|

डडेल्धुरा : सुदूरपश्चिमका सात पहाडी जिल्लामध्ये पहिलोपटक डडेल्धुरामा कोरोना भाइरस (कोभिड–१९) को परीक्षण सुरु भएको छ। यहाँका सात पहाडी जिल्लाको केन्द्रमा रहेको डडेल्धुरामा बिहीबारदेखि कोरोना परीक्षण थालिएको हो।

नागरिकस्तरबाट चन्दा संकलन गरी खरिद गरिएको पिसिआर मेसिन जडानसँगै डडेल्धुरा अस्पतालले कोभिड १९ को परीक्षण सुरु गरेको अस्पताल प्रयोगशाला प्रमुख ईश्वरी भुसालले जानकारी दिए।

‘पिसिआर मेसिन जडान तथा भ्यालिडेसन हिजो सफल भएपछि आजबाट नमुना परीक्षण सुरु गरेका हौं,’ उनले भने, ‘पहिलो परीक्षण गरेका १२ जनाको रिपोर्ट आएपछि पुनः परीक्षणका लागि सेती प्रादेशिक अस्पतालको ल्याबमा पठाइने छ। र, उता पनि यहाँको जस्तै रिपोर्ट आए परीक्षणलाई निरन्तता दिने छौं।’

मेसिन जडानका लागि काठमाडौंबाट आएका इन्जिनियरसहितको टोली, डडेल्धुरा अस्पतालका प्रयोगशाला प्रमुख भुसाल र धनगढीस्थित सेती प्रादेशिक अस्पतालका प्रयोगशाला इन्चार्ज रमेश शाहीलगायत टोलीले मेसिनको गुणस्तर परीक्षण गरेका थिए। 

अब डडेल्धुरा अस्पताललाई नियमित नमुना परीक्षण गर्ने दबाब छ। एकपटकमा ९६ नमुना परीक्षण गर्ने सक्ने क्षमताको मेसिनमा आवश्यक जनशक्ति व्यवस्थापन स्थानीय तहहरूको सहकार्यमा गरिने अस्पताल विकास समिति अध्यक्ष करुणाकर ओझाले बताए। उनले भने, ‘आवश्यक खर्चका लागि स्थानीय तहसँग कुरा भइरहेको छ। जिल्लाका ७ स्थानीय तहले ९० लाख रुपैयाँ अस्पताललाई अनुदान दिने कुरा छ।’

अब रिपोर्ट आउन २० दिन कुर्नु नपर्ने

पिसिआर मेसिन सञ्चालनमा आएको खबरले यहाँका नागरिक उत्साहित भएका छन्। धनगढी, काठमाडौं स्वाब पठाएर लामो समय रिपोर्ट नआउने समस्याबाट मुक्त भएपछि यहाँका नागरिक खुसी भएका छन्। महिनौं दिनदेखि कोरोना परीक्षणबाट वञ्चित सुदूरपश्चिमका ७ पहाडी जिल्लाका बासिन्दालाई ठूलो राहत मिल्ने छ। 

डडेल्धुरा सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला प्रवेश गर्ने मुख्य प्रवेशद्वार भएको र डडेल्धुरा अस्पतालमा पिसिआर परिक्षण सुरु भएपछि यस प्रदेशका सात पहाडी जिल्ला डडेल्धुरा, बैतडी, दार्चुला, बाजुरा, डोटी, बझाङ र अछामका जिल्लाहरूबाट संकलन गरिएका स्वाब परीक्षण डडेल्धुरा अस्पतालमा गर्न सकिनेछ।

पिसिआर मेसिन अभावमा सुदूरपश्चिमका पहाडी जिल्लाका बासिन्दाहरु परीक्षणबाट वञ्चित भइरहेका बेला ह्युमानिटी फाउन्डेसनले सुदूरपश्चिम समाज अमेरिकाको सहकार्यमा डडेल्धुरामा पिसिआर मेसिन स्थापनाका लागि सहयोग संकलन गरी पिसिआर मेसिन डडेल्धुरा अस्पताललाई हस्तान्तरण गरेको थियो।

करिब ९६ लाख रुपैयाँमा स्थापना भएको यो मेसिनले एक सिफ्टमा ९६ जना र एक दिनमा तीन सय ८४ जनाको स्वाबको नमुना परीक्षण गर्न सकिने जनाइएको छ।

सेती प्रादेशिक अस्पताल धनगढीमा एउटा मात्रै पिसिआर परिक्षण मेसिन रहेको र त्यसले मात्रै सुदुरपश्चिम प्रदेशको कोरोना परीक्षणका धान्न नसक्ने भएपछि स्वाब संकलन गरेको १५÷२० दिनसम्म रिपोर्टका लागि प्रतीक्षा गर्नुपर्ने थियो। जिल्लामै कोरोना परीक्षण थालिएपछि अब त्यो समस्या अन्त्य भएको छ।

डडेल्धुरा अस्पतालमा मेसिन स्थापनाका लागि संघीय सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, उनकै स्वकीय सचिव हितेश ओझा, ह्युमानुटी फाउन्डेसन नेपाल, डडेल्धुरा जिल्लाका आम नागरिकहरुको हौसला र विभिन्न सहयोगी दाताहरुको सहयोगले स्थापना गर्न सकिएको अस्पताल विकास समिति अध्यक्ष ओझाले बताए। 

मेसिन स्थापनाका लागि पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुका साथै अभियानमा हौसला प्रदान गरेका थिए।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.