सिमरा : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय सिमरा बाराका तत्कालीन लेखापाल युगल किशोर ठाकुरउपर भ्रष्टाचार मुद्दा दायर गरेको छ। सोमबार विशेष अदालत काठमाडौँमा तीन करोड चार लाख ९४ हजार तीन सय आठ रुपैयाँ भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर गरेको विज्ञप्तिमार्फत आयोगले जनाएको छ।
२०६८ माघ ९ गते कोष तथा लेखा नियन्त्रक कार्यालय बाराबाट सह लेखापालबाट सरकारी सेवा गरेका ठाकुरले आठ वर्षकै अवधिमा तीन करोडभन्दा बढी गैरकानुनी रुपमा आर्जन गरेको फेला परेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले विज्ञप्तिमा जनाएका छन्।
२०७२ वैशाखमा लेखापालमा बढुवा भई मालपोत कार्यालय सिमरामा रहँदा ठाकुरले राजस्व रकम व्यक्तिगत खातामा जम्मा गरेको पाइएको आयोगले जनाएको छ। ‘निजहरुको संयुक्त व्यक्तिगत खातामा जम्मा गर्ने गरेको र कार्यालयको खातामा दाखिला गरिनुपर्ने राजस्व रकमलाई समेत आफू अनुकूलका खर्च लगानीमा प्रयोजन तथा खर्च गर्न सक्ने गरी निजले र तत्कालीन मालपोत कार्यालय सिमराका कार्यालय प्रमुख मदन प्रसाद गुप्ताको संयुक्त नाममा राष्ट्रिय वाणिज्य बैंक सिमरामा खाता १२३०००१९१८१० मिति २०७५।०५।०७ मा खोलिएको व्यक्तिगत खातामा जम्मा गरेको पाइयो।’ अभियोग पत्रमा उल्लेख छ।
ठाकुर मालपोत कार्यालयमा सिमरामा सह लेखापाल रहँदा मदन गुप्ता मालपोत कार्यालय सिमराको प्रमुखको जिम्मेवारीमा थिए। ठाकुरको २६ वैशाख मसान्त सम्ममा पारिश्रमिक बचत आय १० लाख ८० हजार सात सय र अन्य आयकाे दाबी पुष्टि गर्न नसकेको आयोगले जनाएको छ।
साथै उनले श्रीमती शोभा कुमारीको नाममा दर्ता कायम रहने गरी बारा बधवन गाउँपालिका–५ स्थित कित्ता नं ६८ को ७ बिगाहा १० धुर जग्गा खरिद गरेको, वाणिज्य बैंकमा मौज्दात रकम २ करोड ७६ लाख ४४ हजार रहेको, अरु विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमा रहेका बैंक खाताहरूमा ११ लाख ३९ हजार रहेको अनुसन्धानका क्रममा २४ लाख ९२ हजार फेला परेको तथा उनको सम्पूर्ण आम्दानी वैशाखसम्म तीन करोड १५ लाख ७५ हजार फेला परेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।