स्थानीय सरकार र विद्युत् कार्यालयबीच दोषारोपण

|

पाल्पा : गएको शनिबार विहान ठूलो वर्षात् भयो। पहिरोले पाल्पामा ठूलो क्षति पुर्‍यायो। लगातार परेको वर्षासहित आएको पहिरोले सोमबार तानसेनमा गाडी बगाउँदा चारजनाको मत्यु नै भयो। चारवटा गाडीमा क्षती पुग्यो। सडकसमेत अवरूद्ध भए।

बिजुलीका पोल ढलेका छन्। ढलेको पोलले लागेर तीन जना घाइते भएका छन्। पहिरोसँगै बिजुलीका पोल घरमाथि ढलेपछि केही घरपरिवार विस्थापित भएका छन्। रिब्दीकोट गाउँपालिका ७ गोंदीका मीनबहादुर सुनार र रामबहादुर रानाको घरपरिवार विस्थापित भएका हुन्। मीनबहादुरको घरको छानामा पोल ढलेर अड्किएको छ। भने रामबहादुरका घरमा पहिरो झरेको छ। पोल टुक्रा परेका छन् र तार लत्रिएका अवस्थामा छन्।

घर पहिरोले जोखिममा पारेपछि आफूहरू विस्थापित हुनुपरेको रामबहादुरले बताए। अहिले छिमेकीको घरमा शरण लिएर बस्दै आएको उनले बताए। भान्साकोठा, बाख्रा र कुखुराका खोरसमेत बगाएको छ। छिमेकी मीनबहादुरको परिवार पनि विस्थापित भएका छन्। घरमाथी बिजुलीको पोल ढलेपछि बतासे बजारमा कोठा भाडामा लिएर बस्न बाध्य भएको उनले बताए।

 


एकैपटक धेरै पोल ढलेपछि जिल्लाको रिब्दीकोट गाउँपालिका र रैनादेवी छहरा गाउँपालिकाका स्थानीय गएको एक सातादेखि अध्याँरोमा बस्न बाध्य छन्। उनीहरू मैनबत्ती र टुकीको भरमा रात काटिरहेका छन्। यहाँका सञ्चार गृह बन्द छन्। मोवाइल चार्ज गर्न पाएका छैनन् भने रेडियो टेलिभिजनबाट समाचार हेर्न र सुन्न समेत नपाएको स्थानीयको गुनासो छ।

गएको शनिबार रातीदेखि आफूहरू अध्यारोमा बस्न बाध्य भएको रिब्दीको गाउँपालिका ५ गोंदीकी तीलकुमारी खत्रीले बताइन्। ‘केहीदिन मैनबत्ती बालेर बसियो। अहिले पैदल हिँडेर बजार पुगेर मट्टितेल ल्याएकी छु।’ हातमा मट्टितेल ल्याएको गेलिन देखाउँदै उनले भनिन् ‘अब टुकीको उज्यालोमा बस्न पाइने भयो। खुसी लागेको छ।’ उनका अनुसार बजारमा मट्टितेलसमेत प्रयाप्त उपलब्ध छैन। बिजुली नहुँदा आउन छाडेपछि वर्षातले फुटेको मूलको पानी खान बाध्य भएको उनले सुनाइन्।

सडक विस्तार गर्दा आएको पहिरोले छेउमा रहेका पोल बगाएको रिब्दीकोट गाउँपालिका ७ बतासेका लक्ष्मण गौतमले बताए। वर्षाको समयमा सडक चौडा गर्दा पहिरो गएर ढलेका पोलले ठूलो क्षति पुर्‍याएको उनले बताए।

हाकिम भन्छन् : समन्वय नहुँदा क्षति भयो

अविरल वर्षासँगै आएको पहिरोले विद्युतका पोल ढलाउँदा १३ लाखभन्दा बढी क्षती भएको नेपाल विद्युत प्राधिकरण केन्द्र पाल्पाका प्रमुख शुसिल पौडेलले बताए। सडक विस्तारकाक्रममा आफूहरूसँग समन्वय नगर्दा ठूलो मात्रामा क्षति हुन पुगेको उनले दाबी गरे। ‘सडक विस्तार गर्ने निकाय र विद्युत कार्यालयबीच समन्वय हुनुपर्ने थियो’ उनले भने ‘पहिले सल्लाह गरेको भए कुनै विकल्पबारे निर्णय हुने थियो। जसले गर्दा यति ठूलो क्षति बेहोर्नु पर्ने थिएन।’ यस्तो समस्या माथिल्लो निकायबाट नै समाधान गर्नुपर्ने उनले बताए।

सल्लाह लिन गए विकासमा अवरोध गरिहाल्छन्

कम्तीमा सडकको मापदण्डलाई ध्यानमा राखेर विद्युतका पोल गाड्नुपर्ने रिब्दीकोट गाउँपालिका अध्यक्ष नारायणबहादुर जिसीले बताए। ‘सडक विस्तार आवश्यकताले गर्नुपर्छ’ उनले भने ‘विद्युत र बन कार्यालयसँग सल्लाह लिन गयो। उल्टै कानुनी जटिलता देखाएर अवरोध सिर्जना गर्ने काम हुन्छ।’ विकासका लागि बन, विद्युत र स्थानीय सरकारबीच सहकार्य र समन्वय हुनुपर्नेमा उनले जोड दिए।

‘यी तीन कार्यालयबीच समन्वय भएमा नै जनताले विकासको महसुस गर्न पाउँछन्। सुविधा पनि पाउँछन्। सबै कार्यालयको उद्देश्य भनेको नै जनतालाई सेवा सुविधा दिनु हो’ उनी भन्छन् ‘विकासको लागि एकअर्काले असजिलो बनाउने भन्दापनि सहकार्य गरेर अगाडि बढ्नुपर्छ।’

केही तस्वीर झलक :

 

 

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.