|

काठमाडौं : एक भनाई छ, 'नाम होस्, बदनाम होस्, तर गुमनाम नहोस्!' यो धेरै हदसम्म चर्चाका लागि 'मुम्बइया शैली' पच्छ्याउने कलाकारहरूका हकमा लागु भइरहेको छ। चर्चामा आउन उनीहरू अनेक फण्डा निकाल्छन्। विवादमै आएर भएपनि चर्चामा रहिरहन उनीहरूको अन्तिम ध्येय रहेको सजिलै बुझिन्छ। 

आफूलाई नेपाली सिने क्षेत्रको 'हस्ती' का हैसियतमा चिनाउन रुचाउने कलाकारहरू विवादमा तानिने क्रम बढ्दै गएको छ। आफ्नो व्यवहार र अभिव्यक्तिलाई सही तरिकाले संयोजन गर्न ढङ्ग नपुग्दा ट्रोलका शिकार हुने क्रम जारी छ।

कोही देशको सामान्य राजनीतिक र भौगोलिक वस्तुस्थितिबारे बेखबर हुँदा ट्रोलको शिकार हुन पुगेका छन्। कोही एक दुई चलचित्रमा अभिनय गर्ने त कोही एक दुई गीत चर्चामा आउनासाथ आफूलाई सेलिब्रेटी मानिदिनुपर्ने र एअरपोर्टमा भीआइपी कक्षबाट प्रवेश पाउनुपर्नेजस्ता अभिव्यक्ति दिएर चर्चामा आइरहेका हुन्छन्।

सामाजिक संजालमा लाखौं फ्यान रहेका कलाकारले बोल्ने हरेक विषय फ्यानका लागि महत्वपुर्ण हुने गरेको छ। तर, आफैँ जान्ने सुन्ने झैँ गरेर अभिव्यक्ति दिने, नग्न शरीरलाई देशको झण्डाले ढाक्नेसम्मका हर्कत केही 'कलाकार र सेलिब्रेटी'ले गरिरहेका छन्‌। यसको असर उही हो : एउटाले खराब काम गर्दा सो क्षेत्रका सबैमाथि आक्रमण शुरू हुन थालिहाल्छ।

अहिले विवाद अभिव्यक्तिको मात्र होइन, फिल्म खेल्दा आफूले भोगेको विभिन्न हिंसाबारे पनि आवाज उठ्न थालेपछि नेपाली सिने जगतमा फरक फरक फण्डा निस्किने गरेको छ। पछिल्लो समय विवादमा तानिएका केही कलाकारको उदाहरण हेरौं।

भुवन केसीको 'हिंसा काण्ड'

अहिले अभिनेता तथा निर्माता भुवन केसी र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी राणाबीच देखिएको विवादबारे नेपाली सिने क्षेत्रमा रुची राख्ने अधिकांश जानकार छन्‌। नायिका साम्राज्ञीले आफ्नो अभिनय रहेको पहिलो (डेब्यु) फिल्मका निर्माता रहेका भुवनले आफूमाथि हिंसा गरेको आरोप लगाएकी छिन्। उनले 'कुरा गर्दा गाला जोडेर, टाँस्सिएर भन्नुपर्छ र ? छोएर अब यस्तो नगर है!' भन्दै गालामा मुख जोडेर भन्ने गरेको भन्दै भुवनमाथि आरोप लगाएकी छिन्।

यस्तो आरोप आएपछि केसीले साम्राज्ञीविरुद्ध कानुनी उपचार खोज्ने बताएका छन्। 'करिब ४० वर्षदेखि नेपाली चलचित्रमा काम गरी विभिन्न सुपरहिट फिल्म निर्माण पनि गरी आजसम्म यही चलचित्रको क्षेत्रमा रात दिन कार्यरत रही मैले हासिल गरेको मान प्रतिष्ठामा आघात पुग्ने गरी पुन: त्यस्ता मानमर्दन हुने प्रकारका सामग्रीहरु इन्स्टाग्राम, फेसबुक या अन्य कुनै पनि सामाजिक सञ‍्‍जालमा पोस्ट नगर्न, हुन सूचित गर्दछु', उनले भनेका छन्,' मेरो यो सूचनाको बाबजुद तपाईंले यस्ता झुठा लान्छना लगाउने कार्य गरे/गराएमा तपाईं उपर प्रचलित साइबर कानुन र मानहानि सम्बन्धी कानुनको प्रयोग गर्नेछु।'

केसी र राणाबीचको आरोप-प्रत्यारोपमा पक्ष र विपक्ष रही बोल्नेको ठुलो जमात सामाजिक संजालमा देखिएको छ। सत्य के हो ? राम जाने! तर, यो काण्डले दुवैजना अझै चर्चामा रहने पक्कापक्की छ।

पुजा शर्माको '१४ जिल्ला काण्ड'

