|

सुशील सुवेदी

स्याङजा : स्याङ्जा र पाल्पाको सिमानामा रहेको धार्मिकस्थल राम्दीमा ९ वर्ष पहिले गरिएको महायज्ञमा उठेको रकम सार्वजनिक गर्न भन्दै चन्दादाताले स्थानीय सरकारलाई दबाब दिएका छन । 

उनीहरुले तत्काल हिसाब पारदर्शी बनाउन सडकमा उत्रिएर दबाब दिएका हुन्। गल्याङ–१ राम्दीमा स्नान गृह, आर्य घाट, पुस्तकालय र गौशाला निर्माण गर्ने उद्देश्यले गत २०६८ कात्तिक १८ देखि २५ सम्म महायज्ञ गरीएको थियो । 
उक्त महायज्ञमा १ करोड ७५ लाख रकम उठेको थियो। १० वर्ष पुग्न लाग्दासम्म भौतिक संरचना समेत नबनेपछि चन्दादाताले शुक्रबार दबाबमूलक र्‍याली निकालेका हुन्। 

गत असार ४ गते चन्दादाताले पत्रकार सम्मेलन समेत गरेर हिसाबकिताब माग गरेपछि आयोजकले पुन सार्बजनिक गरेको थियो। तर त्यसमा चित्त बुझ्दो जवाफ नआएको चन्दादाताको आरोप छ । 

‘हामीले हिसाब किताब खोजेपछि आयोजकले झुटो विवरण सार्बजनिक गर्यो’, महायज्ञमा स्वयंसेवकको रुपमा खटिएका युवा रामप्रसाद सापकोटाले बताए। महायज्ञ पछिल्लो समय धर्मको नाममा कमाउने धन्दा बन्न थालेको बताउँदै देशभर पहेँलो वस्त्रको नाममा व्यापार मौलाएको स्थानीय छबिलाल भुसालले बताए । 

दबाबमूलक कार्यक्रम गल्याङ नगरपालिकालाई तत्काल हिसाब किताब छानबिन माग गर्दै ज्ञापन पत्र बुझाइएको थियो । ज्ञापन पत्र बुझदै नगरप्रमुख भुपराज अधिकारीले भोलि नै छानबिन समिति बनाएर हिसाब किताब खोज्ने बताए। 

‘यत्रो वर्षसम्म हिसाब सार्बजनिक नगरिनु र भौतिक निर्माण पनि नहुनुले महायज्ञलाई कमाइ खाने भाँडोको रुपमा लिएका छौँ’, महायज्ञका दाता नारायण प्रसाद अधिकारीले भने, ‘जतिसक्दो छिटो महायज्ञमा उठेको रकम भौतिक निर्माण कोषमा दाखिला गर्दै दोषीमाथि कानुनी कारबाही हुनुपर्दछ।’

राम्दीमा स्नान गृह, आर्य घाट र गौशाला लगायतको भौतिक संरचना निर्माण गर्न गुरुयोजना समेत तयार भएको महायज्ञ मूल आयोजक समितिका अध्यक्ष दिलीपप्रताप खाँणको भनाइ छ। महायज्ञमा नगद र उधारो पैसाको हिसाब पौने दुई करोड भए पनि सबै पैसा नउठेकाले भौतिक संरचना बन्न नसकेको खाँणले बताए । 

चन्दादाताले भने उठेको रकम पनि पारदर्शी नभएको आरोप लगाएका छन्। चन्दादाता डिल्लीराम भण्डारी भन्छन्, ‘कमसेकम यत्रो वर्षसम्म केही संरचना त तयार हुनुपर्छ ।’ महायज्ञमा खादा लगाउने र नाच्नेहरूले सिन्को नभाँचेको भण्डारीले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.