|

सुर्खेत :  कर्णाली प्रदेश अस्पतालका पाँच जना स्वास्थ्यकर्मीमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण भेटिएको छ। 

प्रदेश अस्पतालको ल्याब र एक्सरे विभागमा कार्यरत कर्मचारीलाई कोरोनाको संक्रमण देखीएको हो। प्रदेश अस्पतालका कोरोना फोकल पर्सन डा.केएन पौडेलकाअनुसार प्रदेश अस्पतालको ल्यावमा कार्यरत ल्याव असिष्टेन्टसहित चार जना  र एकजना एक्सरेमा कार्यरत कर्मचारीलाई कोरोना संक्रमण देखिएको छ।  

गत जेठ ३१ र ३२ गते  देखि असार ३ गतेसम्म प्रदेश अस्पतालको आकस्मिक कक्षमा  उपचार गराइरहेका ३ जना बिरामीमा कोरोना पोजेटिभ देखिए पछि उनिहरुको सम्पर्कमा आएका स्वास्थ्यकर्मी तथा कर्मचारीसहितका ४५ जनालाई क्वारेन्टाइनमा राखिएको थियो।  जसमध्येका ५ जनालाई कोरोना संक्रमण देखीएको हो। क्वारेन्टाईनमा रहेका सबै ४५ जनाको स्वाव परिक्षण गरिएको थियो। ‘कोरोना संक्रमण देखीएका ५ जनालाई आईसोलेशनमा राखिएको छ, भने बाँकी नेगेटीभ रिपोर्ट आएकाहरुलाई भने सोमबार देखी नै काममा खटिदैछन’ डा. पौडेलले भने।

उनकाअनुसार स्वास्थ्यकर्मीको अभाव झेलीरहेको प्रदेश अस्पतालमा स्वास्थ्यकर्मी नै आईसोलेशन र क्वारेन्टाईनमा बस्नु परे पछि अस्पतालका सेवा प्रभावित भएका छन्।  ‘खास गरी दैलेखबाट आएका अन्य सामान्य विरामीलाई परिक्षण गर्दा कोरोनाको संक्रमण देखीन थालेको छ’, उनले भने, ‘दैलेखको दुल्लु र नारायण नगरपालिका लगायतका ठाँउबाट आउने सामान्य बिरामीलाई पनि कोरोना संक्रमण देखिन थालेको छ।’

‘यो दैनिक जसो नै हुन थालेको छ , समस्या झन जटिल बन्ने तिर गईरहेको छ’, उनले भने ‘यो अवस्था  हेर्दा दैलेखमा समुदाय स्तरमा नै संक्रमण फैलिसकेको भन्न सकिन्छ।’ सामान्य बिरामी भएर प्रदेश अस्पतालमा आएका बिरामीहरुमा पनि कोरोना पोजेटिभ देखिन थाले पछि अस्पतालको सेवा अवरुद्ध हुने सम्भावना देखिएको छ। 

गत शनिवार मात्रै नारायण नगरपालिका दैलेखबाट आएका तिन जना बिरामीमा पनि कोरोना पोजेटिभ देखीएको छ। उनीहरु ६ बर्षिय बालकको पेटको अप्रेशन गर्न आएका थिए। अप्रेशन गरिसकेपछि बालक सहित २ जना अविभावकको पीसीआर परिक्षण गर्दा आईतवार कोरोना पोजेटिभ देखिएको थियो। उनको उपचारमा २ जना विषशज्ञ चिकित्सक र केही स्वास्थ्य कर्मीहरु संलग्न भएका थिए।  अहिले डाक्टर सहित स्वास्थ्यकर्मीहरु क्वारेन्टाईनमा बसेका छन्। डा. पौडेलका अनुसार सामान्य बिरामीमा पनि कोरोना पोजेटिभ देखिन थालेपछि अस्पतालमा समस्या हुन थालेको छ। 

यसअघि पनि सुर्खेतकै चिङ्गाड गाँउपालिका दुईजना स्वाथ्यकर्मीमा पनि कोरोना पोजेटिभ देखीएको थियो।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.