|

कञ्चनपुर : सडक छेउमा बसेर जुता सिउने कार्य गरेर जीविका चलाउँदै आएका कञ्चनपुरका सार्की समुदायलाई जीविका चलाउन गाह्रो परेको छ। जुत्ता चप्पल सिउने कार्य गरेर आउने रकमले परिवार पाल्दै आएका सार्की समुदायलाई बन्दाबन्दीका कारण रोजगारी गुमेपछि बिहान बेलुकाको छाक टार्नै समस्या पर्न थालेको हो।

'बन्दाबन्दी भएपछि केही दिन नगरपालिका कार्यालयले उपलव्ध गराएको राहत सामग्रीले जीवन चल्‍यो,' झलारी बजारको पूर्व पश्चिम राजमार्गको छेउमा बसेर जुत्ता सिउने कार्य गर्दै आएका धनबहादुर सार्कीले भने,‘राहत सामग्री सकिएपछि पुनः राहत माग्न नगरपालिका पुगे पनि पाइएन।'

कर्जाको रकमले खरिद गरेर ल्याएको चामल र दाल पेटभरी खानसमेत नपाइएको उनले बताए। बन्दाबन्दीको कार्य अझै लम्बिए खान नपाइने डर उनले सुनाए। धनबहादुरले तीन दशकदेखि सडक छेउमा जुत्ता सिउँदै आएका छन्।

पुर्खाले सिकाएको सीप

यस्तै,  सडक पेटीमै डेढ दशकदेखि जुत्ता चप्पल सिउँदै आएका रमेश सार्कीले परम्परागत सीप भनेकै यही भएकाले अन्य कार्य गर्न नसकिएको बताए।

पुर्खाले सिकाएको सीप भनेको जुत्ता बनाउने नै हो उनले भने, ‘पुस्तौंदेखि त्यो सीप नयाँ पुस्तामा हस्तान्तरण हुँदै आएको छ। अन्य कार्य सोचेनौँ। पूँजी अभावले पुरानो सीपलाई आधुनिक बनाउन नसक्दा जीवन निर्वाह गर्नसमेत मुश्किल भएको छ।’ परम्परागत रुपमा जुत्ता बनाउने सार्की समुदायले छालाको अभावमा पेशालाई छाडनु परेको बताएका छन्।

बन्दाबन्दीले त्यो पेशाको कमाई पनि खोसेपछि विचल्लीमा पारेको उनको भनाइ छ। थोरै परिवारले छालाको जोहो गरी परम्परागत पेशालाई जीवित राख्दै आए पनि जुत्ता बनाउने कम्पनी चलेपछि उनीहरु पनि समेत पेशा पलायन हुने अवस्थमा पुगेका छन्।

'जुत्ता बनाउने तालिम पाइँदैन। बैंकमा गए कर्जा पाइँदैन। न्यून आयस्रोत र जग्गा लगायतको सम्पत्ति नभएपछि बैंक मात्रै हैन गाउँका छिमेकीले समेत कर्जा दिन पत्याउँदैनन्' पदम सार्कीले दुखेसो सुनाए।

सरकारले विना व्याज, विना धितो कर्जा दिने व्यवस्था गरी पुर्खौ देखि चल्दै आएको पेशालाई आधुनिक बनाई व्यवसायीक रुपमा अगाडी बढाउनका लागि कार्य अगाडि बढाउनु पर्ने माग छ।पञ्चायत कालमा जस्तो अवस्था थियो। हाल लोकतान्त्रिक गणतन्त्र आए पनि सार्की समुदायको जीवनस्तरमा परिवर्तन आउन सकेको छैन।

देशमा राजनीतिक परिवर्तन आएपछि विगतको कष्टकर जीवनमा परिवर्तन आउला भनेर सोचेका थियौं सडक पेटीमा जुत्ता सिउँदै आएका सार्की समुदाय भन्छन्,‘सम्पत्तिका नाममा पहिला पनि त्यो झोपडी थियो। हाल पनि त्यही छ।'

कञ्चनपुरका कृष्णपुर, झलारी, दैजी, सिसैया र भीमदत्त नगरमा गरी सडक पेटीमा बसेर जुत्ता चप्पल सिउने कार्य गर्दै आएका सार्की समुदायको संख्या करिब ५० छ।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.