|

पछिल्ला दिनमा विभिन्‍न संचार माध्यम तथा उपभोक्तामार्फत खाद्य पदार्थको गुणस्तर सम्बन्धमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयमा गुनासो आउने क्रम बढेको छl लकडाउनको समयमा केही पालिकाहरुले वितरण गरेको राहत सामग्री चामल, चिउरा, दाल लगायतमा कीरा-ढुसी परेको, सडेको, कुहिएको भन्ने गुनासो पनि आए। त्यस्तै, प्लाष्टिकको चामल, भातको डल्लो बनाउँदा बल जस्तो उफ्रने र जलाउँदा प्लाष्टिक जस्तो गन्हाउने, जस्ता गुनासा समेत आए। यस्ता गुनासा र उजुर आउने मात्र होइन सो सम्बन्धी समाचार माध्यम र केही सामाजिक संजालमा भाइरल भए।

गुनासोको सेरोफेरो

 उपभोक्ताबाट उठान भएका यस्ता गुनासा अनुसन्धान गर्दा निष्कर्ष के पाइयो त? नेपाल सरकारले चामलको लागि के कस्तो मापदण्ड तोकेको छ? तोकिएको मापदण्ड पूरा नगर्ने उत्पादन तथा वितरक उपर कस्तो कानूनी कारवाहीको व्यवस्था रहेको छ?

 समयको विकासक्रमसँगै खाद्य पदार्थ प्रशोधन गर्ने प्रविधिमा समेत धेरै नै विकास भइसकेको छl उदाहरणको लागि धानबाट चामल बनाउँदा परम्परागत ढिकी हुँदै हलर मिलको विकासलाई लिन सकिन्छ। हलर मिलले एकै पटकमा धानबाट चामल र भुस छुट्याउँछ। हाल हलर मिल विस्थापित भई सेलर मिल प्रचलनमा आएका छन्।

सेलर मिलबाट चामल बनाउँदा पहिले भुस हटाउने, त्यस पछि विभिन्‍न चरणमा ब्रानलाई खुर्केर भित्री गेडालाई पोलिस् गर्ने गरिन्छ। यहाँ “पोलिस्” भन्नाले रंग लाउने चाहिँ होइन। धानबाट भुस मात्र हटाएर आएको चामल  गेडाको बाहिरी आवरण ताछेर वा खुर्केर सुकिलो बनाउने कामलाई पोलिस् गर्ने भनिन्छ। यस प्रविधिले चामललाई सुकिलो र आकर्षक बनाउनुका साथै सग्लो चामलको प्राप्ति (यिल्ड) पनि बढी दिन्छ।

सेलर प्रविधिले चामलमा रहेका केही महत्वपूर्ण पौष्टिक तत्वहरु खुर्केर ब्रानसँगै हटाउने भएकोले यसलाई पौष्टिकताका दृष्टिले कमजोरीका रुपमा लिन सकिन्छ। त्यस्तै, उसिना चामल प्रविधि (पार्बोइलिङ्ग) र स्टिम चामल प्रविधि चामल प्रशोधनमा बिकास भएका नयाँ आयामहरू हुन् l

पार्बोइलिङ र स्टिमिङ प्रविधिको प्रयोगले भने चामलमा रहेका पोषक तत्त्वलाई स्थिर राख्ने र चामलको उपभोग्य अवधि लामो बनाउन समेत सहयोग गर्दछन्l पार्बोइलिङ्ग तथा स्टिमिङ्ग प्रविधिबाट उत्पादित चामल आम उपभोक्ताको नजरमा कम स्वादिलो मानिन्छ।

प्रविधिले प्लाष्टिकबाट चामल बनाउन सकेको भए त्यो विश्वको उत्कृष्ट आविष्कार ठहरिने थियो। यस आविष्कारले विश्वको खाद्य सुरक्षामा आइपर्ने चुनौतीलाई सहजै टेवा पुर्याउन पनि सक्ने थियो तर, सो हालसम्म सम्भव भएको छैन।

विश्वव्यापी रुपमा प्रचलनमा आएका यी आधुनिक प्रविधि हाम्रो देश नेपालका साथै मित्र राष्ट्र भारत र बंगलादेशमा समेत अनुशरण गरिएको देखिन्छl

कतै नबनेको चामल नेपालमा

  केही संचारमाध्याममा प्लाष्टिकको चामल, चिउरा एवं सोही प्रकृतिका अन्य खाद्य पदार्थ बजारमा रहेको भन्ने खबरहरु आइरहेकाले सर्वसाधारण उपभोक्ता सशंकित हुनु स्वाभाविक नै होl

प्रविधिले प्लाष्टिकबाट चामल बनाउन सकेको भए त्यो विश्वको उत्कृष्ट आविष्कार ठहरिने थियो। यस आविष्कारले विश्वको खाद्य सुरक्षामा आइपर्ने चुनौतीलाई सहजै टेवा पुर्याउन पनि सक्ने थियो तर, सो हालसम्म सम्भव भएको छैन।

