|

म्याग्दी : सदरमुकाम बेनीको आइसोलेसनमा रहेका थप ४ जनाले कोरोनालाई जितेका छन्। यसअघि दुई जना निको भएर घर गइसकेका छन्। बेनीस्थित आइसोलेसनमा उपचाररत एक महिलासहित ४ जना डिस्चार्ज भएका हुन्।

कोरोना संक्रमण पुष्टि भएपछि आइसोलेसनमा राखिएका एक पुरुषको तेस्रो र महिलासहित तीन जनाको दोस्रो पटक गरिएको पिसिआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले बताए।

उनका अनुसार कोरोना संक्रमणबाट मुक्त हुनेमा बेनी नगरपालिका ३ भकिम्लीका एक,मालिका गाउँपालिका ३ रुमका एक ३० वर्षीय पुरुष, रघुगंगा गाउँपालिका २ की ३० वर्षिया महिला र मंगला गाउँपालिका ५ अर्मनका २० वर्षीय युवा छन्।

महिलाको रिपोर्ट नेगेटिभ आए पनि उनीसँगै आइसोलेसनमा रहेकी ९ वर्षीया छोरीको दोस्रो रिपोर्ट पोजेटिभ आएको छ। कोरोना संक्रमण पुष्टि भएका अधिकांशले दुई हप्ता र केहीले २० दिनमा कोरोना जितेका हुन्। उनीहरुलाई आइतबार डिस्चार्ज गरिने जनाइएको छ।

आइसोलेसनमा रहेका १२ मध्ये ४ जनाले कोरोना जितेका हुन्। हालसम्म म्याग्दीमा कोरोना संक्रमितको संख्या १४ पुगेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.