महनगरले ल्याएको ६३ लाखको मेसिन कामविहीन

|

पर्सा :  वीरगन्जको नारायणी अस्पतालमा रहेको स्वास्थ्य प्रयोगशालामा कोरोना परीक्षण कार्य रोकिएको छ। परीक्षणका लागि रिएजेन्ट किट सकिएपछि संक्रमणको हटस्पट रहेको प्रदेश २ स्थित नारायणी अस्पतालको प्रयोगशालामा स्वाब परीक्षण कार्य रोकिएको हो।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा.मदनकुमार उपाध्यायले चारपाँच दिनदेखि परीक्षण कार्य रोकिनुको मूल कारण भने रिएजेन्टका सामग्री अभाव नै रहेको बताए। 'बिहीबार बल्ल १ सय ७३ जनाको परीक्षण गरियो। रिएजेन्ट सामग्रीकै कारण फेरि परीक्षण कार्य प्रभावित भएको छ' उनले भने। साविकको परिक्षणलाई अझ गति दिनुपर्ने समयमा चारपाँच दिनदेखि निरन्तिरता दिन नसकिएको मेसु उपाध्यायको तर्क छ।

एक सय ७३ जनाको स्वाब परीक्षण गर्दा पनि ३ जनामा रिपोर्ट पनि पोजेटिभ आएको नारायणी अस्पतालले जनाएको छ। त्यो स्वाब धनुषातर्फबाट संकलन गरी पठाइएको थियो। वीरगन्ज क्षेत्रमा संकलन भएको स्वाब भने काठमाडौंको प्रयोगशालामा पठाइएको छ।

केही दिन अगाडि केन्द्रबाट पठाइएको रिएजेन्टको सामग्री प्रभावकारी नभएको उतै पठाई अरू माग गरिएको नारायणी अस्पताल प्रशासनले जनाएको छ। जति चाँडो आवश्यक रिएजेन्टका सामग्री आइपुग्छन्। उति चाँडो कामलाई निरन्तरता दिन सकिन्छ डा उपाध्यायले थाहा खबरसँग भने।

संक्रमणको जोखिम अझ उच्च

रोटी-वेटीको सम्बन्ध भएको मध्य तराईमा सीमावारिका मानिसले गरेका काम पारीकाले र पारीकाले गरेको वारीकाले सीको गर्नु खासै नौलो कुरा होइन। कोरोना महामारीको लकडाउनको प्रयोग र पालनामा पनि यो कुरा केही हदसम्म मेल खाइरहेको छ।

नेपालमा भन्दा भारतमा अलि लकडाउन खुकुलो भएको चालपाएपछि वीरगन्ज क्षेत्रका मानिसहरुले पनि लकडाउनलाई खासै महत्व दिएका छैनन्। कोरोना महामारीबाट बच्न लगाइएको लकडाउन नेपाल तर्फभन्दा पहिले उता केही  खुकुलो बनाइएपछि यस क्षेत्रका मानिसले पनि खासै महत्वका साथ परिपालना गरेका छैनन्। आम मानिसहरु कोरोना भाइरस नभएको समयमा झैं आफ्ना दैनिकी चलाइरहेका छन्। वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडियाले पनि पूरा लकडाउन त्यो पनि लामो समयसम्म गाह्रो हुने तर्क गरे।

महनगरले ल्याएको ६३ लाखको मेसिन कामविही

कोरोना भाइरसको व्यापक रुपमा परीक्षण गर्ने भनी वीरगन्ज महानगरपालकाले वीरगन्जवासीसँग चन्दा संकलन गरी ६३ लाखमा खरिद गरेको पिसिआर मेशिन कामविहीन भएको छ। मेशिनभन्दा पनि रिएजेन्टका सामग्री आवश्यक रहेको अवस्थामा मेशिनलाई काम दिन नसकिएको स्वास्थ्यकर्मीहरुले बताए। मेशिन खरिद गरेर महानगरले नारायणी अस्पताललाई हस्तान्तरण गरिएको प्रचार गरेको छ। तर नारायणी अस्पतालमा भने मेशिनभन्दा पनि भिटिएम किटलगायत रिएजेन्ट सामग्री सधैं अभाव हुने उनीहरूको भनाइ छ।

तीनथरी सरकारको समन्वय नै पुगेन

कहिले पिसिआर किट, त कहिले भिटिएम किट जस्ता रिएजेन्टका सामग्रीको सुरुका दिनदेखि नै अस्पताललाई अभाव हुँदै आएको छ। यो कुरालाई राज्यका सम्बन्धित पक्ष वा व्यक्तिले समन्वय गरेर उपलब्ध गरिदिएको भए काममा धेरै सहजता हुने नारायणी अस्पतालको अस्थायी कोभिड अस्पताल गण्डकका संयोजक डा उदय नारायण सिंहले बताए। केन्द्र, प्रदेश र स्थानीय सरकारको कुनै तालमेल नहुँदा कार्य सम्पादनमा सकस भएको अरू चिकित्सकहरूको पनि तर्क छ।

नारायणी अस्पतालका मेसु डा. उपाध्यायले सुरुबाट नै वीरगन्जमा हुने सुरक्षा समिति लगायतका सरोकारवाला निकायका बैठकहरुमा यो कुरा उठाउँदै आए पनि सम्बन्धित निकाय र व्यक्तिहरुले खासै त्यो कुरालाई वास्ता गरेका छैनन्। परीक्षणको दायरा फराकिलो पार्नु पर्ने यो समयमा झन् सम्बन्धित पक्षको समन्वय नहुँदा साविकमा हुदै आएको कोरोना परिक्षण पनि प्रभावित भएको बताइएको छ।

परक्षण गर्नुपर्ने बेला झन् खुम्चियो

संक्रमितको संख्या तीन अंकले बढिरहेको समयमा अझ बृहत रुपमा स्वाब संकलन र परिक्षण गरिनु पर्नेमा सोही समयमा लकडाउनसमेत खुकुलो बनाइँदा संक्रमणको जोखिम अझ बढेर गएको छ। यो सयमा परीक्षणको दायरालाई पूरै भुइँसतहसम्म लान सकेको भए अलि प्रभावकारी हुने स्थानीयको अपेक्षा थियो।

तर तीन तहका सरकारको समन्वयात्मक कार्यको कमजोरीले कार्यान्वयन पक्ष चुश्त हुन सकेको छैन। त्यसैले विभिन्न समयमा प्राविधिक समस्या आउँदा परिक्षण कार्य नै ठप्प गर्नु पर्ने दुःखद् अवस्था आएको अस्पतालले जनाएको छ। खुल्ला सीमा भएको प्रदेश नम्बर २ का आठ वटै जिल्ला कोरोनाको उच्च जोखिममा छन्। हरेक जिल्लामा तीन अंकको संख्या पुगिसकेको छ।

रौतहट एकै जिल्लामा डेड हजारको नजिक पुगेको छ। यो समयमा सुस्त परिक्षणले महामारीको परिक्षणलाई किनारा लगाउन हम्मेहम्मे हुने नारायणी अस्पतालका चिकित्सकहरुले बताए। यो समयमा परीक्षणको दायरा बढाइनुपर्थ्यो। त्यसो नहुँदा संक्रमणको जोखिम झन् बढ्ने खतरा रह्यो नारायणी अस्पतालको अस्थायी कोभिड अस्पताल गण्डकका संयोजक डा. उदय नारायण सिंहले बताए। 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.