एकै दिन थपिए ३ सय ४६जना, कैलालीमा मात्र थपिए १ सय ८२

|

डडेल्धुरा : सुदूरपश्चिममा बिहीबार एकै दिन तीन सय ४६ जना कोरोना संक्रमित थपिएका छन्। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा तीन सय २० र धनगढी प्रयोगशालामा भएको परीक्षणमा २६ गरी यहाँका थप तीन सय ४६ जनामा कोरोना पुष्टि भएको हो। योसँगै सुदूरपश्चिममा संक्रमितको संख्या तीन हजार नाघेको छ।

हालसम्म प्रदेशभरि संक्रमितको संख्या तीन हजार एक सय २१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा बिहीबार कैलालीका ४० महिला र एक सय २५ पुरुष गरी एक सय ६५ जना, अछामका ५ महिला र २६ पुरुष गरी ३१ जना, बझाङका ११ महिला र २४ पुरुष गरी ३५ जना, डोटीका १० महिला र ४८ पुरुष गरी ५८ जना र कञ्चनपुरका ६ महिला र २५ पुरुष गरी ३१ जनामा कोरोना पुष्टि भएको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए। 

यस्तै धनगढीमा बिहीबार भएको परीक्षणमा ८ महिला र १८ पुरुष गरी २६ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए। उनका अनुसार कैलालीको टीकापुरका १३ जना, कैलारी गाउँपालिकाका दुई जना र भजनी नगरपालिकाका दुई जनामा कोरोना पुष्टि भएको हो।

कञ्चनपुरको लालझाडी गाउँपालिकाका दुई जना र भीमदत्त नगरपालिकाका एक जना तथा अछामको साँफेबगर नगरपालिकाका ६ जनामा कोरोना पुष्टि भएको श्रेष्ठले जानकारी दिए। धनगढी प्रयोगशालामा पछिल्लो २४ घण्टामा दुई सय नौ जनाको कोरोना परीक्षण भएको थियो। सुदूरपश्चिम प्रदेशमा संक्रमण पुष्टि भएका सात जनाको मृत्यु भएको छ। चार सय ९५ जना भने अस्पतालबाट डिस्चार्ज भएका छन्। सुदूरपश्चिममा बुधबार २४१ जनामा कोरोना पुष्टि भएको थियो।

कैलालीमा एकै दिन १८२ जनामा कोरोना संक्रमण 

कैलालीमा एकैदिन एक सय ८२ जनामा कोरोना पुष्टि भएको छ। बिहीबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा एक सय ६५ र धनगढी प्रयोगशालामा भएको परीक्षणमा १७ गरी बिहीबार जिल्लाका एक सय ८२ जनामा कोरोना पुष्टि भएको हो।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा कैलालीका ४० महिला र एक सय २५ पुरुष गरी एक सय ६५ जनामा कोरोना पुष्टि भएको छ। यस्तै धनगढीमा बिहीबार भएको परीक्षणमा कैलालीका १७ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले बताए।

उनका अनुसार कैलालीको टीकापुरका १३ जना, कैलारी गाउँपालिकाका दुई जना र भजनी नगरपालिकाका दुई जनामा कोरोना पुष्टि भएको हो। योसँगै कैलालीमा संक्रमित संख्या ८ सय ७४ पुगेको छ। कैलाली सुदूरपश्चिमको सबैभन्दा बढी कोरोना संक्रमण देखिएको जिल्ला हो।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.