|

भक्तपुर : भक्तपुरका दही व्यवसायीलाई दही बनाउन भ्याईनभ्याई भएको छ। असार पन्ध्रको अवसरमा दहीको माग उच्च हुने भएपछि आइतवार दही व्यवसायीहरुलाई दही बनाउन भ्याईनभ्याई भएको हो। यसवर्ष असार पन्ध्र सोमवार परेको छ।

नेपाली समाजमा असारको १५ गते दही चिउरा खाने प्रचलन रहेको छ। मध्य असारमा रोपाईंमा रमाउँदैं हिलो खेल्दै दही चिउरा खाने प्रचलन सँस्कृतिको रुपमा विकास हुन थालेको छ। गाउँघरमा रोपाइँ गरेर खाने दही चिउरा शहर बजारमा रोपाई नगरे पनि खाने प्रचलन बढेसँगै असार १५ मा काठमाडौैमा दहीको माग ह्वात्तै बढ्ने गरेको दही व्यवसायी कृष्णगोपाल सैंजुले बताए। मध्य असारको दिन रोपाईं गरी दही चिउरा खानाले गति परिने विश्वास अनुरूप आफ्नो खेतीपाती नहुनेहरू पनि अरूको खेतमा रोपाई गरी हिलो छ्यापेर रमाइलो गरी दही चिउरा खाने गर्दछन्।

पछिल्लो समय सरकारले असार १५ लाई राष्ट्रिय धान दिवसको रुपमा मनाउन थालेकाले पनि यसको महत्व बढेको छ। असार १५ को अवसरमा विभिन्न सामाजिक संघसंस्था तथा राजनैतिक दलहरुले समेत विविध कार्यक्रम गरेर सामूहिक दही चिउरा खाने गर्नाले पनि असार १५ मा दहीको माग बढ्ने गरेको व्यवसायीहरु बताउँछन्।

यसवर्ष कोरोना भाइरसको महामारीका कारण सरकारले लकडाउन गरेपछि केही शिथिलता आएको दही व्यवसायलाई असारे झरी र रोपाईंले केही राहत दिएको व्यवसायी सैंजुले बताए।  ‘भक्तपुरका स्थानीय नेवारहरु रोपाइँलाई उत्सवको रुपमा लिन्छन् र खाजामा दही अनिवार्य जस्तो हुने भएकाले लकडाउनमा बन्द जस्तै भएको दही व्यवसायले राहत पाएको छ,’ सैंजुले भने।

अहिले लकडाउन केही खुकुलो भएको र बजार पनि खुल्न थालेकाले असार १५ को लागि व्यवसायीहरुलाई दही बनाउन भ्याई नभ्याई भएको उनले जानकारी दिए।

अन्य दहीको तुलनामा अत्यन्त स्वादिलो हुने भएकाले पनि भक्तपुरको दही अन्य अवसरमा पनि उच्च माग रहने गरेको छ। विवाह, व्रतबन्ध लगायतका ठूला भोज भतेरमा भक्तपुरकै दहीको माग हुने गरेको व्यवसायी सैंजुले बताए।

दहीको स्वाद र यसको विशेषताले गर्दा भक्तपुरको दहीलाई जुजु धौं अर्थात राजा दहीको उपमा दिएको छ। जुजु धौंको स्वाद र गुणस्तर नेपालमा मात्र होईन विदेशमा समेत प्रख्यात रहेको छ। त्यसैले भक्तपुर आउने आन्तरिक पर्यटक मात्र होईन विदेशी पर्यटकले समेत जुजु धौको स्वाद लिएर मात्र फर्कने गर्दछन्।

जुजु धौको मौलिकता पहिलो यसको स्वाद हो भने दोस्रो माटोको भ्यगः अर्थात कटारो हो। तर काठ क्षेत्रमा गाईभैँसी पालन व्यवसाय हराउँदै जानु र कुमालेहरूले पनि माटोको कतारो बनाउन छाड्नु तथा बजारले पनि प्लाष्टिकका बट्टाको माग गर्नुले जुजु धौको मौलिकता संकटमा पर्न थालेको व्यवसायीहरु बताउँछन्।

जुजु धौंको प्रमुख विशेषता चक्कुले टुक्रा टुक्रा पारेर काट्न मिल्नु हो। माटोको कतारोको दहीलाई घोप्ट्याए पनि नपोखिने यसको अर्को विशेषता हो। यस्तो विशेषता युक्त दही बनाउन उच्च गुणस्तरको गाई भैँसीको शुद्ध दुधको आवश्यक पर्दछ। अन्य दुधको तुलनामा चिल्लोपना बढी भएको दूधलाई कराहीमा अत्यन्त बाक्लो हुनेगरी उमाल्ने र त्यसपछि माटोको कतारोमा राखेर विविध मसला मिसाई धानको भुस माथि राखेर जुजु धौ तयार गरिन्छ। जुजु धौ बनाउने परम्परागत तरिकामा अहिले पनि तात्विक भिन्नता आएको छैन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.