|

सर्लाही : सर्लाहीको लालबन्दी नगरपालिका वडा नम्बर १७ मा वडाध्यक्षले पालेको हरिणको आक्रमणबाट एक स्थानीय वृद्ध घाइते भएका छन्।  

मंगलबार साँझ करिब करिब ६ बजे वडाध्यक्षले सञ्चालन गरेको क्रसरमा हरिणले आक्रमण गर्दा करिब ७० वर्षीय भीमबहादुर कटुवाल सख्त घाइते भएका छन्। उनलाई उपचारका लागि लालबन्दीकै टेक्सस अस्पताल लगिएको र त्यहाँ उपचार सम्भव नभएपछि काठमाडौं लगिएको छ। 

नेपाली कांग्रेसबाट निर्वाचित उक्त वडाका अध्यक्ष नवराज अधिकारी लामो समयदेखि क्रसर व्यवसायमा संलग्न छन्। उनले सञ्चालन गर्दै आएको क्रसमर हुर्काइएका दुई वटा हरिण अहिले बढेर ठूला भएका छन्। ईश्वरपुर नगरपालिकाको एक गाउँबाट स्थानीयसँग वडाध्यक्ष अधिकारीले ती हरिण खरिद गरेर ल्याएर उक्त क्रसरमा हुर्काउँदै आएका थिए। 

पटक पटक ती हरिणले उक्त क्रसर छाडेर गए पनि मानिस परिचालन गरी वडाध्यक्ष अधिकारीले पुनः त्यही क्रसरमा ल्याई हरिणलाई पाल्दै आएका छन्। 

मापदण्डविपरीत क्रसर चलाउँछन् वडाध्यक्ष 

लालबन्दी नगरपालिकाकै कालिञ्जोर नदी क्षेत्रमा अवैध क्रसर राखेर उद्योग चलाइरहेका छन्। जसबाट चुरे क्षेत्र र आसपासमा गम्भीर असर परेको भन्दै पटक पटक स्थानीयले प्रशासनसँग उक्त कार्य बन्द गर्न माग गर्दै आएका थिए।

मापददण्डविपरीत संचालनमा रहेको उनको क्रसर बस्तीबाट २ सय मिटरभित्रै पर्छ। घटना सोही क्षेत्रमा भएको हो। २ वर्षअघि प्रशासनले अनुगमन गर्दा उक्त क्रसर मापदण्डभित्र नपरेपछि खारेज गरिएको थियो। तर हाल सञ्चालनमै छ। 

हालसम्म नवीकरणसमेत नगरी चलाइएको उक्त क्रसर संचालक अधिकारीले स्थानीय कालिका सामुदायिक वन क्षेत्र व्यापक रुपमा उपयोग गरी नदीजन्य पदार्थ भण्डारण गरी राखेका स्थानीय लक्ष्मण खड्काले थाहाखबरलाई बताए। 

तर नगरपालिकाका मेयर मानबहादुर खड्काले घटनाबारे आफूलाई थाहा नभएको र वडाध्यक्षले सञ्चालन गरेको क्रसरबारे पनि आफ्नो क्षेत्राधिकारभित्र नपर्ने बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.