बिमाको लोभले परिवार नै अपराधमा

|

हेटौंडा : असार १ गते हेटौंडा उपमहानगरपालिका-४ मा सुस्मिता थापाको भेटिएको शव क्रूरतापूर्वक हत्या गरिएको अनुसन्धानबाट खुल्न आएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरले परिवारकै सदस्यहरु मिलेर बुहारीको हत्या गरेको भन्ने निष्कर्षसहित आज सोमबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ।

ससुराको गलत नियत र बिमाले लियो ज्यान

सुस्मिता क्षेत्री थापाको क्रूरतापूर्वक हत्या हुनुमा दुईवटा कारण देखिन आएको छ। मृतक सुस्मिताको ससुरा प्रकाश थापाले जबरजस्ती करणी प्रयास र सुस्मिताको मृत्युपछि उनको पति र उनको नाममा आउने बिमाको रकमको कारण हत्या भएको प्रहरीले पत्रकार सम्मेलनमा जानकारी दिएको छ।  

 

मृतक सुस्मिताको पति रुपेन्द्रको २०७६ साल असोज २६ गते ससुरालीबाट फर्कने क्रममा मोटरसाईकल दुर्घटनामा मृत्यु भएपछि बुहारीलाई उसकै कारण मृत्यु भएको भन्दै आरोप लगाउँदै आएको थियो।  थापा परिवारले निरन्तर मानसिक तनाव मात्रै नभई ससुरा प्रकाश थापाबाट मृतक सुस्मीता क्षेत्री थापालाई बाथरुममा जबरजस्ती करणीको उद्योग गरेको समेत गरेको प्रहरीले देखाएको छ।

प्रहरीले  मृतक सुस्मिताको श्रीमान रुपेन्द्रको सवारी दुर्घटनाको मृत्युपश्चात पाउने क्षतिपूर्तिबापतको रकम पाँच लाख सुस्मिताले प्राप्त गरेको र घर पक्षले हामीले पाउनुपर्छ भनेर विवाद सृजना गरेकोलाई नि हत्याको कारण हुनसक्ने देखाएको छ। मृतक सुस्मिताको श्रीमान रुपेन्द्रले क्लोजर सिस्टम इन्टरनेशनल नेपालबाट पाउने विमा, बोनस र तलब बापतको ३८ लाख २८ हजार रकम हकवालको विवादको कारण हालसम्म प्राप्त नगरेको पनि कारण देखाएको छ। 

यसरी भयो हत्या

प्रहरीले जानकारी दिएको घटनाको विवरणअनुसार  असार १ गते अन्दाजी बेलुकी ९ बजेर ३० मिनेटको समयमा मृतक सुस्मिताको परिवारका सदस्यहरु ससुरा प्रकाश थापा, सासु तुलसाकुमारी थापा बेलुकाको खाना खाई भान्छाकोठाबाट आफ्नो सुत्ने कोठातर्फ गएको थिए। खाना खानु अघि ससुरा प्रकाश थापाले मदिरा सेवन गरिसकेका थिए भने मृतक सुस्मिता र नन्द सीता भान्छाकोठामा खाना खाईरहेका थिए।

सुस्मिता महिनावरी भएको कारण भान्छाकोठाको भुइँमा बसेर खाना खाँदै थिईन, सोहि समयमा ससुरा प्रकाशले काठको लौरो लिएर भान्छाकोठामा प्रवेश गरी बुहारी मृतक सुस्मिताको टाउकोमा पछाडीबाट प्रहार गरेको देखिन आएको प्रहरीले जनाएको छ। ससुराको प्रहारपछि भुइँमा लडेकी सुस्मितालाई  नन्द सीता थापाले  नजिकै रहेको लोहोरो प्रहार गरेपछि गम्भीर घाईते भएकी थिईन्।  सुस्मिताले बचाउ भन्दै कराउन थालेपछि सासू तुलसा पनि भान्छाकोठामा आउँछिन् तर उनलाई चुपचाप बाबुछोरीले अर्को कोठामा गएर बस्न भन्दै सुस्मिताको हत्या गरेर  आत्महत्या जस्तो घटना  देखाउन प्रयास गर्छन्।

मृतक सुस्मिताका ससुरा र नन्द अर्थात बाबुछोरी मिलेर हत्या भएको कोठामा फुटेका सिसाहरु, विग्रेका भाँडाकुडा मिलाउँछन्, भुइँमा लागेको रगत सफा गर्छन् र भित्रबाट चुकुल लगाएर आफूहरु झ्यालबाट निस्केर आत्महत्या जस्तो बनाउने प्रयास गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरीको भनाईछ।  कोठा मिलाएर जिउमा र कपडामा लागेको रगत  सफा गरेर भोलीपल्ट ससुरा प्रकाशले बुहारीले आत्महत्या गरेको भन्दै गाउँलेलाई बोलाएपछि प्रहरी सम्म घटना आईपुग्छ।  प्रहरीले असार २ गतेबाट अनुसन्धान गरेर१२ दिनमा निष्कर्श निकालेको छ।

आजीवन कैदसम्म हुने

हत्या अभियोगमा प्रहरी हिरासतमा रहेकाहरुलाई मुलकको फौजदारी अपराध संहिता २०७४ को दफा ४१ क बमोजिम क्रूर यातना दिई ज्यान मारेको आरोपमा कसुर जिवित रहेसम्म कैद अर्थात जन्मकैद हुने ब्यवस्था रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख सुशिलसिंह राठौरले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.