हामी धेरैजसो उपभोक्ता कृषि पृष्ठभूमिबाट आएका हुनाले हलर विधिबाट भर्खरै कुटेको ताजा चामलको भात वा चिउरा खान बानी परेका छौं। चामल तयार गरी भण्डारण गरेर लामो समयसम्म राख्दा एजिङ् भएर जुन टेक्चर र स्वाद पहिला थियो, सो परिवर्तन हुदै जान्छl

पाकेको भात बिस्तारै डल्ला बनाउँदा डल्ला पर्ने र उफार्दा उफ्रने गुण सोही स्टार्च भएको कारणले होl तसर्थ, भातमा स्टार्च हुनु, यसको डल्लो बन्नु र उफार्दा उफ्रनु यसको स्वाभाविक चरित्र होl  स्टार्च भनेको कार्बोहाइड्रेट हो, जसले हाम्रो शरीरमा शक्ति प्रदान गर्दछl ढुक्क भए हुन्छ प्लाष्टिकको चामल अहिलेसम्म कतै बनिएको छैन । कतै नबनेको चामल नेपालमा आउने कुरै भएन।

प्लाष्टिक चामल नै आएछ भने !

एकछिनका लागि मानौं कि कसैले प्लास्टिकको चामल बनाएर बजारमा पठाएछ। सर्वसाधारणले यसलाई कसरी छुट्याउने त? यो जिज्ञासा सबै उपभोक्तामा हुनसक्छ l मूल्यको कुरा गर्ने हो भने चामलभन्दा प्लास्टिकको दाना महँगो हुन्छl प्लास्टिकको दाना त पानीमा राख्दा तैरिन्छ। यसलाई पानीमा पखाल्दा चौलानी आउँदैन यसलाई पानीमा उमाल्दा सबै एकै ठाउँमा डल्ला पर्छ। यसको भात बन्दैन l प्लाष्टिकको चामल हाम्रो पाचन प्रणालीले पचाउन सक्दैनl

जहाँसम्म भातको डल्ला बल जस्तै उफ्रने गुनासो छ, यो चामलको स्वाभाविक गुण होl  हामी सानो हुँदा भातको माड काडेर वा गहुँको पिठो पानीमा पकाई गम बनाएर सरस्वती पूजा वा त्यस्तै अन्य अवसरमा रंगिन कागत टाँस्न प्रयोग गर्दथ्यौँ l त्यो टाँसिने गुण स्टार्चले गर्दा होl चामलको रासायनिक संरचना हेर्ने हो भने स्टार्च एक महत्वपूर्ण अंश होl

यसलाई जाँच्ने सजिलो रसायनिक विधि पनि छl यसको दानालाई पिसेर टिन्चर आयोडिनको एक थोपा हाल्दा त्यसको रङ्ग परिवर्तन हुँदैन यदि हामीले खाने चामलको दाना वा भातलाई पिसेर एक थोपा टिन्चर आयोडिन राख्दा निलो वा कालो रङ्ग देखिन्छ भने त्यो स्टार्च होl त्यो कार्बोहाइड्रेट हो l त्यो त खेतबारीमा फलेको धानको चामल हो l

नेपाल सरकारले विभिन्‍न मितिमा हालसम्म १ सय २२ खाद्य पदार्थका लागि राजपत्रमा सूचना प्रकाशन गरी मापदण्ड तोकेको छl खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग तथा यस कार्यालयले उपरोक्त मापदण्डलाई आधार मानी खाद्य पदार्थको गुणस्तर परीक्षण गर्ने गर्दछl

गुणस्तरका कुरा

बाली कटानीपछि गरिने विभिन्न कर्महरुले चामलको गुणस्तरमा असर पर्दछ।  बाली भित्र्याउने क्रममा धान भिजेमा हकुवा हुन जान्छl यस्तो धान कुटानी गर्दा कनिका र क्षतिग्रस्त दाना बढी हुने र सिंगो  चामलको प्राप्ति (यिल्ड) भने कम हुन जान्छl हकुवा धानबाट बनेको चामलमा तापले क्षति पुर्याएको दाना, क्षतिग्रस्त दाना, सेतो तथा रातो दानाको मात्रा बढ्न जान्छl बाली भित्राउँदा खलो-खमार सफा नभएमा वा कुटानी पिसानी गर्ने मिलमा धान सफा गर्ने प्रविधि कमजोर भएमा बाह्य पदार्थको मात्रा बढी हुन्छ।

