‘सांसदको लोगो फुकालेर कडा कदम चाल्न बाध्य नपारियोस्।’

|

पर्वत : ‘प्रदेश सभामा अभिव्यक्त केही विचार सुन्दा लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान प्रदेश सभाबाटै सुरु गर्नुपर्ने देखिन्छ। किशोरीलाई जस्तै आत्मरक्षा तालिम प्रदेश सभाका हामी माननीयलाई पनि चाहिएको छ।’ 

गण्डकी प्रदेश सभामा अर्थमन्त्री किरण गुरुङले पेस गरेको विनियोजन विधेयक २०७७ माथिको छलफलका लागि मंगलबार बसेको प्रदेश सभा बैठकमा सांसद ओमकला गौतमले भनिन्, ‘नारी अस्मिता, सम्मानको रोस्टमबाटै खिल्ली उडाउने माननीयबाट नारी प्रतिष्ठाको रक्षा गर्नु परेको छ।’ 

उनले बोलिरहँदा बैठकमा सहभागी सबै सांसदको ध्यान उनीतर्फै मोडियो। महिला हिंसाका विषयमा सांसद गौतमले उठाएका कुरा सबैले गम्भीरताका साथ सुने। संसदमा प्रतिनिधित्व गर्ने महिला सांसदको अस्मिताका विषयमा उनले बोलेपछि अरूले ध्यान नदिने कुरा पनि भएन। यस अगाडि पनि गण्डकी प्रदेश सभाको बैठकमा पुरुष सांसदहरूले महिला सांसदसँग हात मिलाउने बहानामा गलत मनसाय राख्ने गरेको अनुभव भएको कुरा उठेको थियो। त्यही प्रसङ्गसँग मिल्ने गरी प्रदेश सभाका महिला माननीयको अस्मिता जोगाउन किशोरीलाई जस्तै आफूहरुलाई पनि आत्मरक्षा तालिम आवश्यक रहेको सांसद गौतमले बोलीरहँदा सबैको ध्यान तानियो।

केही समय पहिलेको प्रदेश सभा बैठकमा एक सांसदले बलात्कारको विषयमा बोल्दै गर्दा त्यो बलात्कारको घटना गण्डकी प्रदेशको नरहेको भनी अभिव्यक्ति दिनुले महिला अस्मिताको रक्षा गर्न उठेको आवाजलाई उपहास गरिएको र त्यो भनाइले प्रदेश सभा मात्र नभई समग्र प्रदेशका लागि नै लाज लाग्दो भएको उनको भनाइ छ।

‘यही सभामा एक माननीयले गण्डकी प्रदेशमा त्यो बलात्कारको घटना नघटेको हुँदा महिला अस्मिताको रक्षा गर्न उठेको आवाजलाई उपहास गर्ने खालको अभिव्यक्ति दिनुभएको देख्दा प्रदेश सभा मात्र हैन समग्र प्रदेश नै सर्मनाक भएको छ।’ सांसद गौतमले भनिन, ‘युरोपको मार्क्सको कुरा गर्न हुने, चीनको माओको कुरा पनि गर्ने, भारतका गान्धी र नेहरुको कुरा पनि गर्न मिल्ने, चन्द्रमा मङ्गल उपग्रहको कुरा गर्दा पनि आपत्ति नहुने, अन्तरिक्ष मानव एलियनको पीडाबारे पनि बोल्न सकिने। वातावरण, प्रकृति वनजंगल जनावरको बारेमा बोल्दा पनि सान्दर्भिक हुने। तर, अस्मिता गुमाएकी नेपाली चेलीको बारेमा बोल्न नपाइने? कस्तो मनोविज्ञान हो?’

उनले मानव सभ्यता नै लज्जित हुने त्यस्तो अभिव्यक्ति संसद्को रेकर्डमै रहनु महिलालाई दोस्रो दर्जाको नागरिक ठान्ने निन्दनीय कार्यमा सभाको मौन समर्थनको रूपमा व्याख्या हुनेप्रति सभामुखको ध्यानाकर्षण गराइन। बलात्कार जहाँ भए पनि, जसमाथि भए पनि आफ्नो प्रदेशले त्यसमा चासो राख्नुपर्ने उनको सुझाव छ। 

‘आफ्नै छोरी, बुहारीमाथि घटना भए मात्र व्यतीत हुने तर अन्य दिदीबहिनीको अस्मिता लुटिएको पीडामा मनोरञ्जनात्मक भाव भङ्गीमा व्यक्त गरेर कुत्सित शब्दवाण चलाउने कार्यको जति निन्दा गरे पनि कम हुन्छ।’ मन्तव्यको अन्त्यतिर सांसद गौतमले भनिन, ‘हाम्रा लागि सांसद हुनुको गौरवभन्दा नारी भएकोमा अभिमान छ। लोगो फुकालेर तत्क्षण कडा कदम चाल्न हामीलाई बाध्य नपारियोस्।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.