|

लमजुङ : हिमाली जिल्ला मनाङ जोड्ने बेसीशहर–चामे सडक स्तरोन्नतिको लागि सरोकारवालाहरुले दबाब दिएका छन्। वर्षौं अघिदेखि जीर्ण सडक स्तरोन्नतिका लागि दबाब तथा पहल गर्न गठन भएको सरोकार समितिले प्रमुख जिल्ला अधिकारीमार्फत दबाब दिएका हुन्।

सडक ट्रयाक खुलेको दुई दशक बित्दा पनि यस सडकको हालत उस्तै छ। बेसीशहर चामे सडकअन्तर्गत विभिन्न स्थानमा पहिरो जाने, सडक हिलाम्मे हुँदा यात्रुहरुले सास्ती व्‍यहोर्नुपरेको छ।

समितिका अध्यक्ष सूर्य प्रकाश कतिलाको संयोजनमा जनप्रतिनिधिसहित प्रशासन कार्यालय नै पुगेर टोलीले सडक डिभिजन कार्यालयका प्रतिनिधिहरूको रोहवरमा सडक मर्मतमा पहल गर्न आग्रह गरेका थिए। सडक मर्मतका लागि वर्षेनी करोडौँ विनियोजन हुने गरे पनि सडकको अवस्थामा कुनै सुधार नहुँदा जिल्लाको उत्तरी भेगदेखि मनाङ सम्मका नागरिकहरुले दुःख पाएको समिति संयोजक कतिलाको भनाइ छ।

एक महिना अघिमात्रै गठन भएको सरोकार समितिले सडक निर्माणमा तदरुकता दिन विभिन्न निकायमा समन्वय गर्ने, निर्माण कम्पनीलाई सहज रुपमा काम गर्ने वातावरण सृजना गर्ने, निर्माणमा ढिलाई भएमा दबाव तथा संर्घषका कार्यक्रमहरु गर्ने सचिव नवीनराज कुइँकेलले बताए।

सडक डिभिजनले बेसीशहर–चामे सडक मर्मतको जिम्मा लामा कान्छाराम नाना जेभीलाई दिएको थियो। बेसीशहरदेखि रामबजारसम्म सडक स्तरवृद्धि तथा मर्मतका लागि आर्थिक वर्ष ०७४/७५ मा विनियोजित २२ करोडमा ठेक्का पाएको लामा कान्छाराम नाना जेभीले समयमा काम नसक्दा आव २०७६/७७ मा विनियोजित ३२ करोड रकमको ठेक्का नै लाग्न सकेन। आगामी आर्थिक वर्षका लागि बहुवर्षे योजनाअनुसार साढे ५ अर्ब बजेट प्रस्ताव गरिएको छ।

सडक विभागले आर्थिक वर्ष २०५१/०५२ मा बेसीशहर–चामे सडक निर्माण थालेको थियो। द्वन्दका कारण सडक निर्माणमा कठिनाइ भएपछि २०५७ मा तत्कालीन शाही नेपाली सेनालाई जिम्मा लगाएको थियो। निर्माण शुरु भएको १९ वर्षपछि सडकको ट्रयाक खोल्ने काम सम्पन्न भएको थियो। सडक लमजुङतर्फ ३५ र मनाङतर्फ ३० किलोमिटर रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.