|

बागलुङ : वर्षासँगै बागलुङको बरेङ गाउँपालिकाका सर्वसाधारणलाई सञ्चार र विद्युत्को समस्या हुन थालेको छ। गाउँपालिकाका पाँच वटै वडामा बिस्तार गरिएको विद्युत् प्रसारण लाइन र नेपाल टेलिकमको बिटिएस मोबाइल नेटवर्कमा अवरोध आउँदा सर्वसाधारणले सास्ती खेप्दै आएका छन्। सामान्य हावा चल्दा र पानी पर्दा बरेङमा विद्युत्मा समस्या आउने गरेको छ।

लामो दूरीको प्रसारण लाइन भएका कारण विद्युतमा पटक–पटक समस्या खेप्नुपरेको गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्माले बताए। 

कालीगण्डकी जलविद्युत् आयोजना स्याङ्जाबाट गुल्मी हुँदै बरेङमा बिस्तार भएको विद्युत् अवरुद्ध हुँदा बरेङमा रहेका नेपाल टेलिकमका बिटिएस टावरहरुसमेत बन्द हुने गरेका बरेङ–५ सुखौराकी मैना थापाले बताइन्। ‘हावा चले बत्ती आउँदैन, बत्ती गयो भने सम्पर्क सकियो’, थापाले भनिन्, ‘हप्ता दिनसम्म बत्ती नआएर सास्ती खेपेको कयौं समय भयो।’ गुल्मीमा विद्युत् अवरुद्ध हुँदा बरेङमा विद्युत् नआउने भएकाले अन्तरजिल्ला समन्वयमा समस्या हुने गरेको अध्यक्ष शर्माले बताए। 

‘अर्काको जिल्लामा समन्वय गर्न कठिन हुँदो रहेछ, हामीलाई समस्या पर्दा गुल्मी गुहार्नु पर्छ’, शर्माले भने ‘समाधान गर्न पहल भए पनि प्रक्रियागत समस्या छन्।’​बरेङको बाटाकाचौर, सुखौरा र सल्यानमा सबैभन्दा विद्युत र सञ्चारको धेरै समस्या छ। बाढी र पहिरोले पोल बगाउने, हावा चल्दा रुखहरू विद्युत् प्रसारण लाइनको तारमा अल्झिने जस्ता समस्याले बरेङमा विद्युत् नियमित हुन सकेको छैन।

विद्युतमा समस्या आउँदा सञ्चालनमा रहेका साना उद्योग, बैंक तथा वित्तीय संस्थाको कोरोबार, कार्यालयका काममा समस्या हुने गरेको छ।

अन्तरजिल्ला प्रसारण लाइनसँग जोडिनका लागि जिल्लाकै जैमिनी नगरपालिकादेखि बरेङ गाउँपालिका–१ धुल्लुबास्कोटको लुरुङ गाउँसम्म पोल र तार विस्तारका काम भए पनि प्राधिकरण वितरण केन्द्र बागलुङले विभिन्न बहानामा लाइन नजोडेको स्थानीयको गुनासो छ। 

‘जिल्लाभित्रबाट पुगेको लाइन भए हामीलाई बिग्रिएको समयमा भन्न सहज हुन्थ्यो’, अध्यक्ष शर्माले भने, ‘अरु सम्पर्क बागलुङमा विद्युतको लागि गुल्मी पुग्नुपर्ने अवस्था हुँदा समस्यामा छौं।’ ​बरेङमा जिल्लामै सबैभन्दा धेरै फोरजी इन्टरनेटको प्रयोग हुने तथ्यांक छ। तर त्यही गाउँपालिकामा टेलिकमको टावरमा पटक–पटक समस्या आउने गरेको छ। टेलिकमको अन्तरिकभन्दा धेरै विद्युतका कारण नेटवर्कमा समस्या रहेको सुखौराका स्थानीय दुर्गा प्रसाद शर्माले बताए।

सुखौरा, बाटाकाचौर, धुल्लुबास्कोटको सिग्दी र जैमिनी नगरपालिका–१० को नाम्दुक बजारमा टेलिकमको टावर छ। सबै नेटर्वकमा फोरजी इन्टरनेट सञ्चालनमा रहेको टेलिकम बागलुङका प्रमुख केशव शर्माले बताए। सबै टावरमा १० देखि १४ घण्टासम्म धान्ने ब्याट्री व्याकअप रहेको उनको दाबी थियो। तर, नाम्दुक बाहेकका तीन वटै टावर भने विद्युत बन्द भएको एकाध घण्टामा नै बन्द हुने गरेका छन्। 

‘सुखौरामा फोरजी चलेको छ, नयाँ ब्याक अपले राम्रै काम गर्छ’, शर्माले भने, ‘सिग्दीको टावरमा ब्याक अप फेर्ने तयारीमा छौं।’ 

विद्युत्कै कारण उपभोक्ताहरुले टेलिकमका सेवा उपभोगमा समस्या खेप्दै आएका उनको तर्क छ। बरेङको सुखौरामा रहेको फोरजी टावरबाट मात्रै २४ घण्टामा ३ सय जिबी डाटा प्रयोगमा आउँछ। यो जिल्लामा नै धेरै हो। सरदरमा जिल्लाका अन्य फोरजी टावरहरुबाट २४ घण्टामा ९० देखि सय जिबी डाटा मात्रै प्रयोगमा आउने गरेको तथ्यांक टेलिकमसँग छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.