संसदमा तथ्यहरु पेश गर्छौं : कांग्रेस सांसद कँडेल

|

काठमाडौं : गोरखा लगायत चीनसँग सीमाना जोडिएको स्थानका सीमा स्तम्भ हराएको भन्दै कांग्रेसका तीन सांसदले असार १० गते संसदमा संकल्प प्रस्ताव दर्ता गरेका थिए।  नेपाली कांग्रेसका सांसदहरु देवेन्द्रराज कँडेल, सञ्जय कुमार गौतम र सत्यनारायण शर्मा खनालले नेपाल र चीनको सीमाका स्तम्भहरू गायब भएको भन्दै संकल्प प्रस्ताव दर्ता गराएका हुन्।  

उनीहरुले प्रतिनिधिसभा नियमावली २०७५ को नियम ८४ बमोजिम संकल्प पेश गर्ने अनुमतिका लागि सूचना दिएका हुन्। तीन सांसदले परराष्ट्रमन्त्रीसँग जवाफ माग्ने गरी नेपालको निशान छापमा अंकित नेपालको नक्सा र चीनबीच रहेको सीमाको भूगोल र सीमा स्तम्भहरू हराएको, अतिक्रमणमा परेको भन्दै प्रस्ताव पेश गरेका थिए। 

उनीहरुले माग गरेझैँ परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अहिले विभिन्न ठाउँमा जवाफ दिइरहेका छन्, ‘चीनले नेपालको भूमि अतिक्रमण गरेको छैन।’ परराष्ट्र मन्त्रालयले विज्ञप्ति नै जारी गरेर यसबारे सरकारको धारणा सार्वजनिक गरिसकेको छ। यद्यपी परराष्ट्रमन्त्री ज्ञवालीले प्रतिनिधिसभाको बैठकमा जवाफ दिन बाँकी नै छ। 

फिर्ता लिइन्‍नँ, नक्कली कुरा कसले ल्यायो? 

चीनले नेपाली भूमि अतिक्रमण गरेको विषयमा एउटा प्रतिवेदन सार्वजनिक भएको थियो। कृषि मन्त्रालयको नाममा जारी त्यो प्रतिवेदनमा चीनले नेपाली भूमि अतिक्रमण गरेको उल्लेख थियो। सरकारले त्यो प्रतिवेदन सरकारी प्रतिवेदन नभएको प्रष्ट पारिसकेको छ। संकल्प प्रस्ताव दर्ता गर्ने मध्येका एक सांसद देवेन्द्रराज कँडेलले सरकारले नक्कली प्रतिवेदन कसले तयार सार्वजनिक गरेको हो त्यो बारे सरकारले जवाफ दिनुपर्ने बताउँछन्। 

‘हामी संकल्प प्रस्ताव फिर्ता लिँदैनौँ,’ कँडेलले थाहा खबरसँग भने, ‘हामीले सत्यतथ्य कुरा राखेका छौँ, सरकारको तर्फबाट पनि सत्यतथ्य कुरा आउनु पर्यो। सरकारको छाप लगाएको लेटर प्याडमा आएको प्रतिवेदन कहाँबाट कसरी आयो यो बारे सरकारले जवाफ दिनु पर्‍यो।’ 

उनले सरकारले नक्कली भनिसकेको सार्वजनिक भएको विवरण कसले कहाँबाट आयो त्यो सार्वजनिक गर्न माग गरे। चीनले भूमि अतिक्रमण गरेकै हो भन्‍ने केही आधारहरू छन्? भन्‍ने प्रश्‍नमा उनले भने, ‘हामी आधारहरू संसदमै पेश गरिहाल्छौँ नि।’ 

राष्ट्रियसभामा परराष्ट्रमन्त्रीको जवाफ

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीनले गोरखा लगायत अन्य जिल्लाको सीमामा अतिक्रमण नगरेको बताए। हिजो सोमबारको राष्ट्रियसभाको बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिँदै राष्ट्रिय सुरक्षा र बैदेशिक नीतिको विषयमा सत्यतथ्य पत्ता नलगाई नबोल्न सांसदहरुलाई आग्रह पनि गरे।

उनले सरकारको नाममा नक्कली प्रतिवेदन कसले कहाँ उत्पादन गरेको भनेर सरकारले अनुसन्धान अघि बढाइसकेको पनि बताएका थिए। ‘कसरी प्रायोजित ढंगले समाचार आए?,’ उनले राष्ट्रियसभाको बैठकमा भनेका थिए,‘दुई देशको सम्बन्धलाई गम्भीर प्रभाव पार्ने यस्ता खालका फेक न्यूजहरु कसरी, कुन कारखानाबाट आए?, कसरी सर्कुलेट भए? भन्‍ने कुरालाई गम्भीर रुपमा लिएका छौँ।’ मन्त्री ज्ञवालीले २०१२ मा धेरै कुरा टुंगिएको र अहिले प्रोटोकललाई टुङ्ग्याउन नेपालले बैठकको प्रस्ताव चीन समक्ष गरिसकेको बारे पनि जानकारी गराएका थिए।  

संसदमा दर्ता भएकाे संकल्प प्रस्ताव 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.