह

आइतवार बिहान खसेको पहिरोले अरुण नदी थुनिएपछि तटीय क्षेत्रमा नजान आग्रह गरिएको छ। स्थानीय प्रशासनले सार्वजनिक सूचना निकालेर यस्तो आग्रह गरेका हुन्। 

आइतवार बिहान संखुवासभाको मकालु गाउँपालिका वडा नम्बर २ र ५ को बीचमा पर्ने कास्वा र अरुण नदी मिसिने ओयाङस्थित दोभानमा पहिरो खसेर थुनिएपछि संखुवासभा, भोजपुर र धनकुटाका स्थानीय प्रशासनले तटीय क्षेत्रमा सतर्कता अपनाउन भनेका हुन्।

जिल्ला प्रशासन कार्यालय धनकुटाले आइतवार एक सूचना जारी गर्दै पाख्रीबास नगरपालिका, सहिदभूमि गाउँपालिका र साँगुरीगढी गाउँपालिकाका बासिन्दालाई अरुण नदीको तटीय क्षेत्रमा नजान आग्रह गरेको हो।

'पहिरो गई अरुण नदीको केही भाग थुनिन गएको जानकारी आएकाले अरुणको तटीय क्षेत्रमा बस्‍ने बासिन्दाहरु नदी किनारमा नजानु, अहिलेलाई पौडी खेल्ने र माछा मार्ने जस्ता सबै काम नगर्नू', प्रशासनले भनेको छ, 'अरुणमा पानी बढेर आउन सक्ने भएकाले उच्च सतर्कता अपनाउनू।'

अरुण थुनाएकोभन्दा तलको भागमा संखुवासभाको खाँदबारी नगरपालिकासहितका स्थान पर्छन्। अर्कातिर भोजपुरका षडानन्द नगरपालिका, साल्पा-सिलिचोङ गाउँपालिका, अरुण गाउँपालिका, पौवादुङमा गाउँपालिका, हतुवागढी गाउँपालिका पनि पर्छन्। 

सुरक्षाकर्मी पुगे

पहिरोले नदी थुनिएको स्थानमा अहिले नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली पुगेको छ। विकट स्थानमा थुनिएकाले प्राकृतिक रुपमै नदी खोलिनुको विकल्प नरहेको स्थानीय प्रशासनले जनाएको छ।

नदी थुनिएर अहिले करिब ३ सय मिटरसम्म जमिसकेको छ। लगातारको वर्षातले पानीको बहाव बढेकाले जोखिम उच्च रहेको सङ्खुवासभाका डिएसपी नवराज मल्लले बताए। त्यहीकारण तटीय क्षेत्रमा सतर्क रहन भनिएको उनले बताएका छन्। 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.