|

डोल्पा  ः डोल्पामा दुई जना पुरुषलाई कोरोना पोजेटिभ देखिएपछि आम सर्वसाधारणमा त्रास फैलिएको छ। जिल्ला प्रहरी कार्यालयमा कार्यरत वर्ष ३१ र ३२ का दुई जना प्रहरीको गत सोमबार मात्रै कोरोना पोजेटिभ देखिएपछि आम सर्वसाधरणमा त्रास फैलिएको हो।

ड्युटीमा खटिएका प्रहरीमाथि कोरोना संक्रमण पुष्टि भएपछि समुदाय स्तरमै कोरोना फैलिएको प्रहरीको आशंका छ। ‘कोरोना देखिएका दुबै जना जिल्ला प्रहरी कार्यालयमा कार्यरत छन्, एक जना ड्युटीमा खटिन्थे, एक जना फाँटमै बसेर काम गर्थे, उनिहरुलाई कसरी कोरोना संक्रमण भयो हामी पनि अचम्ममा परेका छौ” प्रहरी नायव उपरीक्षक नारायण रञ्जितकारले भने।

“कोरोना समुदायस्तरमा फैलिएको आशंका छ, उनिहरूसँग  सम्पर्कमा रहेका सबैको स्वाब संकलन गरेर पठाइएको छ, रिपोर्ट आइसकेपछि  थप एकिन गर्न सकिन्छ” उनले थपे। जिल्ला बाहिरबाट भित्रने नागरिकहरूबाटै प्रहरीमा कोरोना भाइरस सरेको हुनसक्ने उनको भनाइ छ ।

दुनै, जुफाल र त्रिपुराकोटका ३ सय ६३ जना प्रहरी तथा सर्वसाधारणको स्वास्व संकलन गरेर बुधवार समिटएयरमा पठाइएको छ। कोरोना संक्रमित दुबै जनालाई सुरक्षाकर्मीको निगरानीमा शिक्षा विकास तथा समन्वय इकाईको भवनमा बनाइएको आइसोलेसनमा राखिएको छ। उनिहरू लकडाउन अवधिभर कतै पनि नगएर जिल्लामै बसेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ।

रिपोर्ट नआउन्जेल जिल्ला प्रहरी कार्यालय डोल्पा शिल गर्नुका साथै सदरमुकाम आवत जावतमा समेत कडाई गरिएको बताइएको छ। डोल्पाबाट पठाइएको सबै स्वाब भेरी अञ्चल अस्पताल नेपालगञ्जमा परीक्षण गरिने जिल्ला अस्पताल डोल्पाका डाक्टर सिजन रावलले जानकारी दिए। जिल्लामा संकलन गरिएको स्वाब परीक्षण गराउन सुर्खेत वा नेपालगञ्ज कता गर्ने भनेर ठाउँ नतोकिँदा अन्योल हुने गरेको उनले बताए।

संक्रमित ढुक्क

कोरोना संक्रमित दुबैजनाको अवस्था अरुबेला जस्तै सामान्य रहेको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिए। “संक्रमण पुष्टिको रिपोर्ट आए लगत्तै आइसोलेसनमा राखेका छौँ, हालसम्म उनिहरुलाई कोरोनाको कुनै पनि लक्षण देखिएको छैन्, दुबै जनाको अवस्था सामान्य छ” प्रजिअ सुनारले भने।

“संक्रमित ढुक्क छन्, कसरी सर्यो‍ भन्ने बिषयमा उनिहरू नै अचम्ममा परेका छन्, परीक्षणका लागि पठाइएको सबै जनाको रिपोर्ट आइसके पछि विस्तृतमा थाहा होला” उनले थपे। यस अघि पनि जगदुल्ला गाउँपालिकाका ५४ वर्षीय बृद्धको मृत्युपछि कोरोना संक्रमण पुष्टी भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.