चामलको गुणस्तर कस्तो हुनुपर्छ भन्ने सम्बन्धमा नेपाल सरकारले (नेपाल राजपत्र, भाग ५, खण्ड ६०, संख्या २६) मिति २०६७/०६/२५ गते सूचना प्रकाशन गरेको छ । जस अनुसार-“चामल” भन्नाले पूर्ण रुपले विकसित ओराइजा सेटिभा जातका धानबाट कुटानी गरी निस्केको सग्लो गेडालाई सम्झनु पर्छ। यो सुख्खा, सफा र सग्लो भई रंगमा एकरुपता भएको, ढुसी, कीरा नलागेको, कृत्रिम रंग तथा हानिकारक पदार्थ रहित भई देहायका गुणस्तर परिधि अनुरुपको हुनु पर्दछ: १. जलांश बढीमा १५ प्रतिशत २. कुल बाह्य पदार्थ बढीमा ०.७ प्रतिशत ३. तापले क्षति पुर्याएको दाना बढीमा ३ प्रतिशत ४. क्षतिग्रस्त दाना बढीमा ३ प्रतिशत, ५. अविकसित दाना बढीमा २ प्रतिशत, ६. सेतो दाना बढीमा ७ प्रतिशत, ८. रातो चामल बढीमा ४ प्रतिशत, ९. रातो धर्सो भएको चामल बढीमा ८ प्रतिशत, १०. टुक्रेको चामल (कनिका) बढीमा २५ प्रतिशत, आदि

धान कुटानी पश्चात तयार भएको चामल सुख्खा ठाउँमा भण्डारण गर्नु पर्दछ। ओसिलो ठाउँमा भण्डारण गरिएमा चामलमा जलांशको मात्रा बढ्न जान्छl जलांशको मात्रा १६ प्रतिशत वा सोभन्दा बढी भएमा चामल कमलो हुँदै जान्छ । त्यसो भएमा विभिन्न जातका घुन र पुतलीले चामलको गेडामा प्वाल पार्ने सम्भावना बढ्दछl यसरी क्रमश घुन र पुतलीको संक्रमण बढ्दै जाँदा क्षतिग्रस्त दानाको मात्रा पनि बढ्ने गर्दछl जलांश अझै बढेर करिब १८ प्रतिशत वा सोभन्दा बढी भएमा वा भण्डारण अवधि लामो भएमा चामलमा ढुसी पर्न सक्छl

उत्पादक तथा वितरकले जानेर वा नजानेर चामलको गुणस्तर खराब भएको हुन सक्छl चामलमा बाह्य पदार्थ, कनिका र क्षतिग्रस्त दाना बढी हुनु जस्ता समस्या उत्पादकहरुले जानी जानी गरेका मिसावट भित्र पर्दछन्l चामलमा जलांश बढी हुनु, तापले क्षति पुर्याएको दाना बढी हुनु, घुन पुतलीको संक्रमण हुनु, ढुसी पर्नु, आदि हेलचेक्रयाइँ वा अन्जानमा भएका गुणस्तर सम्बन्धी समस्याका रुपमा लिन सकिन्छ। परिस्थिति जुनसुकै भएपनि नेपाल सरकारले तोकेको मापदण्ड प्रतिकुल हुनेगरी कसैले खाद्य पदार्थको उत्पादन, संचय र बिक्रीवितरण गर्नु कानूनको नजरमा क्षम्य हुँदैन।

सजाय र जरिवाना

नेपाल सरकारले तोकेको मापदण्ड प्रतिकुल हुनेगरी कसैले चामल लगायतका खाद्य पदार्थको उत्पादन, संचय र विक्री वितरण गरेको पाइएमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले खाद्य ऐन २०२३ अनुसारको कानूनी कारबाही अगाडि बढाउँछ।​

उत्पादक तथा बिक्रेता उपर सम्बन्धित जिल्ला अदालतमा मुद्दा दायर गरिन्छ। यस प्रकृतिका मुद्दामा प्रतिवादी उपर बढीमा ५० हजारसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने कानूनी व्यवस्था रहेको छl

निष्कर्षमा भन्नु पर्दा, धान-चामल कुटानी प्रविधिमा आएको परिवर्तनले चामलको स्वाद परिवर्तन हुने गरेको छl कुटानीपछि तयार भएको राम्रो र गुणस्तरीय चामलको भण्डारण ठीक तरिकाले नभएमा वा भण्डारण अवधि लामो भएमा त्यसको ताजा र मिठो स्वाद फेरिन्छ।

अहिलेसम्म यसैको आधारमा प्लाष्टिकको चामल भनी उपभोक्ता सशंकित भएको अवस्था देखिन्छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले विभिन्‍न समयमा नमूना संकलन गरी परीक्षण गर्दा प्लाष्टिकको चामल, चिउरा पाइयो भन्नु तथ्यहीन र भ्रम वा हल्ला मात्र भएको पुष्टि भएको छ।   

लेखक  खाद्य प्रविधि विज्ञ हाल खाद्य प्रविधि गुण नियन्त्रण कार्यालय, भैरहवाका  प्रमुख हुन्।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.