प्रतिपक्षको आरोपै आरोप, संसदीय दलमा पनि विरोध

|

हेटौंडा : बागमती प्रदेशको मंगलबार विनियोजित बजेटमाथि छलफल सुरु भएको छ। प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुङ्गेलले छलफल सुरु गर्न प्रस्ताव पेस गरेपछि छलफल भएको हो। 

सत्तापक्षकै विरोध 

विनियोजन विधेयकमाथि मंगलबार नेकपाका १२ जना सांसद र प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस सहित अन्य दलले ८ जना सांसदले बोल्ने भन्दै कार्य व्यवस्थामा छलफल भएको थियो। तर छलफलमा बोल्न भने ५ जनाको मात्रै नाम बोलाइएको थियो। त्यसमध्ये नेकपाकी सांसद मुनु सिग्देल अनुपस्थित भइन्। अन्य ४ सांसदले बोलेका थिए। 

छलफलमा बोलेका सत्तापक्षका सांसदहरुले पनि असन्तुष्ट व्यक्त गरेका छन्। नेकपाका सांसद हीरानाथ खतिवडाले बजेट कार्यान्वयन हुने क्षेत्रको अवस्था विश्लेषण नगरी ल्याएको आरोप लगाए। 

सरकार नसुध्रे समर्थन गर्न नसक्ने समेत उनले बताएका छन्। यस्तै नेकपाका सांसद सरेश नेपालले बजेट प्रस्ट ढंगले आएको बताए। विरोधका लागि विरोध गर्न नहुने भन्दै उनले सर्वसम्मत ढंगले विधेयक पास गर्न सबै लाग्नुपर्ने तर्क गरेका थिए। उनले यातायात क्षेत्रको राजस्व चुहावट रोक्न बजेटले भूमिका खेल्ने तर्क गरेका थिए। 

नेकपाकी सांसद सीता लामाले प्रदेश सरकार श्रम र श्रमिकको सरकार हुनुपर्ने बताउँदै सहरको विकल्प गाउँ बनाउनुपर्ने बताइन। नेकपाकै सांसद प्रदिप कुमार कटुवाल क्षत्री केसीले भने सरकारको बचाउमा बोलेका थिए। 

प्रतिपक्षको आरोपै आरोप

कांग्रेसका सांसदसहित अन्य विपक्षी दलका सांसदले विनियोजित  बजेटमा आरोपै आरोप लगाएका छन्। कांग्रेसका सांसदहरुले मन्त्रीमुखी बजेट भएको भन्दै आलोचना गरेका हुन्। नेपाली कांग्रेसकी सांसद जीवन डंगोलले बजेट सत्तापक्षका लागि मात्रै आएको भन्दै असन्तुष्टि व्यक्त गरिन्। नेपाली कांग्रेसका सांसद प्रभात तामाङले कार्यकर्तादेखि वडाध्यक्षसम्मलाई बजेटबाट सरकारले पैसा बाँड्न भ्याएको आरोप लगाए। 

तामाङले किताबको पानाको संख्या बढेको भन्दै प्रगतिशीलकाे व्यङ्ग्य गरेका थिए। उनले मन्त्रीहरु वडाध्यक्षभन्दा सानो हैसियतमा देखिएका बताए। मन्त्रीहरुले आफ्नो निर्वाचन क्षेत्रको वडा र टोलसम्म बजेट हालेर फेसबुक रंग्याउने काम भएको उनको आरोप थियो। यस्तै विवेकशील साझा पार्टी, नेमकिपाका सांसदहरुले पनि सरकारले ल्याएको बजेटको विरोध गरेका छन्।  

संसदीय दलमा पनि विरोध

नेकपा बागमती प्रदेश संसदीय दलमा पनि विनियोजन विधेयकमाथि भएको छलफलमा बोल्दै सांसदहरुले विरोध जनाएका छन्। केही सांसदले बजेटप्रति पूर्ण रुपमा असमर्थन गर्ने समेत बताएका थिए।सांसदहरुले योजना 'अपहरण' भएको भन्दै मुख्यमन्त्रीसहित मन्त्रीहरुको विरोध गरेका हुन्। मुख्यमन्त्री र सीमित मन्त्रीको मात्रै योजना परेको र सांसदहरुको योजना मन्त्रालयको कार्यक्रम विवरण पुस्तिकामा नपरेको भन्दै संसदीय दलको बैठकमा आक्रोश पोखेको सहभागी एक सांसदले बताए 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.