|

काठमाडौं : जोरपाटी बेसी गाउँकी सरस्वती पौडेललाई अहिले कोरोना भाइरसभन्दा बढी डर घर वरपरका सडक हुँदै यात्रा गर्दा लाग्छ। जब बर्खा लाग्छ : वर्षौंदेखिको लथालिङ्ग जोरपाटी-सुन्दरीजल सडकमा युद्धको अनुभव गर्न बाध्य हुन्छिन् उनी।

कोरोना भाइरस त एक न एक दिन पक्कै जाला, तर यो सडक स्तरोन्नती भई आवागमन योग्य बन्छ भन्ने आश सरस्वतीलाई छैन। उनको घर अघिकै सडकमा ठूला-ठूला खाडल छन्। खाडलमा पानी जमेर पोखरी भएको छ।

हिलोले अस्तव्यस्त सडकको दृश्य देखाउँदै सरस्वती भन्छिन्,‘हेर्नु न यो सडकको बिजोग! ७  वर्ष भन्दा बढी भैसक्यो, अहिले सम्म सडक बन्न सकेको छैन, सडक हो की, पौडी खेल्ने आहाल हो छुट्याउनै गाह्रो। हामीलाई त कोरोना भन्दा सडककै चिन्ता बढी छ।’ उनले बर्खाको बेला सडक झनै अस्तव्यस्त हुँदा विभिन्न समस्या भोग्न बाध्य हुने बताइन्। ‘जब बर्खा लाग्छ, सडक हिलैहिलो हुन्छ,’ उनले भनिन,‘हिँड्नै सकिँदैन, घरभित्र पनि ढल नै छिर्छ, चिन्ताले कहिलै राती जागा बस्नुपर्छ।’

केही दिनअघि थोरै माटो हालेर सडकका केही खाडल टालटुल गरिएपनि सबै ठाउँमा पुरिएको छैन। स्थानीय सबै जागेर आन्दोलन गर्दासमेत सरोकारवाला निकाय मौन बसिदिएको छ। सडक समयमा बन्नुपर्छ भनेर आन्दोलन गर्दा पनि सम्बन्धित निकायले अटेरी गरेको र भोट दिएर जिताएका जनप्रतिनिधिहरुले मौनता साँधिरहेको स्थानीय बताउँछन्‌। सरकारको चरम लापरबाहीका कारण स्थानीय र सर्वसाधारणले सास्ती खेप्न बाध्य भएको बताउँदै स्थानीयले जतिसक्दो चाँडो सडक कालोपत्रे गरिदिन आग्रह गरिरहेका छन्‌।

जोरपाटी-सुन्दरीजलको ७ किमी सडक निर्माणका लागि आशीष/सि.एम.जे. भिसँग २०७३ सालमै २०७५ साल असोज महिनामा सक्ने गरी करिब ५४ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको थियो। तर, सम्झौता अवधि सकिँदा पनि अहिलेसम्म सडक बन्न सकेको छैन। ठेकेदार र सरकारको आलटाल नै यसको प्रमुख कारण हो। सास्ती चाहिँ स्थानीय वासिन्दा र यो सडक हुँदै यात्रा गर्नेहरूले दिनहुँ खेप्नु परिरहेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय  र गोकर्णेश्वर नगरपालिकासँग भएको ठेक्का सम्झौता अनुसार सार्वजनिक जग्गा भएकोमा २२ मिटर र व्यक्तिगत जग्गा भएको स्थानमा सडक १४ मिटर चौडा गर्नुपर्ने छ। 

‘आगामी वर्ष सडक बन्छ
वर्षौंदेखिको लथालिङ्ग सडक कहिले भन्छ जिज्ञासा राख्दा काठमाडौं उपत्यका सडक विस्तार आयोजनाका प्रवक्ता लक्ष्मण देवकोटाले सडक विस्तार विवाद समाधान भैसकेकोले आगामी वर्षसम्ममा निर्माण गरिसक्ने जानकारी दिए। ‘विस्तार गर्ने बेला स्थानीयले अवरोध गरेकाले तीन वर्षसम्म सडकको काम गर्न पाइएन,’ उनले भने, ‘त्यसैले तोकिएको समयमा सडक विस्तार हुन नसकेको हो, अहिले विवाद समाधान भैसकेको छ, आगामी माघ-फागुनमा सडक निर्माणको सबै काम सकिन्छ।’ 

उनका अनुसार हाल सो सडकखण्डको नाम्गेलमा ह्युम पाइप हाल्ने काम भैरहेको छ। त्यस्तैगरी सडक रेखाङ्कनको काम पनि अघि बढिरहेको छ। ‘गोकर्ण मन्दिर अगाडी धेरै काम भैसकेको छ,’ उनले भने, ‘मन्दिरदेखि जोरपाटी बीचमा धेरै बाक्लो बस्ती भएकाले यथास्थितिमै कालोपत्रे गर्ने भनेर क्याबिनेटबाट निर्णय भएर आएको छ। त्यहाँ वर्षालगत्तै कालोपत्रे गरिने छ।’ 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.