|

बागलुङ : लकडाउनका कारण ढुवानी र बजारको समस्या भएपछि अलैंचीका एक लाख बिरुवा र डेढ टन फल किसानको बारीमै खेर जाने जोखिम बढेको छ। 

जिल्लाको राताखोला गाउँपालिकाका पाखाबारी र खेतमा परम्परागत खाद्यान्नबालीको साटो अलैंची खेती गरेका किसानहरू यो पटक मर्कामा परेका हुन्‌। अलैंची खेतीका लागि पर्याप्त ‌ओसिलो जमिन र उपयुक्त हावापानी रहेकाले राताखोलालाई 'अलैंची ब्लक' नै घोषणा गरिएको छ। 

यहाँका किसानले गत मंसिरमा टिपेर भट्टीमा सुकाइराखेको झण्डै एक हजार पाँचसय किलो अलैंची घरमै राखेका छन्‌।  बिक्री तथा भण्डार पूर्व सुकाउने वा भट्टीमा राख्नुपर्ने काम वैशाखमा मात्र सकिने, तर कोरोना यहीबीचमा लडकडाउन भएपछि यो पटक उत्पादित अलैंची बजार लैजान नसकिएको ताराखोला गाउँपालिका–१ भुस्कातका व्यवसायीक अलैंची किसान दिपेन्द्रध्वज भण्डारीले बताए।

अघिल्ला वर्षहरूमा घुमुवा व्यापारी र बिचौलियाले सस्तोमा खरिद गर्ने गरेकोमा यो वर्ष उचित मूल्य लिन किसान आफैंले बजारसम्म अलैंची पुर्‍याउने योजना बनाएका थिए। बजारसम्म सीधा सम्पर्क स्थापित गरेर उत्पादन बेच्ने तयारी गरिएपछि यो वर्ष अलैंचीका दाना घरमै थन्किने जोखिम बढेको भण्डारी बताउँछन्‌ 

राताखोलाको भुस्कातमा मात्रै एक हजार रोपनीभन्दा धेरै जमिनमा अलैंचीको व्यवसायिक  खेती गरिएको छ। पालिकाका सबै वडाका ओसिलो ठाउँलाई एकीकृत गरेर 'अलैंची ब्लक' घोषणा गरिएको छ। 'ब्लक' भएकाले यहाँका किसानलाई बीउबिजन, भण्डारण र तालिम लगायतका सबै सुविधा कृषि ज्ञान केन्द्र पर्वतले दिने गरेको ताराखोला गाउँपालिकाका कृषि शाखाका प्रमुख कर्णखर भट्टराईले बताए। ‘यहाँका किसानले दाना मात्रै होईन बिरुवाबाट समेत राम्रै आम्दानी गर्नुभएको छ,’ उनले भने, ‘तर यसपटक लकडाउनका कारण बिरुवाको निकासीमा पनि समस्या भएको छ।’

ताराखोलामै व्यवसायिक रुपमा अलैंचीका बिरुवा उत्पादन र बिक्री गर्दै आएको राष्ट्रिय अलैंची विकास कृषि उपज केन्द्रले गत वर्ष झण्डै ६ लाख रुपैयाँका बिरुवा बिक्री गरेको थियो। यो वर्षसमेत १ लाख बिरुवा तयार गरेर बिक्री गर्ने योजना भएपनि लकडाउनका कारण समस्या भएको केन्द्रले जनाएको छ।

ताराखोलाको अलैंची प्रतिकिलो ७ सय रुपैयाँभन्दा धेरै मुल्यमा बिक्री हुने गरेको छ। यहाँ उत्पादित बिरुवा ६ रुपैयाँ प्रति गोटामा बिक्री हुने गरेका छन् । कृषि उपजको निकासी र बजारीकरणमा सरकारले सहयोग गर्नुपर्ने किसानको माग छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.