|

कञ्चनपुर : कोरोना भाइरस रोकथामका लागि गरिएको बन्दाबन्दीका कारण कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन हुन सकेको छैन।

कार्यक्रम सञ्चालन नहुँदा सूचीकृत नगरपालिकाका सात सय नौ जना बेरोजगारले रोजगारी पाउन सकेका छैनन्। कार्यक्रम सञ्चालनका लागि ४० वटा आयोजना मन्त्रालय बाट स्वीकृत भएर आए पनि कुनै पनि आयोजना सञ्चालन हुन नसकेको कार्यक्रमका रोजगार संयोजक कृष्णप्रसाद भट्टले बताए।

 स्वीकृत भएर आएका आयोजनामध्ये तीन वटा आयोजना बन्दाबन्दीकै बीच कार्यान्वयन गर्न सकिने अवस्थाका थिए उनले भने, ‘ती आयोजना पनि सञ्चालन हुन नसक्दा बेरोजगारहरु रोजगारी पाउनबाट वञ्चित भएका छन्।’

उनका अनुसार कार्यक्रमअन्‍तर्गत शिक्षा, खानेपानी, स्वास्थ्य, पूर्वाधार विकास तथा मर्मत संभार, पर्यटन लगायतका आयोजनाहरु स्वीकृत भएका थिए। बन्दाबन्दीकै कारण नगरपालिकामा चालु आबमा बेरोजगारहरुको छनोटको कार्यसमेत हुन सकेको छैन।

 प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनका लागि नगरपालिकालाई दुई चरणमा रकम प्राप्त भएको थियो। पहिलो चरणमा रु ७५ लाख र दोस्रो चरणमा रु आठ लाख गरी रु ८३ लाख बजेट प्राप्त भएको थियो। प्राप्त बजेट अनुसारका आयोजनाहरु निर्धारित समयमै सञ्चालन हुन नसकेपछि बजेट फिर्ता जाने भएको छ। गत बर्ष नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत रु ४५ लाख बजेट आएको थियो।

जस अन्र्तगत रु पाँच लाख बजेटमा पर्यटकीय क्षेत्र बतासे झर्ना जाने पदमार्ग निर्माण गरिएको थियो।

सडक मर्मत, विद्यालयमा सरसफाई, झाडी सफाइ लगायतका कार्यमा अन्य बजेट खर्चिएको थियो। कार्यक्रमका लागि पदमार्ग निर्माण बाहेकका अन्य कार्य गतिलो रुपमा हुन नसकेका भन्दै निकै आलोचनासमेत भएको थियो। सूचीकृत भएका १८ वर्षदेखि ५९ वर्षका बेरोजगारलाई न्यूनतम सय दिन रोजगार उपलब्ध गराउने कार्यक्रमको लक्ष्य रहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.