|

तनहुँ : सरकारलाई कोरोनाभन्दा पार्टी भित्रको बेमेल व्यवस्थापन गर्न चुनौती बनेको नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बताएका छन्। तनहुँमा विभिन्न स्थानीय तह तथा पत्रकार महासंघलाई स्वास्थ्य सामग्री प्रदान गर्दै वरिष्ठ नेता पौडेलले कोरोनाको व्यवस्थापन गर्न लाग्नुपर्नेमा सत्ताधारी दलका नेताहरु बीचको बेमेल तथा विद्रोहले गर्दा सरकार अलमलिएको बताएका हुन्।

वरिष्ठ नेता पौडेलले भने, ‘प्रधानमन्त्रीलाई महामारी रोगबाट कसरी बच्ने र नागरिकलाई कसरी बचाउनु भन्दा पनि पद कसरी जोगाउने भन्ने चिन्ता छ।’  विदेशबाट स्वदेश फर्किएका युवाहरुलाई गाउँमै  रोजगारी दिन सक्ने गरी सरकारले तत्कालै योजना ल्याउनु जरुरी रहेको बताए। युवाहरुले काम नपाए विद्रोह हुन्छ तर त्यसतर्फ सरकारको ध्यान जान नसकेको आरोप लगाउँदै उनले रोजगारी र आम्दानी कसरी दिलाउन सकिन्छ भन्ने विषयमा ठोस परिणाम नदेखिएको उनको भनाइ छ।

उत्पादनशील र रोजगारी दिने क्षेत्रमा सरकारले लगानी गर्न ध्यान दिनुपर्ने उनको सुझाव छ। संघीयता कार्यान्वयनसँगै स्थानीय तहले बजेट अधिकार धेरै पाएकोले कोभिड–१९ संकटको सामना गर्न सहज भएको उनले बताए। शुक्रबार दमौलीमा तनहुँका आइसोलेसन रहेका ठाउँहरुका लागि स्वास्थ्य सामग्री स्थानीय तहका प्रमुखहरुलाई हस्तान्तरण गर्दै कोरोना भाइरसका विरामीको लागि कोरोनाको संक्रमणबाट जोगिनमा प्रेरित गर्नुपर्ने उनले बताए।

आइसोलेशन कक्ष सञ्चालित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र, आदिकवि भानुभक्त क्याम्पस, दमौली अस्पताल, बन्दीपुर अस्पताल, भिमाद नगरपालिका र देवघाट गाउँपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन्। टावेल, सर्जिकल माक्स, सेनिटाइजर र पिपिइ सेट गरी करीव १० लाख रुपैयाँ बराबरको सामग्री सहयोग गरेको वरिष्ठ नेता पौडेलका स्वकीय सचिव चिरञ्जिवी अधिकारीले जानकारी दिए। नेता पौडेल नेपाल पत्रकार महासङ्घलाई पनि स्वास्थ्य सामग्री हस्तान्तरण उपलब्ध गराएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.