केही दिनअघि एक टेलिभिजन अन्तर्वार्तामा 'अद्भुत सामान्य ज्ञान देखाएका कारण' नायिका पुजा शर्मा पनि ट्रोलको शिकार बनिरहेकी छिन्‌। प्रस्तोताले सोधेको साधारण प्रश्नमा असाधारण उत्तर दिएपछि उनी विवादमा तानिएकी हुन्। हरेक व्यक्तिलाई हरेक क्षेत्रको ज्ञान नहुन छुट छ। तर, देशमा बसेर देशको सामान्य जानकारी नहुनु दुःखद हो। शर्मालाई कलाकारले अहिलेको सञ्चारमन्त्री को हुन्‌ भन्ने पनि थाहा रहेनछ। सञ्चारमन्त्री को हुन्‌ भनेर सोध्दा उनले चलचित्र विकास बोर्डकी पूर्वअध्यक्ष एवम्‌ कार्यक्रम प्रस्तोता रवि लामिछानेकी पत्नी निकिता पौडेलको नाम लिइन्। यस्तै, नेपालमा १४ जिल्ला र ७२ प्रदेश रहेको जवाफ दिइन्।

आफ्नै देशको बारे साधारणभन्दा साधारण ज्ञान समेत राख्न नचाहेकी शर्माले विमानस्थल जाँदा भीआइपी कक्ष नपाएको गुनासो समेत गर्न भ्याइन्। यस्तो देखेपछि फ्यानहरू यसै भड्किने भए। सामाजिक संजालमा उनका एक फ्यानले लेखेका छन्, 'आफूलाई सेलिब्रेटी भन्न रुचाउने पुजा जी ! कम्तिमा आफ्ना फिल्म कहाँबाट प्रदर्शन हुन्छन भन्ने ज्ञान भइदिएको यो लाज लाग्ने अभिव्यक्ति सुन्नुपर्दैन थियो।'

दीपा श्रीको 'महानायक काण्ड'

नेपाली टेलिभिजन हास्य-व्यङ्ग्य क्षेत्रकी चर्चित र व्यापारिक हिसाबले सफल केही चलचित्र निर्देशन गरेकी कलाकार दीपा श्री निरौला पनि यसबीच विवादमा तानिइन्‌। उनी खासै विवादमा आउने कलाकार नभएपनि हालै एक टेलिभिजनमा 'उनले राजेश हमाल महानायक हुन र ?' भन्ने अभिव्यक्ति दिएपछि सामाजिक संजाल प्रयोगकर्ता उनीसँग भड्किए।

उनको आशय थियो, हमालले कुनै बेला निकै चलचित्र खेले। तर हाल फिल्म नखेलेको कारण उनी महानायक नभएको बताइन्। हमाल अहिलेका महानायक नभएको बताएकी चर्को ट्रोल खेपेकी निरौलाले माफी नै माग्नुपर्‍यो।

उनले माफी माग्दै भनेकी छिन्, 'हमाल सुपरस्टार हुनुहुन्थ्यो, हुनुहुन्छ र पछिसम्म रहिरहनु हुनेछ। तर हमालले महानायकको हिसाबमा चलचित्र क्षेत्रको पीडामा मल्हम पनि लगाउन सक्नुपर्छ, नत्र त्यो पदमा शंका उत्पन्न हुन्छ पनि भन्न नपाइने गरेर उहाँलाई भगवान् नै बनाउने पक्षमा म छैन।' भविष्यमा अन्तर्वार्ता दिँदा पत्रकारको आशय र उसको उद्देश्य बुझेर शब्द संयोजनमा सचेत भएर जवाफ दिने कोसिस गर्ने उनले बताइन्।

तिर्सनाको कपडा काण्ड

केही म्युजिक भिडियोमा अभिनय गरेर अमेरिका पुगेकी तिर्सना बुढाथोकीको दुनियाँ बेग्लै छ। फेसबुक र टिकटकमा सक्रिय उनी सधैँ विवाद र चर्चामा आइरहन्छिन्। उनी फेसबुकमा अन्टसन्ट बोल्छिन्। अंग प्रदर्शन गर्छिन्। कसैले सुझाव दिए 'यो आफ्नो अधिकार रहेको' जवाफ फर्काउँछिन्। केही दिनअघि पनि उनले यस्तै विवादास्पद काम गरिन्। 

नेपालको झण्डा अंकित कपडा लगाएर बुढाथोकी टिकटकमा देखा परिन्। कोही कसैले पनि राष्ट्रिय झण्डालाई नकारात्मक र घृणा झल्किने गरी प्रयोग गरे त्यसलाई सैह्य मानिँदैन। जथाभावी प्रयोग गर्न पाइने कुरा पनि होइन। बुढाथोकीले भने कुनै मतलव आफूलाई मन लागेको गरिन्।

एक टिकटक युजरले उनको भिडियोमा कमेन्ट गरेका छन्, 'आफ्नो इज्जत जोगाउने नजोगाउने तपाईको अधिकार हो, तर देशको गरिमामाथि आँच पुर्‍याउने अधिकार तपाईलाई छैन। नेपालमा भएको भए जेल जान सक्नुहुन्थ्यो। अमेरिकामा हुनुहुन्छ। बच्नुभयो।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.