|

इलाम : माई नगरपालिकामा कोरोना संक्रमण नेगेटिभ भनेर घर पठाइएका एक युवामा लक्षण पोजेटिभ देखिएको छ। असार ४ गते भारतको गुजरातबाट आएका माई नगरपालिका–३ बरपानीका युवामा शनिबार नेगेटिभ रिपाेर्ट भनिएको थियो।

तर आइतबार बिहान उनमा कोरोनाको संक्रमण देखिएको विराटनगरबाट जानकारी आएपछि उपचारका लागि गोठ गाउँमा रहको पूर्वाञ्चल विश्वविद्यालयको कोरोना अस्पताल लगिएको माई नगरपालिकाका प्रशासकीय अधिकृत नवीन पौडेलले जानकारी दिए।

ती युवामा संक्रमण देखिएपछि उनको घर सिल गरिएको छ। परिवारलाई होम क्वारेन्टाइनमा राखेर एक सातापछि पिसिआर टेस्ट गरिने भएको छ। छिमेकीहरुलाई समेत कोरोना सुरक्षासम्बन्धी अत्यावश्यक सामग्री वितरण गर्ने तयारी गरिएको स्वास्थ्य शाखा प्रमुख पुस्कर कट्टेलले बताए।

संक्रमित युवाको स्वाब गत असार ९ गते संकलन गरेर परीक्षणका लागि पठाइएको थियो । उनीसँगै गरुवा बहुमुखी क्याम्पसमा १४ जना र फ्रन्ट लाइनका खटिने २४ जना गरी ३८ जनाको पिसिआर परीक्षण गरिएको कट्टेलले जानकारी दिए। 

यसैबीच उनीसँगै गुजरातबाट आएका माई १० का २६ वर्षीय पुरुषको पनि पिसिआर नेगेटिभ आएकाे र थप परीक्षणका लागि क्वारेन्टाइनमै राखिएको छ। माईमा भेटिएसँगै इलामका ३ स्थानीय तहमा कोरोना पोजेटिभ भेटिएको छ। यसअघि सूर्योदय नगरपालिकामा ६ जना र इलाम नगरपालिकाका १ जनामा कोरोनाको संक्रमण भेटिएको छ। उनीहरु मध्ये २ जना उपचारपछि घर फर्किएका छन्। अन्य ५ जना शनिबार पोजेटिभ भेटिएपछि उपचारमा छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.