|

काठमाडौं : संसदीय समितिले नागरिकता ऐन संसोधन विधेयक अघि बढाएसँगै संसदमा प्रतिनिधित्व गर्ने दलहरु विभाजित भएका छन। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले विदेशी बुहारीलाई बिहे गरेको सात वर्षपछि मात्रै अंगीकृत नागरिकता दिन सकिने निर्णय गरेसँगै विशेषगरी प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस र जनता समाजवादी यसको विरोधमा उत्रिएका छन्।  

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि र केन्द्रीय सदस्य धनराज गुरुङबीच पनि फरक मत देखिएको छ। धनराज नेकपाले भनेजस्तै तत्कालै अंगीकृत नागरिकता दिन नहुने पक्षमा खुल्ला उत्रिएका छन। तर, उपसभापति निधि भने अंगीकृत नागरिकताको अधिकार खोस्ने कानुन सामाजिक, सांस्कृतिक, राजनीतिक र संवैधानिक व्यवस्था विपरित भएको बताउँछन्। 

निधिले फेसबुकमा लेखेर पनि नेकपाको ७ वर्षे प्रावधानको प्रस्तावको विरोध जनाएका छन्। उनले लेखेका छन्, ‘वर्षौँदेखि कानूनसम्मत ढंगले पाइरहेको वैवाहिक अंगीकृत नागरिकताको अधिकार खोस्ने कानुन सामाजिक, सांस्कृतिक, राजनीतिक र संवैधानिक व्यवस्थाको विपरित नै हो।’ 

उनले सत्तारुढ दल नेकपाको यो कदम प्रतिगामी  र राष्ट्रहित विपरित भएको भन्दै स्वीकार गर्न नसक्ने पनि बताएका छन। ‘नेकपा सरकारको यो कदम प्रतिगामी हो, अन्त ध्वंसी हो, राष्ट्रहित विपरित हो,’ उनले लेखेका छन्, ‘यो स्वीकार्य योग्य छैन।’

कांग्रेसका उपसभापति निधिले यस्तो बताइरहँदा त्यही पार्टीका केन्द्रीय सदस्य धनराज गुरुङ भने हास्यास्पद तर्क नगर्न पनि भनेका छन्। गुरुङले ट्वीटरमा लेखेर भारतीय पुरुषसँग विवाह गरेर जाने नेपाली चेलीले भारतमा ७ वर्ष कुर्दा दुई देशको सम्बन्ध नबिग्रिने तर नेपाली पुरुषसँग विवाह गरेर आउने विदेशी महिलाले ७ वर्ष कुर्दा कसरी सम्बन्ध विग्रन्छ भन्दै प्रश्न गरेका छन।  

‘भारतीय पुरुषसँग विवाह गरेर जाने नेपाली चेलीले भारतीय नागरिकताका लागि ७ वर्ष कुर्नु पर्दा नेपाल–भारत सम्बन्ध नबिग्रिने तर, नेपाली पुरुषसँग विहे गरेर आउने विदेशी बुहारीका लागि नेपाली नागरिकता प्राप्त गर्न ७ वर्षे प्रावधानले नेपाल भारत सम्बन्ध बिग्रिने ?’ उनले आफ्नै पार्टीका नेताहरुलाई प्रश्न गर्दै लेखेका छन्, ‘हास्यास्पद तर्क नगरौं।’  

त्यस्तै धन राजले सार्क राष्ट्रमा विदेशी महिला विवाह गरेर आउँदा कुन देशमा कति समय पछि नागरिकता पाउँछन् भन्ने विवरण राखेर नेकपाले तोकेको प्रावधानको समर्थन गरेका छन्।

 

नेपालकोे अहिलेको कानुन अनुसार विवाह गर्ने बित्तिकै नेपालमा विदेशी महिलाले नागरिकता दिने प्रावधान छ। 

 

 

 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.