|

धादिङ : बाढी आउनासाथ त्रिशूली नदीको उर्लंदो भेलमा पसेर दाउरा संकलन गर्नेहरुका भिड लाग्न थालेको छ। त्रिशूली नदीमा बाढी आएपछि नदी किनारका क्षेत्रमा बसोवास गर्दै आइरहेका स्थानीयदेखि अन्य क्षेत्रबाट आएर ज्यालामजदुरी गर्नेहरूसमेत हिजोआज नदीको बाढीसँग पौँठेजोरी खेल्दै दाउरा निकाल्न तँछाड-मछाड गरिरहेको दृश्‍य देख्‍न सकिन्छ।

निरन्तरको लकडाउनले ज्यलामजदुरी गर्ने क्षेत्र ठप्प भएपछि मजदुर परिवारहरू खानापकाउने ग्यासको विकल्पमा दाउराको जोहोमा लागेका छन् भने स्थानीय पनि घरनजिकै नदीले बगाएर ल्याएको दाउरा पाउने भएपछि ज्यानको जोखिम मोलेर नदीमा पस्ने गरेका हुन्।  अघिल्लो वर्षको तुलनामा यो वर्ष असारको सुरुवातदेखि त्रिशूलीको वहाब बढ्दै गएको छ। हरेक दिनजसो वर्षा भइरहेकाले नदीमा प्रशस्त मात्रामा दाउरा बगेर आएको मलेखुका स्थानीय तीर्थ सिलवाल बताउँछन्।

दाउरा बेचेर खान पाइने आस

नदीका दाउरा बिक्री गरेर विपन्‍नको जिविकोपार्जन हुने भए पनि नदीले बगाएर कहिलेकाँही मानिसको ज्यान पनि जाने गरेकोले सावधानी अपनाउनु पर्ने सिलवालको सुझाव छ। 

त्रिशूली नदीमा सयौं सहायक खोल्सा र खोलाहरु मिसिएको हुँदा गाउँ-गाउँमा पानी परेर भलबाढी चल्न थालेपछि त्यहाँबाट बग्दै आएका काठ दाउरा पृथ्वीराजमार्ग छेउका विभिन्न स्थानबाट सर्वसाधरणले संकलन गर्ने गर्दछन्।  नदीले बगाएर ल्याएको दाउरा संकलन गरेर राजमार्ग आसपासका घर र होटलहरुमा बिक्री गरेर घर खर्च धान्ने गरेको गजुरी गाउँपालिका २ की जुनेली नेपालीले बताईन्।

वर्षातको समयमा नदीबाट दाउरा संकलन गरेर फुर्सदको बेलामा चिर्दै बेच्ने गरेको जुनेली बताउँछिन्।  लकडाउनका कारण राजमार्गको होटलहरु बन्द भएकाले यो वर्ष दाउरा बेच्न नपाउने हो कि भन्ने चिन्ता परेको उनले बताइन्। वर्षाको समयमा तीन महिना संकलन गरेको दाउरा बिक्री गर्दा ६ महिनालाई खाने खर्च धान्ने गरेको दाउरा बिक्री गर्नेहरू बताउँछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.