|

दमक : झापाको दमक नगरपालिकाले आर्थिक वर्ष २०७७/७८ का लागि  बजेट सार्वजनिक गरेको छ। चालु वर्षको तुलनामा ३४ करोड ११ लाख  कम  बजेट आएको छ। चालु वर्ष १ अर्ब ६५ करोड ४१ लाख ३५ हजार रुपैँयाको बजेट रहेको थियो भने आगामी वर्षका लागि भने  १ अर्ब ३१ करोड ३० लाख ३५ हजार रुपैयाँको बजेट सार्वजनिक गरिएको हो।

कोभिड १९ का कारण केन्द्र र प्रदेश सरकारबाट आउने अनुदानका रकम र आन्तरिक स्रोतबाट संकलन हुने बजेटसमेत कम हुने भएकाले बजेटको आकार घटेको उपप्रमुख गीता अधिकारीले बताइन्। आगामी वर्षका लागि बिनियोजीत बजेटमा नयाँ भौतीक योजनामा भन्दा पनि कोरोना नियन्त्रण तथा रोकथाममा केन्द्रीत र रोजगार बृद्धिमा ध्यान दिइएको नगरपालिकाको दाबी छ।

रेलबारे भ्रममा नपर्न मन्त्रीको आग्रह

यस्तै, प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले पूर्व–पश्चिम रेल मार्ग निर्माणका सम्बन्धमा विभिन्न भ्रमहरु फैल्याईएको बताएका छन्। संघीय सरकारमार्फत शुरु भएको रेलमार्ग निर्माणको प्रकृया र जग्गा अधिग्रहणका सम्बन्धमा सर्वसाधारणमा केही भ्रम फैलिएको तथा फैल्याईएको हुन सक्ने उनको भनाई छ।

झापाको कमल गाउँपालिकाको बुधबार शुरु भएको सातौँ गाउँसभाको उद्घाटनका क्रममा मन्त्री कार्कीले मुआव्जा वितरण तथा जग्गा अधिग्रहणका सम्वन्धमा कुनै पनि भ्रममा नपर्न आग्रह पनि गरे। सरकारले नागरिकलाई उठिबास हुनेगरी कुनै पनि कदम नचाल्ने भन्दै उनले यसका लागि आवश्यक परे सम्वन्धित संघीय मन्त्रालय तथा सर्वसाधारणबीच आफू पुल बनेर सहजीकरण तयार रहेको समेत धारणा व्‍यक्त गरे।

रेलमार्ग निर्माणका क्रममा जग्गा अधिग्रहण गर्दा सर्वसाधारणको उठिबास लगाउन खोजिएको भन्दै केही सर्वसाधारणले गुनासो गरिरहेका बेला मन्त्री कार्कीको यस्तो धारणा आएको हो।

कार्यक्रममा गाउँपालिका अध्यक्ष मेनुका काफ्लेले आगामी आर्थिक वर्षका लागि शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता दिएको नीति तथा कार्यक्रम प्रस्तुत् गरिन्। यस्तै गाउँपालिका उपाध्यक्ष बेनुप्रसाद शिवाकोटीले आगामी आर्थिक वर्षका लागि ८१ करोड ८५ लाख ९१ हजार ७ सय ९९ रुपैयाँको अनमानित आय–व्यय (बजेट) प्रस्तुत गरे। कार्यक्रममा उत्कृष्ट कर्मचारीहरुलाई पुरस्कृत गरिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.